पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई हटाउन खोज्दा अस्थिरता भयो : पोखरेल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई हटाउन खोज्दा देशमा अस्थिरता भएको बताएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले अस्थिरता भए पनि त्योसँग जुधेर मलुकमा राजनीतिक स्थायित्व हुने दाबी गरेका छन् ।
शुक्रबार नेकपा ओली पक्षीय सभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । पोखरेलले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशमा स्थायित्व हुने दाबी गरे । ‘पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई हटाउन खोज्दा देशमा अस्थिरता पैदा भएको छ’, पोखरेलले भने, ‘तर, प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशमा स्थायीत्व हुने कुरमा ढुक्क हुनुहोस् ।’
पोखरेलले कसैको मृत्युमा मूल्य खोज्ने प्रचण्ड प्रवृत्ति र कुष्ठामा बाँचेको माधव नेपाल प्रवृत्तिसँग गठबन्धन हुँदा अराजकता सिर्जना गर्ने कोशिस भएको बताए । उनले यसलाई सफल हुन नदिने उनको भनाइ छ ।
साँगै पोखरेलले नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने घोषणासमेत गरेका छन् । उक्त कार्यको निन्दा गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले नेपाल बन्दको नाममा जनतालाई दुःख दिने कुराको भत्सनासमेत गरेका छन् ।
‘नेपाल बन्दको नाममा जनतालाई दुःख दिने कुराको भत्सर्ना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरे’, पोखरेलले भने, ‘म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ– केपी ओलीले नेतृत्वको सरकारले यसको क्षतिपूर्ति दिनेछ ।’ सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस !