‘सत्तामा भएकालाई प्रचण्ड नामै मनपर्दैन’

‘सत्तामा भएकालाई प्रचण्ड नामै मनपर्दैन’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी र पराम्परावादीलाई प्रचण्ड नाम नै मन नपर्ने बताएका छन्। नाम नै मन नपर्नेलाई प्रचण्डका काम मन पर्ने कुरै नहुने उनको भनाइ छ।

प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’ को शनिबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘यथास्थितिवादी, परम्परावादी र लामो समय राज्य सञ्चालनको जिम्मा लिएकालाई प्रचण्ड नाम त्यति मनपर्दैन, काम पनि मनपर्दैन’, उनले भने, ‘उनीहरुले कहीं न कहीं टिप्पणी गरिराखेका हुन्छन्। मैले त्यसलाई अनौठो र अस्वाभाविक मानेको छैन तर मलाई मेरो आफ्नै वर्गले उचित ढंगले चिने कि चिनेन, मैले जसको हकअधिकार र पहिचानको लागि लडाइँ लडेँ, ती समुदाय, मजदुर किसान, दलित, मधेसी आदिवासी जनजाति, मस्लिम र महिलाहरुले उचित ढंगले चिने कि चिनेनन् भन्ने बढी चिन्ताको विषय हो।’

नेता प्रचण्डले विरोधीले आफूलाई गालीगलौज, आलोचनामात्रै गरे पनि एकथरीले मार्न नै खोजे पनि आफू अहिलेसम्म बाँचिरहेको र जनताले आफूलाई बचाएको जिकिर गरे।

‘जनताले माया नगरेको भए म बाँच्नेवाला मान्छे त होइन’, उनले भने, ‘अहिले पनि आफूलाई प्रक्रियागत रुपमा सिध्याउने प्रयास भइरहेका छन्।’

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री भइसकेकाले अहिले आफ्नो लडाइँ प्रधानमन्त्री पदको लागि नभएको दोहोर्‍याए। ‘अब प्रम बन्ने हतारो छैन’, उनले भने, ‘मेरो लडाइँ प्रधानमन्त्री बन्नको लागि होइन।’

प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ विमोचन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : ईश्वरकाजी खाइजू

पूर्वप्रधानमन्त्री प्रचण्डले जनतासँग पुनः जोडिने आफ्नो चाहना भएको स्पष्ट पारे। यसको लागि जनताको चेतनामा क्रान्ति गर्नुपर्ने उनको भनाइ थियो। ‘इतिहास र चेतनाका निर्माता जनता हुन्, नेता होइन’, प्रचण्डले थपे, ‘नेता मुख्य होइन, जनता मुख्य हुन्। जनताको चेतनास्तर आम रुपमा कति छ भन्ने कुराले कस्ता नेता जन्मिन्छन् भन्ने निर्धारण गर्छ।’

वर्ग संघर्ष, उत्पादनको निम्ति र जीविकाको निम्ति संघर्ष र वैज्ञानिक प्रयोगको समीश्रणबाट बन्ने चेतनाले नेतृत्व र पार्टी निर्धारण गर्ने उनको भनाइ थियो।

‘एकपटक क्रान्ति भयो पुग्यो भन्ने हुँदैन’, प्रचण्डले थपे, ‘भएका क्रान्तिले कति परिवर्तन ल्यायो भन्ने कुरा महत्वपूर्ण हो।’ अहिले नेतालाई गालीमात्रै गरेको सुनिने भन्दै उनले देशलाई समृद्ध बनाउन नेताभन्दा जनता नै मुख्य भएको सुनाए।

चिनियाँ साहित्यकार लु सुनको भनाइ उद्धृत गर्दै उनले नेता बिग्रनुमा कहींकतै जनता पनि दोषी भएको दाबी गरे।

नेता प्रचण्डका अनुसार लु सुनले जतिबेला पनि नेतालाई गाली गर्ने र नेताहरु खत्तम भयो भन्नेलाई लु सुनले यसरी जवाफ दिएका थिए, ‘जनता नै खराब भएकाले नेताहरु खराब भएका हुन्, तपाईहरु असल हुनुहोस् त नेता त्यत्तिकै असल हुन्छन्। तपाईहरु नै कामचोर, अल्छी, अलि लोभी अनि पापी धेरै हुनु भयो र नेताहरु पनि त्यस्तै भए।

त्यसैले नेताहरु पैदा गर्ने जनताले नै भएको उनको भनाइ थियो। कार्यक्रममा लेखक युग पाठक र मानव अधिकारकर्मी मोहना अन्सारीले विमोचित पुस्तकबारे टिप्पणी गरेका थिए। उनीहरुले सबैभन्दा पहिले समृद्धिको स्पष्ट परिभाषा हुनुपर्ने धारणा राखेका थिए।

‘हामीले खोजेको समृद्धि के हो ? किन प्राप्त भइरहेको छैन’, लेखक पाठकले भने, ‘नीति मिलेन कि ? राजनीति मिलेन कि ? पार्टी मिलेन कि ? के मिलेन ?’ जुन पद्धतिमा पार्टी र नेताहरु चल्नुपर्ने हो नचल्दा नेपाल युरोपभन्दा ३ सय वर्ष पछाडि रहेको उनको बुझाइ थियो।

पुस्तकका लेखक विकल्पले मौजुदा अवस्थालाई चुनौती नदिइएसम्म परिवर्तन सम्भव नभएपछि परिवर्तनको निम्ति पुस्तक लेखेको स्पष्ट पारे। पुस्तकमा वर्तमान यथास्थितिको मूल्य र मान्यतामाथि प्रश्न उठाइएको उनले बताए।

इन्फोइन्कले प्रकाशन गरेको ‘समृद्धिको रोडम्याप’ लेखक विकल्पको दोस्रो पुस्तक हो। यसअघि उनको ‘देश किन बनेन ?’ भन्ने पुस्तक सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.