‘बच्चा र श्रीमानको मुख हेर्न पाउँछु भन्ने लागेको थिएन...’
कपिलवस्तु : वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए।
‘गाडीलाई कति बेला बाढीले बगायो। सम्झना पनि झसङ्ग हुन्छु’, कजवेमा आएको गाडीलाई बाढीले बगाउँदा गाडीसँगै बाढीमा बगेकी स्थानीय शिक्षिका कोपिला अधिकारी भन्छिन्, ‘भाग्यले बाँचियो। बच्चा बच्ची र श्रीमानको मुख हेर्न पाउँछु जस्तो लागेको थिएन।’
गाडीबाट हाम फालेर बच्न सफल तिनै ३ जना मध्यकी वाणगंगा नगरपालिका–८ की २५ वर्षीय शिक्षिका कोपिला अधिकारी हुन्। ‘भर्तापुर आधारभूत विद्यालयमा ड्युटी सकेर फर्किदै गर्दा बाटोमा पर्ने कजवेमा ठूलो बाढी थियो। कजवेमा आएको बाढीका कारण मलाई लिन आउनु भएका श्रीमान् विद्यालयसम्म आउन सक्नु भएन’, शिक्षिका अधिकारी भन्छिन्, ‘विद्यालयकै एकजना सरसँग मोटरसाइकलमा लिफ्ट लिएर कजवेसम्म आइपुगेँ। बाढी ठूलो भएका कारण करिब दुई घण्टामा बाढी घट्छ अनि श्रीमान् लिन आउनु हुन्छ भनेर बाढीको सतह हेर्दै बसेँ। समय बित्दै गयो तर पानीको सतह घटेन।’
भलवाड तिरबाट फर्कदै गरेको विद्युत प्राधिकरणको गाडी पनि खोला वारी रोकियो। गाडीमा प्राधिकरणका जीतपुर फ्युज शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेल नेतृत्वमा चारजना विद्युत कर्मचारी र एकजना लिफ्ट लिएर आएका सर्वसाधारण थिए। केपिलासमेत सोही गाडीमा चढिन। गाडी खोलमा पसे लगत्तै पल्टियो। तर, कोपिलासहित तीनजना बाढीले बगाएको गाडीबाट निस्किएर बाँच्न सफल भए।
‘यति ठूलो दुर्घटनाबाट श्रीमतीको ज्यान जोगिएको छ। म यो उनको दोस्रो जन्म नै हो भन्छु,’ उनका पति राजु अधिकारी भन्छन्। घटनाले वाणगंगा नगरपालिका क्षेत्रका सबै दुखी छन्। तर, कोपिलासहित तीनजना ठूलो दुर्घटनाबाट बाच्न सफल भएकोमा स्थानीय खुशी छन्।
कोपिलाको अनुभव...
विद्युत कर्मचारीसहित हामीसँगै सबै अझै १ घण्टा बाढी कम हुन्छ कि भन्दै रोकियौं। पानीको सतहको अनुमान गर्दै पौडेल सरले चालकलाई गाडी लिएर वनगाईतर्फ अघि बढ्न भन्दै मलाई पनि गाडीमै बस्न आग्रह गर्नुभयो। नजिकको चिनजानका कारण हामीलाई सँगै जाऊ भन्नुभयो। तर मैले बाढी अझै बढी छ भने। उहाँ मान्नु भएन। अब जान सकिन्छ भन्दैसंगै जान आग्रह गर्नुभयो। गाडी चढ्न नमान्दा नमान्दै जान आग्रह गर्नुभयो।
‘मलाई मर्न डर लाग्दैन ? हिँडहिँड केही हुन्न। भन्दै विशेष फोर्स गरे पछि म पनि गाडीमा बसेँ।’ आखिर मलाई पनि खोला त तर्नु नै थियो। डराई डराई गाडीमा त बसेँ तर एक छिनमै बाढीले गाडी त बगाई हाल्यो। होस् हवास सबै उड्यो। कजवे तल गाडी पल्टिदै बग्यो। म त के गरम् कसो गरम, केही होस भएन।
कसरी कसरी गाडीको ढोका खोलेर सँगै गाडीमा बसेका एक जना विद्युत कर्मचारी भाइ गाडीबाट बल्ल तल्ल निस्किए। म पनि उनको कपडा तान्दै जोड बल लगाउँदै बडो मुस्किलले निस्किए। जीवन र मरणको बेला भने जोड बल निकै आउँदो रैछ। भए सम्मकै जोड बल लगाए। उनी भाइ पौडिँदै खोला पार भए तर मलाई गाह्रो भयो। बल्ल तल्ल सकी नसकी कजवे नजिकका ढुंगा तथा पानीकै साहारामा विस्तारै विस्तारै खोला किनारमा निस्किएँ। त्यो बेला के कस्तो भो दिमाग सबै शून्य भयो। (शिक्षिका अधिकारीसँग अन्नपूर्णकर्मी गोपाल भण्डारीले टेलिफोनमा गरेको कुराकानीमा आधारित) 
प्रतिक्रिया दिनुहोस !