नयाँ जनप्रतिनिधिलाई मुलुक हस्तान्तरण गरेर बिदा हुने ओलीको इच्छा

नयाँ जनप्रतिनिधिलाई मुलुक हस्तान्तरण गरेर बिदा हुने ओलीको इच्छा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, 'मेरा  निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।'

उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा  जोड दिए । उनले आफूले  विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले आज पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ । नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग गरेका छन् ।

ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरेका छन् ।

 अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनुपर्नै बताउँदै भने, 'तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।'  

विगत साढे दुई वर्षमा हाम्रा सम्पूर्ण प्रयास सामाजिक- आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने दिशामा अभिमुख भएको उनको भनाइ छ । 'हामीले सामाजिक न्यायसहितको विकास र समृद्धिलाई आधारभूत मान्यता बनाएका छौँ,' उनले बैठकमा भने, 'सामाजिक न्यायविनाको आर्थिक वृद्धिले मुठ्ठीभर सम्भ्रान्तहरुलाई मात्रै लाभान्वित गर्छ, तर आर्थिक वृद्धिविनाको वितरण मुलुकलाई झनै बढी आश्रित र खोक्रो बनाउने कुराको कारक बन्छ । तसर्थ यी दुईबीचको समुचित सन्तुलनमा जोड दिइएको छ ।'

उनले राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्र, संस्कृति र समग्रमा समाजमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्दै सामन्तवादका अवशेष उन्मूलन गर्दै लैजाने बताए । 

‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
उनले पार्टी र सरकारको विदेशी नीतिको मान्यता ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ रहेको स्पष्ट पारे । 'कुनै विचारधारा, धर्म या संस्कृतिको सामिप्य या दूरीका आधारमा होइन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्ने हाम्रो नीति हो', उनले भने, 'समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति हाम्रो निष्ठा अटल छ। तर हामी कुनै पनि रुपको सैन्य गठबन्धन, धु्रवीकरण र आग्रहको विपक्षमा छौँ । विनाकुनै बाह्य हस्तक्षेप आफ्ना मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गरिनु पर्छ भन्ने अडान राख्छौं ।'

नाकाबन्दीको तहमा झरेको छिमेकी भारतसँगको सम्बन्ध नयाँ आर्थिक साझेदारीका स्तरमा उठेको उनको भनाइ थियो । भारतसंगको सहकार्य र समझदारीले उचाइ लिएको जनाउँदै  प्रधानमन्त्रीले उच्चस्तरमा द्विपक्षीय भ्रमणको आदानप्रदानको सघनता उल्लेखनीय रहेको बताए ।

उनले महाकालीवारिको सम्पूर्ण भूभागमा नेपालको स्वामित्व स्थापित हुने  विश्वास  व्यक्त गर्दै चीनसँग ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’मार्फत नयाँ विकास साझेदारी निर्माण भएको जानकारी दिए ।

समृद्ध मुलुक हस्तान्तरण गरेर बिदा हुने इच्छा 

प्रधानमन्त्री ओलीले  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटामा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गरेर बिदा हुने आफ्नो इच्छा रहेको बताए ।

'सबैलाई कम्युनिष्ट हुनुको गौरवबोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ', उनले बैठकमा भने, 'मेरा लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुखभन्दा माथि केही छैन । यी महान् कार्यहरु सम्पन्न गर्न प्रगतिशील आन्दोलन र हाम्रो दललाई सफल बनाउने मेरो अठोट छ ।' रासस 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.