स्वास्थ्यविज्ञ भन्छन् : फोहोरबाटै अर्को महामारी फैलिने जोखिम बढ्यो

स्वास्थ्यविज्ञ भन्छन् : फोहोरबाटै अर्को महामारी फैलिने जोखिम बढ्यो

काठमाडौं : विश्वको ध्यान यतिबेला कोभिडले तानेको छ। स्वास्थ्य, सञ्चारमाध्यम, मानवीय चासो सबैले कोभिडलाई मात्र प्राथमिकतामा राखेको पाइन्छ। तर, हाम्रो आँखैअघि पनि विभिन्न यस्ता समस्या व्याप्त छन् जसले भविष्यमा कोभिडजस्तै अर्को महामारी ननिम्त्याउँला भन्न सकिन्न। त्यसमध्ये अहिलेको ज्वलन्त उदाहरण हो, काठमाडौंमा थुप्रिरहेको फोहोरको डंगुर। 

काठमाडौं उपत्यकाका सडकमा बारम्बार फोहोर थुप्रिनु नौलो त होइन। केहि हप्तादेखि काठमाडौंका मुख्य चोकहरुमा थुप्रिएको फोहोर हालसम्म उठ्न सकेको छैन। कलंकी, कालिमाटी, मैतिदेवी, शंखमुल आदि क्षेत्रमा अझै पनि फोहोर उठेको छैन। यसबाहेक काठमाडौं उपत्यकाभित्र बग्ने साना ठूला नदी किनारमा हरेक १०० मिटरको दूरीमा र खोला छेउछाउ बनेका पुलमुनि थुप्रिएको फोहोर कहिले उठ्छ ठेगाना छैन।

यसरी थुप्रिने फोहोरले वातावरणमा पार्ने असर त छदै छ त्यसबाहेक मानवीय स्वास्थ्यका लागि पनि घातक रहेको विज्ञहरु बताउँछन्। 

फोहोर : एक सम्भावित महामारी 

फोहोरबाट रोग फैलिन्छ भन्नेबारे आममानिसलाई थाहा छ तर कस्तोखाले रोग फैलिन्छ र काठमाडौंका सडक र नदी किनारमा मात्र थुप्रिने फोहोरले मानव स्वास्थ्यमा केकस्तो असर पुग्छ भन्नेबारे कसैले अन्दाज गर्दैनन्। नेपाल जनस्वास्थ्य संघका केन्द्रीय उपाध्यक्ष एवम् शान्ति नेपाल सामाजिक संस्थाका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्य काठमाडौंमा थुप्रिने गरेको फोहोरमैलाले थुप्रै रोगहरु फैलिने बताउँछन्। भन्छन्, ‘फोहोरमैलाकै कारण मुख्य रुपमा झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस (बीबाहेक) आदिजस्ता रोग लाग्न सक्छन्। फोहोरसँग प्रत्यक्ष सम्पर्कमा रहने मानिसहरु घातक रोगको जोखिम हुन्छ।’  

फोहोरले झाडावान्ता, रुघाज्वरो, टाइफाइट मात्र नभइ अहिले विश्व कोभिड महामारी फैलिएजस्तै फोहोरले पनि स्थानीयस्तरमै महामारी निम्तिने सम्भावना उच्च रहेको बताउँछन्, चितवन मेडिकल कलेज जन स्वास्थ्य विभागका सह प्राध्यापक डा. किशोर अधिकारी। ‘नेपालमा हैजा, झाडापखाला, भाइरल ज्वरो, डेंगुजस्ता सानातिना महामारी फैलिसकेका छन्। भविष्यमा पेट र छाला आदिसम्बन्धी धेरै मानिसमा समस्या देखा पर्यो भने त्यसले स्थानीयरुपमा महामारीको रुप लिन सक्छ। ती फैलिनुको मुख्य कारण भनेकै थुप्रिएको फोहोर हो,' उनी थप्छन्,‘यदि समयमै फोहोर उठाएर व्यवस्थित नगर्ने हो भने काठमाडौं उपत्यकामा थुप्रिने फाहोरबाटै महामारीको उत्पति नहोला भन्न सकिन्न।’ 

फोहोरबाट यसरी सर्छन् रोग

सहप्राध्यापक अधिकारीका अनुसार फोहोरबाट उत्पति हुने रोग विभिन्न माध्यमबाट फैलने जोखिम उच्च हुन्छ। हावा, पानी, फोहोरमा हुने मुसा, झिंगा, भुसुना र लामखुट्टेहरुमार्फत रोगहरु फैलिन्छ। जसका कारण मुसाजन्य, लामखुट्टेजन्य, पानीजन्य र हावाजन्य रोगहरु लाग्ने गर्छ भने कालान्तरमा महामारीको रुप लिने सम्भावना उच्च हुन्छ। 

