संखुवासभा हत्या प्रकरणः उपलब्धिविहीन अनुसन्धान

संखुवासभा हत्या प्रकरणः उपलब्धिविहीन अनुसन्धान

प्रदेश १ ब्युरो:

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको क्रुरतापूर्वक हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हात पार्न सकेको छैन।

घटनाको अनुसन्धानमा प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीसमेत खटिएका छन् । उनी बुधबार साँझ ७ बजेतिर घटनास्थल पुगेका हुन् । अनुसन्धानका लागि घटनास्थलमा प्रहरीका चारवटा टिम खटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय इकाई प्रहरी कार्यालय धरान र संखुवासभा प्रहरीको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्याराको खोजी गरिरहेको हो । सामूहिक हत्या भएको चार दिन भइसक्दा पनि प्रहरीले घटना निस्कर्षमा पुर्‍याउन सकेको छैन ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले विभिन्न कोणबाट प्रमाण संकलन गर्दै मजवुत ढंगले घटनाको अनुसन्धान जारी राखिएको बताए । 'धेरै पाटोबाट अनुसन्धानलाई जारी राखिएको छ । केही स्थानीय व्यक्तिहरुसँग पनि घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको छ,' उनले भने, 'तर ठ्याक्कै निस्कर्षमा पुग्न सकिएको छैन । अहिलेसम्म उपलब्धि हात परेको छैन ।'

तालिम प्राप्त कुकुरहरुसहित अनुसन्धानरत प्रहरीको सक्रियताले पनि उपलब्धि हाँसिल हुन नसकेपछि स्थानीयमा त्रास बढेको छ । मादी नगरपालिका-१ खोलागाउँको उम्लिङमा भएको उक्त हत्याकाण्ड अहिले देशभरी नै चासो र चर्चाको विषय बनेको छ । तर घटना भएको ४ दिन बितिसक्दा पनि हत्यामा संलग्नको पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धान उपलब्धिविहीन देखिएको हो ।

८५ वर्षीय बौदमान कार्कीको परिवार नै सखाप बनाउने गरी दर्दनाक घटना गराइएको छ । घरमा रहेका ७ जनामध्ये वृद्ध अवस्थाका उनी मात्रै सकुशल भेटिएका छन् । बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । 
गत सोमबार बिहान घर आसपासमा छरपस्ट शवहरु भेटिएका थिए । घटनाका सवालमा प्रहरीले कुनै संकेत प्राप्त गरिरहेको छैन । न त हत्याराको पहिचान नै हुन सकेको छ ।

छिमेकीहरुले पार्वतीको शव घर बाहिरै भेटेका रहेछन् । बेलाबेला बेहोस भइरहने समस्या रहेकाले मुर्छा परेको ठान्दै स्थानीयले उठाएर ओछ्यानमा सुताइदिएको खुलेको छ । प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो । नजिकै सुतेका उनका पति बौदमानले घटना चाल नपाएको बताए । उनी कान कम सुन्छन् र आँखा पनि मधुरो देख्छन् ।

सडक छेउमा घोप्टो परेको अवस्थामा तेजबहादुरको शव भेटियो । घरनजिक खोल्सीमा कमला र रञ्जना तथा घरमाथि खरबारीमा दीपेन र गोमाको शव भेटिएको प्रहरी बताउँछ।

बर्बरतापूर्वक घटना कति बेला गराइएको हो भन्ने थाहा पाउन पोष्टमार्टम रिपोर्ट नै कुर्नुपर्ने भएको छ । छिमेकीहरुले बिहान ८:३० बजेतिर मात्रै शवहरु देखेको बताएका छन् । घटनास्थलको प्रकृति हेर्दा लखेटीलखेटी हत्या गरेजस्तो देखिने प्रहरीले जनाएको छ ।

सबै मृतकको टाउकोमा प्रहार गरिएको पाइएको चिकित्सकले बताएका छन् । धार नभएको हतियारले टाउकोमा पछाडिबाट जोडले प्रहार गरिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । घटनास्थल पुगेका फरेन्सिक तालिम प्राप्त चिकित्सक र पोस्टमार्टममा खटिएका चिकित्सकले पनि त्यही कुराको संकेत गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि पिकु र लैला नामक दुई वटा 'ट्रयाक' डगलाई समेत प्रयोग गरिसक्यो । तर कुकुरबाट गराइएको 'स्निफिङ' त्यति प्रभावकारी देखिएन । निरन्तरको वर्षाले सबुत प्रमाण नष्ट भएको अनुमान गरिएको छ ।

