मेलम्चीको भेलमा मिसियो आँसु

मेलम्चीको भेलमा मिसियो आँसु

रामकला खड्का/सुनिता कार्की/युवराज पुरी

मेलम्ची : मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि ढाल्न सकेको थिएन। तर, बाढीले जगदेखि पकलक्क उखेलिएर एकतर्फी ढल्किएको छ दुईतले ढलान घर। त्यही घरको मूल ढोकामै अडेस लागेर बसेको भेटिइन् नाजु। 

बाढीले घर मात्रै होइन, त्यही वरपर रहेको खेतबारी पनि बगायो। गाउँका दिदीबहिनी भेट हुँदा होस् वा अरू कोही, बाढीका कुरा निस्किनासाथ उनी भक्कानिन्छिन्। उनको परिवार घरभन्दा माथि रहेको अस्थायी टहरामा आश्रय लिएर बसिरहेको छ। परिवारमा श्रीमान्, दुई छोरा, बुहारी र नातिहरू छन्। हेलम्बु गाउँपालिका–२ गणेश बगरकी उनले पोहोर मात्र २४ लाख ऋण लिएर खेत किनेकी थिइन्। त्यही खेत पनि बाढीले बगायो। 

नाति काखमा लिएर भक्कानिँदै हेलम्बु गाउँपालिका–२ गणेश बगरकी ५० वर्षीया नाजु तामाङ। तस्बिर : सुनिता डंगोल

हजुरबाकै पालादेखिको ५० मुरी धान फल्ने खेत पनि बगेपछि सम्पत्तिका नाममा केही बाँकी रहेन। छोराहरू खेतीपातीसँगै ट्राउट माछापालन गर्थे। तर, त्यो पनि बाढीले डुबायो। उनी त्यस दिन छोरीको रोपाइँमा गएकी थिइन्। अपराह्न ४ बजेदेखि खोलाको सतह बढ्न थालेको महसुस गरिन्। रोपाइँ सकिएर नुहाउन जाँदा खोला धमिलिइसकेको थियो। आफूले किनेको खेतछेउ पो खोला आइपुग्यो कि भन्ने भयो। छोरालाई हेर्न पठाउँदा जान मानेनन्। उनका श्रीमान् र छोराहरू माछा पालेको ठाउँमा कुलो भत्कियो भन्दै उतै लागे। 

खोला एक्कासि यति बढ्यो कि हेर्दाहेर्दै किनारमा रहेका रूखहरू ढले। त्यसपछि आत्तिएर उनले नाति च्यापिन्। कुलो बनाउन गएका श्रीमान् र छोराहरूको चिन्ता गर्दै उनी रुँदै घरछेउमै बसिरहेकी थिइन्। त्यतिकैमा छोरा आउँदाआउँदै मुर्छा परे। होस खुलेपछि छोराले ‘माछाहरू सबै बगायो, हामी यहाँ नबसौं, भागौं आमा’ भनेको उनले सुनाइन्। उनले मध्यरातमा पनि चिन्ता लागेर घर हेरिन्। त्यति बेलासम्म केही भएको थिएन। ‘फेरि आएर हेर्दा त घर पनि छैन, गोठ पनि छैन अनि खेती पनि छैन’, दुवै हातका बाहुलाले आँसु पुछ्दै उनले भनिन्। 

तस्बिर : सुनिता डंगोल

यतिका वर्षमा यति बितन्डा मच्चाउने बाढी आएको थिएन। उनका अनुसार यसपटकको विपत्ति बाढीले मात्र होइन। मेलम्ची खानेपानी आयोजनाको सुरुङले गर्दा भएको उनको भनाइ छ। भनिन्, ‘पहिले–पहिलेको बाढीले पनि कत्राकत्रा रूख बगाएर ल्याउँथ्यो। तर, हाम्रो खेतलाई कतै छोएको थिएन। अहिले त घरखेत नै बाँकी राखेन।’

क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग पहल भइरहे पनि सहयोग जुट्ला भन्ने आस लागेको रहेनछ। ‘खै उहाँहरूले आफैं बुझेर दिए त के हो ?, मागेर त देलान् भन्ने लाग्दैन’, उनले भनिन्। 

अब के गरेर खानुहुन्छ त ? परिवारलाई कसरी पाल्नुहुन्छ ? यी प्रश्न गर्दागर्दै उनी पुनः भक्कानिइन्। भनिन्, ‘बूढालाई सोध्यो भने अब के गर्ने भाको जति लगिहाल्यो, अब आ–आफ्नो ज्यान पाल भन्छन्।’

