गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो :  प्रधानमन्त्री ओली

गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो :  प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शनिबार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्ने स्पष्ट पारेका छन्।

‘गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो। जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो। जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। मानिस जन्मदैँ धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मन्छ। जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो। ’ उनले भने, ‘संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन सक्दैन। जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्दछ।’

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको धारणा राखे। उनले जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको बताए। जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठासाथ क्रियाशील रहेका ओलीको भनाई छ।

‘मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो। लोकतान्त्रिक विधिबाट निर्वाचित हुने प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट नै हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको पनि आरम्भ भएको थियो। ’ प्रधानमन्त्री ओलीले भने ,  ‘तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा हुकुमबाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु हुनपुग्यो। छलछाम, कपट र हिंसाबाट राजतन्त्र सुरु भयो र जनतामाथि गरेको दमनबाट वंशाणुगत नेतृत्व कायम भयो। लामो समयसम्म चलेको त्यस सामन्ती प्रणालीको अन्त्य गर्दै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो शासन प्रणालीको रूपमा अगाडि बढाएका छौं।’

उनले समुचितरूपमा लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन जनताले समानतायुक्त, न्यायपूर्ण, शान्ति सुरक्षायुक्त वातावरणसहित सुशासन र सेवामा पहुँचको अनुभूति गर्नेगरी अगाडि बढेको उनले बताए। ओलीले भने , ‘हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित छन्। तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन हामी दत्तचित्त छौँ। लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै हामीले हासिल गरेका उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महत्वका रहेका छन्।’

उनले गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित गरेको बताए।  उनले भने , ‘मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँछौँ, तिनै पूर्वाधारहरुले जनताको सुख र समृद्धिका आधार निर्माण गर्दछन्। यसैलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रुपमा अघि सारेका छौँ। हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौँ।’
जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताउँदै ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति भएको धारणा राखे।

एमाले अध्यक्षसमेत रहेका ओलीले भने , ‘लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन। हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ। हाम्रो समाज र संविधानले लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.