यति मात्र नभइ फोहोर थुप्रिएको ठाउँबाट हिँड्दा र वरिपरि बस्दा मास्क र पञ्जा लगाएपछि हामीमा रोग लाग्दैन र सर्दैन भन्ने भ्रम अधिकांशमा हुन्छ। तर त्यो नै आममानिसको सबैभन्दा ठूलो भ्रम रहेको बताउँछन्, डा. अधिकारी। ‘फोहोर विभिन्न माध्यमबाट हाम्रो शरीरसम्म आइपुग्ने हुँदा त्यसबाट जन्मिएको रोगको किटाणु मास्क, पञ्जाहरुले पनि थेग्दैन,' उनी भन्छन्, ‘जुत्ता, खुट्टा, हात आदी अप्रत्यक्ष रुपमा सडक तथा नदी किनारमा थुप्रेको फोहोर घरमा पुग्छ। झिंगा, भुसुना, खुट्टा, हात र पानी र भाडाकुडाहरु आदी विभिन्न माध्यमबाट खानेकुरामा मिसिन सक्छ र फोहोरबाट उत्पन्न रोग हाम्रो शरीरमा प्रवेश गर्छ। यसरी समस्या र जोखिम बढ्दै जान्छ।’  

यतिबेला वर्षात्को समय भएकाले वर्षाको पानीमार्फत थुप्रिएको फोहोरबाट रसाएको पानी बगेर नदी र पानीको मुहानसम्म पुग्छ। यसले पानी दुषित बनाउँछ र दुषित पानीका कारण यिनै विभिन्न प्रकारका रोगहरु सर्ने डा. शाक्य बताउँछन्। ‘वर्षायाममको समयमा थुप्रिने फोहोरले पानी दुषित गर्छ र पानीमार्फत विभिन्न खाले रोगहरु सर्ने खतरा झनै बढि छ,' ग्रामिण सरसफाई एवम् खानेपानी स्वच्छतामा कार्यक्रममासमेत सक्रिय उनी भन्छन्, ‘नेपालमा कुनैपनि तथ्यांक र अध्ययन नभएपनि पानीबाट जन्मिने रोगका कारण संसारमा थुप्रै मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। काठमाडौं पनि त्यसको उच्च जोखिममा छ।’ 

काठमाडौंमा केहि दिनयता रातभर पानी पर्ने र दिउँसो घाम लाग्ने क्रम जारी छ। पानी पर्दा थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ। साथै फोहोरबाट मिथेन, कार्बनडाइअक्साइड, अमोनिया र हाइड्रोजन सल्फाइडजस्ता ग्यास उत्सर्जन हुन्छ। दिउँसो घाम लाग्दा फोहोर तात्छ र वाष्पीकरणमार्फत फोहोरबाट निस्कने ग्यास वायुमण्डलसम्म पुग्छ। वायुमण्डलमा पुगेको ग्यासले वायु प्रदुषण त गराउँछ नै त्योसँगै उक्त ग्यास स्वासप्रश्वासको माध्यमहुँदै सिधा हाम्रो शरीरमा पुग्छ। 

जसले जलवायु परिवर्तनमा योगदान पुर्‍याउने, स्वासप्रश्वा र आँखासम्बन्धी रोगहरु निम्तिने सह प्राध्यापक डा. किशोर अधिकारी बताउँछन्। भन्छन्, ‘फोहोरबाट उत्सर्जन हुने ग्यासले जलवायु परिवर्तनमा पनि ठूलो योगदान पुर्‍याउँछ। फाहोरबाट निस्कने ग्यासले विशेषगरी श्वासप्रश्वास, पेट  र आँखासम्बन्धी रोगहरु लाग्छ।’ 

तत्कालिन र दिर्घकालिन असर

काठमाडौंमा पटकपटक थुप्रिने फोहोरले पार्ने असरमा तत्कालिन र दीर्घकालिन गरी दुईथरी तरिकाले व्याख्या गर्छन् सह प्राध्यापक किशोर अधिकारी। तत्कालिन असरमा आकस्मिक दुर्घटना (सिसा, काँच, सुई, विभिन्न टुक्राटाक्रीबाट लाग्ने चोट र भान्साबाट निस्कने फोहोरबाट चिप्लिएर हुने दुर्घटना आदी) , फोहोरले थप्ने वितृष्णा आदी हुन्। 

तत्कालिन असरले झाडावान्ता, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग, टाइफाइड आदी प्राथमिक स्वास्थ्य समस्या निम्त्याउँछ। कुपोषण, हेपाटाइटिस, जन्डिस, छालाको आदीजस्ता अन्य समस्याहरु दिर्घकालिन असरमा पर्छन्। जस्तो अस्पतालबाट निस्कने फोहोरले ‘निडल इन्युरी’ गराउँछ। अस्पतालबाट निस्कने फोहोरमा सुई, सिसा, काँच र अन्य फोहोर हुन्छन्। यदि त्यसले निरोगी मानिसलाई घोचेमा संक्रामक रोग लाग्ने जोखिम बढी हुन्छ। कहिलेकाहि तत्कालिन असरले पनि ज्यानै जाने गरी दिर्घकालिन असर पुर्‍याउँछ।

