संखुवासभामा हत्या गरिएका ६ जनाको शव घटनास्थलबाट उठाइयो

संखुवासभामा हत्या गरिएका ६ जनाको शव घटनास्थलबाट उठाइयो

संखुवासभा : संखुवासभाको मादी नगरपालिका-१ खोलागाउँको उम्लिङमा अज्ञात समूहले हत्या गरेका एकै परिवारका ६ जनाको शव घटनास्थलबाट उठाइएको छ । पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउनलाई शवहरु घटनास्थलबाट उठाइएको हो । 

दिउँसो १ः३० बजेतिर ६ जनाकै शवलाई ट्याक्टरमा राखेर धरानतर्फ ल्याइँदै छ । 

धरान पुग्न ९ घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार घटनास्थल विकट एवं दुर्गम स्थानमा रहेको र बर्खाका समयमा बाढी एवं पहिरोले सडक पनि बिगारेका कारण शव पुर्याउन समय लाग्ने भएको हो । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउँदै घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको उनले जानकारी दिए ।  

प्रहरीको विशेष टोलीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोली अनुसन्धानमा सक्रियपूर्वक लागेको छ । यद्यपि अहिलेसम्म हत्याराको पहिचान हुन सकिरहेको छैन । हत्याको कारण पनि खुल्न बाँकी छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली पनि अनुसन्धानमा खटिएको छ। प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको छ । 

घटनालाई अन्तिम निस्कर्षमा पुर्याउन र हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पनि अनुसन्धान थाल्ने डीआईजी बीसीले बताए । उनका अनुसार घटना हत्या नै भएको निस्कर्षमा प्रहरी पुगिसकेको छ । निरन्तरको वर्षाले घटनाको अनुसन्धानलाई भने केही असर गरिरहेको बताइएको छ । 

८५ वर्षीय बौदमान कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या भएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । एउटै घरमा रहेका ६ जनाको क्रुरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शव फेला परेपनि आँखा कम देख्ने र कान कम सुन्ने उनी भने सकुशल भेटिएका छन्। प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । 

घटनापछि शोकमा डुबेको सिंगो गाउँमा सन्नाटा छाइरहेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । अहिलेसम्म घटनाका बारेमा केही पनि खुल्न नसकेको उनको भनाइ छ । कटुवालका अनुसार घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरिरहेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.