तस्बिर : सुनिता डंगोल

जेठो छोरोका दुई बच्चा छन्। उनीहरूका लागि भनेर ऋण गरेर किनेको खेतसमेत गुमेको सम्झिँदा उनका आँसु थामिन्नन्। बाँकी रहेको ३ लाख ऋण गत फागुनमा मात्र तिरेर धान रोपेकी थिइन्। एक बाली कमाइ पनि खान पाइनन्। उनले आफ्नो दुःख सुनाइरहँदा दुई वर्ष पुग्न लागेका नाति सँगै टोलाइरहेका थिए। नातिलाई सुमसुमाउँदै उनले भनिन्, ‘माथि क्याम्पमा सुत्नै मान्दैन। हाम्रै घरमा जाऊँ न भन्छ। कहिले भने हाम्रो घर पनि सुतेको भएर हामी त्यहाँ नगएको हो भनेर नातिले सोध्छ।’

---
काठमाडौंबाट जिरोकिलो हुँदै झन्डै ७६ किलोमिटर यात्रा तय गरेर मेलम्ची बजार पुगिन्छ। त्यहाँबाट झन्डै १६ किलोमटर मेलम्ची प्रवेशमार्ग यात्राका क्रममा बाढीपीडितलाई भेट्दा डेढ महिनाअघि बाढीले दिएको पीडा रत्तिभर भुलाउन नसकेको पाइयो। सुकुम्बासी हुनुपर्दाको पीडाले मन गह्रुँगो भएको छ। 

तिनै पीडितमध्ये पर्छन्, ३५ वर्षीय दिलबहादुर कम्मर। कम्मरले भूकम्पपीडितलाई सरकारले दिएको ३ लाख सहयोगमा आफूले २ लाख थपेर दुईकोठे घर बनाएका थिए। बाढीले घरसँगै आठ आना जग्गा बगायो। 

‘कसैले मुहानतिरै ज्वालामुखी निस्केको भन्छन्, कसैले पहिरोबाट आएको भन्छन्। खै के भएको हो ?’, 

तस्बिर : सुनिता डंगोल

उनले भने, ‘फेरि कतिले त मेलम्ची आयोजनाको मकिङ र केमिकल बगाएर ल्याएकाले यस्तो भएको पनि भन्छन्। हामी अनपढ हौं, किन ढाँट्नु ? धेरैले खानेपानीले नै भन्छन्।’ 

इन्द्रावती र मेलम्ची खोलाको दोभानमा रहेको मेलम्ची नगरपालिका सुन्दर बस्ती बगरमा परिणत भएको छ। त्यहाँका सडकमा बुल डोजर सलबलाएका देखिन्छन्। स्थानीयकै पहलमा आ–आफ्ना घरभित्र बाढीले ल्याएको लेदो निकाल्ने र बस्ती सफा गर्ने काममा डोजरहरूको प्रयोग गरिएका छन्। घरभित्रै बाढी पसेर ढुंगा, गिटी, बालुवाजस्ता नदीजन्य पदार्थ थुप्रिएका छन्। 

पुस्तैनी त्यही नदी किनारामा जीवन बिताएका ६६ वर्षीय गजेन्द्रबहादुर श्रेष्ठले असार १ गतेको बाढी जीवनकालमा नसुनेको र नदेखेको रहेको बताए। दुई छोरा र आफ्नो गरी ३ वटा घर मेलम्चीको बाढीले क्षति पुर्‍याएको उनको भनाइ छ। ‘असार १ गते ४ बजेतिर पहिले इन्द्रावती आयो। पछि ६ बजेदेखि मेलम्चीमा पनि बाढी आयो’, उनले भने, ‘हेदाहर्दै घरभित्र नै बाढी पस्यो। अनि खेतबारी सबै बगाएर लग्यो।’ 

घर पछाडि ११ रोपनी, मेलम्ची खोलापारि २२ रोपनी र खोलावारि ८ रोपनी खेत बगाएको उनले बताए। डाँडामा करिब १५ रोपनी बारी बाँकी रहेको उनको भनाइ छ। उनको सबै सम्पत्ति बाढीले स्वाहा बनाएको छ। बाँकी छ त केवल घर बनाउँदा लिएको १ करोड ऋण। ऋण कसरी तिर्ने ? यो प्रश्न गर्दा उनका आँखा रसाए। भने, ‘है हेरौं, अब हे हुन्छ ?’ उनको परिवारले पनि कपडा पसल सञ्चालन गर्दै आएको थियो। घरको तल्लो तलामा गोदाम थियो। त्यहाँ थानका थान कपडा र करिब २५० मुरी धान राखिएको थियो। तर, बाढीले सबै बगाएको उनले दुखेसो पोखे। 

