नेकपामा ओली र प्रचण्डको पत्र ‘युद्ध’ : सबै पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडियो

नेकपामा ओली र प्रचण्डको पत्र ‘युद्ध’ : सबै पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडियो

काठमाडौं : लामो विवाद र बहसपछि शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको छ। 

शुक्रबारको बैठक पार्टी भित्रका समस्या र समाधानको कार्यसूची बनाएर छलफल गर्ने निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकमा स्थायी समिति निर्णय कार्यान्वय, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका काम र यसबीचमा पार्टी र सरकारबीच देखिएका विवादमाथि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। अर्को बैठकमा यी विषयमा छलफल गर्नेगरी शुक्रबारको बैठक सम्पन्न भएको उनको भनाइ छ। 

अध्ययनका लागि ओली र प्रचण्डका पत्र बाँडियो ! 

शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ। 

प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ। 

त्यसैगरी पार्टी संकट र यसको निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र पार्टी स्थायी कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशिका समेत अध्ययनका लागि सबै सचिवालय सदस्यलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

सबै विषयको अध्ययनपछि पुनः अर्को बैठक बसेर पार्टी विवादको समाधान सचिवालयबाटै हुने उनको भनाइ छ। 

‘सचिवालयका पाँच सदस्यले सहमतिमा बैठक गर्न आग्रह गरेको पत्र। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई लेखेको पत्र । त्यसको जवाफमा प्रचण्डले पठाएको पत्र। पार्टीको संकट निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र स्थायी कमिटी बैठक पछाडि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका साथीहरुलाई अध्ययनका लागि बुझाइएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘यी सबै सामग्रीको गम्भीर र समग्रतामा अध्ययनपछि पार्टीलाई एकताको बाटोमा अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने धारणाका साथ सचिवालय बैठक मंसिर ३ गते  बस्ने गरी आजको बैठक सम्पन्न भएको छ।’ 

पत्रमा के थियो भन्ने कुरा भने उनले खोल्न चाहेनन्। 

नेकपा विवाद चर्किदै जाँदा कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए। 

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको हप्ता दिनपछि सचिवालय बैठक बसेको हो। 

बुधबार पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार साँझ ४ बजेका लागि सचिवालय बैठक रहेको जानकारी गराएका थिए।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.