संखुवासभाका सबै नाका शिल गरेर ठाउँठाउँमा विशेष सर्च अभियान चलाउँदै हत्याराको खोजी तीव्र पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । उनका अनुसार तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग रिसईबी देखिएको छैन । कार्की परिवारको घरबाट छिमेकीकोमा पुग्न लगभग ५ मिनेटजति लाग्छ । निरन्तरको वर्षासँगै घटनास्थल वरपरका खोला र खोल्साहरु बढेर पानी ठूलो आवाजका साथ बगेकाले छिमेकीले घटना हुँदा थाहा नपाएको तथा नसुनेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनापछि शोक र त्रासमा डुबेको गाउँमा आतंक छाएको वडाध्यक्ष खेमराज कटुवालले बताए । उनले भने, 'घटनापछि स्थानीय त्रसित छन् । गाउँले एवं छरछिमेकी सम्हालिन सकिरहेका छैनन् ।' कटुवालले गाउँलाई सामान्य अवस्थामा ल्याउनका लागि समेत अपराधीलाई जतिसक्दो चाँडो पक्राउ गर्नुको विकल्प नभएको बताए ।

प्रहरीका अनुसार गाउँघरमा नयाँ व्यक्ति प्रवेश गरेको पनि पाइएको छैन । घटना भएका बेला त्यो क्षेत्रमा सक्रिय रहेका मोबाइलको पनि विश्लेषण प्रहरीले गरिरहेको छ ।

एसपी राईका अनुसार विभिन्न कोणबाट अनुसन्धान जारी छ । 'उपलब्धि हात पर्न केही समय लाग्छ । त्यसका लागि धैर्य गर्नुपर्छ,' उनले भने, 'अहिलेसम्म मजवुत प्रमाण जुटिसकेको छैन । घटनामा पेसेवर अपराधीको संलग्नता हुनसक्छ ।'

बौदमानको परिवारले झापामा जग्गा किनेर पास गराउने तयारी गरेको खुलेको छ । बौदमानका नातिहरु जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका क्रममा दुवई र मलेसियामा थिए । जग्गाका लागि उनीहरुले पठाएको पैसा अपुग भएपछि कार्की परिवारले गाउँघरमा ऋण पनि खोजेको पाइएको छ ।

जग्गा किन्न घरमा राखिएको पैसा डकैती गर्न खोजिएको शंका थियो । तर नगद र गरगहना घरभित्रै सुरक्षित फेला परेको प्रहरीको भनाइ छ । जसका कारण लुटपाटको उदेश्यले घटना नभएको हुनसक्ने प्रहरीले जनाएको छ । यद्यपि आर्थिक एवं विभिन्न प्राविधिक पाटोबाट पनि अनुसन्धान तथा हत्याराको खोजी जारी राखिएको राईले बताए ।

हत्या गरिएका ६ जनाको शवलाई बुधबार साँझ सुनसरीको इटहरीमा सामूहिक दाहसंस्कार गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो पोष्टमार्टम गरिएका शवहरुलाई साँझइटहरीस्थित बूढीगंगा जमुनामुक्ति घाटमा दाहसंस्कार गरिएको हो। घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि मंगलबार धरान ल्याइएको थियो । दाहसंस्कार गरिएकामा एउटै परिवारका चार पुस्ता छन् । तीनवटा चिता बनाएर उनीहरुको अन्त्येष्टि गरिएको हो ।

पार्वताको भिन्दै तथा तेजबहादुर र पत्नी कमलाको एउटैमा अन्त्येष्टि गरिएको छ । रञ्जना र उनका दुई सन्तानको अर्को चितामा एकै पटक अन्त्येष्टि गरिएको हो ।

शव जलाउन ल्याउने भएपछि इटहरीको घाट दिउँसोदेखि नै आफन्त, गाउँले र स्थानीयहरुले भरिभराउ थियो । शवलाई गाडीबाट निकाल्दै गर्दा घाटमा रुवाबासी चलेको थियो । शव इटहरीस्थित घाटमा जलाइने खबरसँगै सुनसरी र मोरङका धेरै स्थानीयहरु भेला भएका थिए ।

दाहसंस्कारपछि मृतकका आफन्तहरुले घटनाको छिटो छानबिन गर्न माग गरेका छन् । उनीहरुले अनेक अफवाह फैल्याएको भन्दै युट्युबरहरुसँग रोष प्रकट गरेका छन् । दर्दनाक नरहसंहारमा परिवारै सखाप बनाइएको घटनाका विषयमा युट्युबरले फैल्याएको अफवाहविरुद्ध कानुनी लँडाइमा जाने संकेत उनीहरुले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.