२५ लाख बराबरका कपडा बाढीले लग्दा पनि मन थामेर बस्नु सिवाय अरू केही उपाय रहेन उनका लागि। उनले आफू र आफूजस्तै छिमेकीका दुखेसो लिएर वडाध्यक्ष र मेयरलाई नभेटेका होइनन्। तर, राहतको नाममा दुई–चार किलो दाल चामल वितरणबाहेक अरू केही नभएको उनले गुनासो गरे। 

चलअचल सम्पत्ति गुमे पनि उनी र उनका टोलवासीको हिम्मत भने गुमेको छैन। बाढीको बितन्डामा परेको घर हेरेर टोलाउनुभन्दा यसलाई बनाउने काम सुरु गरौं भन्ने उनलाई लाग्यो। त्यसपछि श्रेष्ठले ५० हजार रुपैयाँ ठेक्कामा घरभित्र पसेको नदीजन्य पदार्थ निकाल्ने काम सुरु गरेका छन्। 

यो बाढी प्राकृतिक कारणले नै आएको हो त ? ‘बाढी त आउँथ्यो तर यत्रो कहिले आएको छैन। पहिला पनि झोलुंगे पुल छुनेजस्तो गरी आउँथ्यो। हरेक वर्ष वर्षायामा बाढी आइरहने हो। तर, यो बाढी प्राकृतिकसँगै मेलम्ची खानेपानी आयोजनाको लापर्वाहीका कारण पनि थपिएको हो’, उनले भने, ‘यस्तो बिपत्तिमा परेका जनतालाई त  सरकारले हेर्नुपर्ने होइन र ?’ नेपालकै पुरानो करिब १०० वर्ष पहिले बनेको झोलुुंगे पुलसमेत बाढीले बगाएको देखेर निकै पीडा भएको उनले बताए। 

---
अर्जुन दुलालका सात दाजुभाइका मेलम्ची बजारमा लहरै रहेका घरमा पनि बाढी पस्यो। दुलालको परिवार डेढ महिनादेखि मेलम्ची बजारबाट अलिक माथि कान्छो छोराको घरमा बस्दै आएको छ। उनीहरू २–४ दिन त बजारकै स्कुलमा बसेका थिए। उनको घर करिब डेढ तला पुरिएको छ। उनले सटर भाडाबाटै मासिक करिब ५० हजार रुपैयाँ आर्जन गर्दै आएका थिए। 

असार १ गते मेलम्चीमा बाढी आएपछि भाइ, छोरा, भतिजा सबै भएर बजारै खाली गर्दै मान्छेलाई बोलाएर हिँडेका उनले सुनाए। ‘त्यति खेर भतिजाहरूले सुन गरगहना पनि लगेछन् आफूलाई भने ज्यान बचाउने मात्र ध्यान भयो’, उनले भने, ‘सुन निकाल्न नपाएकोमा त चिन्ता छैन, ज्यान बच्यो त्यसैमा खुसी छौं। तर, त्यसपछि अहिलेसम्म आनन्दले सुत्न सकिएको छैन। बाढीले घर भरिदा पनि हामी हेरेको हेरै भयौँ। पूरै थलथल भएको थियो, त्यहाँ मान्छे जाने हो भने भासिएर नै मरिन्थ्यो। सबै मकिङ छ सुरुङ खनेको, विस्फोटक पदार्थको राग आएर बस्नै गाह्रो हुन्छ। हिजोअस्तिसम्म पनि यहाँ आउँदा विस्फोटक रसायनको गन्धले साह्रै टाउको दुुुख्थ्यो।’ मेलम्ची आयोजनाले सुरुङ खन्दाको फोहोरलाई व्यवस्थापन नगर्दा यो ठूलो घटना घटेको हो उनको बुझाइ छ।

नगरपालिकासँग गुहार माग्दा भदौमा मात्र सुरु गर्ने जवाफ पाए उनले। त्यतिखेर काम सुरु गर्दा ढिला हुने र लेदोले गर्दा घर पनि मकाउने हुँदा समिति बनाएर सफा गर्ने काम सुरु गरिहाले उनले। घर केही नभएजस्तो देखिए पनि भित्र सबै भग्नावशेष अवस्थामा रहेको उनले बताए। 

बाढीपीडित सुरेश तामाङको व्यथा पनि कम छैन। हेलम्बु गाउँपालिका–४ मा चार कोठे घरमा बस्दै आएका उनको घर र वरपरको सबै जग्गा बगाएको छ। उनले साथीभाइको सहयोगमा घरको छानो र लत्ताकपडा सुरक्षित गर्न सके। बाढीले घरको जग नै बगाएर लगिसकेको छ। 
---

मेलम्ची बजारका सामाजिक अभियन्ताका रूपमा चिनिने सागर श्रेष्ठको परिवारको मात्रै झन्डै सय रोपनी खेत बाढीले बगाएको छ। २५ करोड लगानीमा निर्माण गरेको थ्री स्टार होटलको गार्डेनसहित डेढ तलासम्म बाढीले पुरेको छ। उनका अनुसार बस्ती सफा गरिदिन र विस्थापितलाई सहयोग गर्न दरखास्त लिएर जाँदा जनप्रतिनिधिले अझै जोखिम नसकिएको भन्दै तत्काल केही गर्न नसकिने जवाफ दिए। 

सिन्धुपाल्चोकको मेलम्ची बजारका घरमा बाढीले थुपारेको लेदो ४५ दिनपछि हालै सफा गरिँदै । तस्बिर : सुनिता डंगोल

बाढीका कारण करिब १५ सय परिवार मेलम्ची बजारबाट विस्थापित भएका थिए। उनीहरूले अब कत्तिन्जेल महँगो भाडा तिरेर बस्ने भन्ने प्रश्नबीच स्थानीय मिलेर मेलम्ची पुनर्निर्माण तथा सरोकार समिति खडा गरे। समिति बस्ती संरक्षणको काममा लागेको छ। यस्तै, विस्थापितलाई पूर्ववत अवस्थामा फर्काउन बस्तीको सरसफाइको काम अगाडि बढाइएको छ। 

स्वदेशी तथा विदेशी नेपालीले सहयोग गरेको हुँदा कामलाई निरन्तरता दिन सजिलो भएको श्रेष्ठले बताए। ‘करिब २५ लाख रुपैयाँ नगद जुटेको छ। तर, काम भने करोडको भएको छ’, उनले भने। 

मेलम्ची बजार मा ९५ प्रतिशत सफाइको काम सकिएको छ। बस्तीबाट निकालिएको लेदोलाई मेलम्ची खोलामै फालिएको छ। बस्ती सरसफाइ गर्दा घरमा भएका लेदोलाई हटाउन समितिले बिनाखर्च काम गरिरहेको छ।

---
मेलम्चीमा फेरि बाढी
मेलम्ची खोलाको उद्गम बिन्दु भे्रमाथाङमा पहिरो खसेका कारण फेरि बाढी आएको छ। लाङटाङ हिमालको फेदीमा रहेको भ्रेमाथाङको पहिरो बगाउँदै बाढी आउँदा हेलम्बुबाट मेलम्ची बजारको क्षेत्र थप प्रभावित र जोखिममा परेको छ। 

तस्बिर : सुनिता डंगोल

शनिबार बेलुकीदेखिको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाका साइट प्रशासक धर्मराज देवकोटाले बताए। देवकोटाका अनुसार मेलम्ची बजारबाट हेलम्बु जाने बाटो पनि बाढीका कारण कटान भएको छ। बाढीले आयोजनाको प्रवेशमार्गमा रहेको पक्की तन्नौटे पुल (रातो पुल) बगाएको छ। मेलम्ची ७, ८, पाँचपोखरी १, २ र हेलम्बुका धेरै वडा जोड्ने यो पुल बगेपछि यो भेगको सडक सम्पर्क टुटेको छ। यस क्षेत्रमा थप २२ घर बगाएको आयोजनाले जनाएको छ। निरन्तरको बाढीका कारण खोला किनारमा रहेका संरचना जोखिममा परेका छन्। 

असार १ गतेकै प्रकृतिअनुसार शनिबार बाढी आएको जनाइएको छ। डेढ महिनापछि मेलम्चीमा आएको बाढीले पनि काठ, दाउरा, ठूला ढुंगा र लेदो बगाएर ल्याएको छ। जसका कारण खोलाको सतह पहिलाजस्तै २ किलोमिटरभन्दा माथि उठेको छ। यसपटक इन्द्रावती, याङ्ग्री र लार्केमा नभई मेलम्ची खोलामा मात्र बाढी आएको छ।

पहिलाको बाढीपछि सफाइमा, घरको पुनर्निर्माणमा लागेका स्थानीयलाई समस्या थपिएको छ। शनिबार साँझ नै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। यो समाचार तयार पार्दासम्म मानवीय क्षति नभएको जनाइएको छ।

तस्बिर : सुनिता डंगोल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.