कर्णाली एकेडेमी अफ हेथ साइन्सका डीन डा. मनिराज क्षत्री पनि फोहोरले बहुपक्षीय असर गर्ने बताउँछन्। ‘फोहोरबाट जुनसुकै रोगहरु लाग्छन्। महिनौ दिनसम्म फोहोर थुप्रिदा एक त वातावरण दुर्गन्धित र प्रदूषित हुन्छ। त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर मानवीय स्वास्थ्यमा पर्छ,' उनी सुनाउँछन्। 

फोहोरले सर्ने रोग मात्र नभइ नसर्ने रोगहरु पनि लाग्ने उनको भनाइ छ। ‘कोटेश्वरको तीनकुने, भोटाहिटी, खोला छेउछाउ जता पनि फोहोर देखिन्छ। फोहोरबाट निस्कने दुर्गन्धले नै मानिसहरु बेहोस हुनेसम्म घटना भएका छन्,' उनी थप्छन्, ‘घरभित्र पनि फोहोर थुप्रिदा र सडकमा थुप्रिएको फोहोर दैनिक देखिदा मानसिक तनाव उत्पन्न गराउँछ। सधै फोहोर देख्दा मानिसमा वितृष्णा उत्पन्न हुन्छ। मानसिक तनावले रक्त चाप र मधुमेह बढाउँछ। जुन नसर्ने रोगहरु हुन्।’ 

यति मात्र नभइ वर्षायाममा फोहोरमैलाबाट रोगहरु सर्ने सम्भावना झन धेरै हुने सह प्राध्यापक अधिकारी बताउँछन्। उनी भन्छन्, ‘किनकी वर्षाको पानीले एक ठाउँमा थुप्रिएको फोहोरलाई बगाएर खानेपानीको स्रोत दुषित बनाइदिन्छ। घरघरमा पानी संकलन गरेर राखिएको ट्यांकीमा दुषित पानी पुग्छ। त्यसैले खानेपानीबाट निम्तिने रोगहरुले पनि तत्कालिन र दिर्घकालिन दुवै असर पार्छ।’ 

उनकाअनुसार फोहोर वरिपरि जमेको पानीमा लामखुट्टे हुन्छ। त्यसले डेंगु, मलेरिया जस्ता रोग लाग्छ। फोहोर फाल्ने ठाउँमा सिसा, सुई, अन्य नकुहिने फोहोरले दुर्घटना निम्त्याउनुका साथै घातक रोगहरु निम्तिन्छ। फोहोर उठाउने मानिसहरु यसको सबैभन्दा ठूलो जोखिममा छन्। उनीहरुलाई छालासम्बन्धी, एचआईभी, हेपाटाइटिस वि जस्ता घातक रोगहरुको लाग्ने सम्भावना उच्च हुन्छ। यतिमात्र नभइ फोहोर बाल्दा वातावरणमा असर पुर्याउँछ। नकुहिने फोहोरले क्लोरोफ्लोरोकार्बन उत्सर्जन गर्छ। त्यसले तापक्रम वृद्धिमा ठूलो योगदान पुर्‍याउँछ।

व्यवस्थापन कसरी गर्ने त ?

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि नेपाल सरकारले हालसम्म देखेको मुख्य विकल्प भनेकै सिसडोल र बन्चरे डाँडा हो। त्यो दिर्घकालीन उपाय होइन। त्यसैले फोहोर उचित फोहोर व्यवस्थापन नहुँदा स्वास्थ्य र वातावरणीय असर पर्न नदिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्णाली एकेडेमी अफ हेल्थ साइन्सका डीन प्रा.डा र चितवन मेडिकल कलेज जनस्वास्थ्य विभागका डा. किशोर अधिकारीले देखेका सम्भावित फोहोर व्यवस्थापनका विकल्प के हुन सक्छन् त ? 

झिंगाले नेपालमा ६०-७० भन्दाबढी संक्रामण रोगहरु फैलाउन सक्छ। लामखुट्टेले डेंगु, मलेरिया र टाइफाइडजस्ता रोगहरु फैलाउन सक्ने जोखिम बढी हुन्छ। यस्ता रोगहरुको उद्गमस्थल भनेकै फोहोरको थुप्रो हुने भएकाले फोहोर व्यवस्थापनतर्फ सबै निकायले ध्यान पुर्‍याउनुपर्ने डा. अधिकारी बताउँछन्। ‘सधै सरकारको मुख ताक्नेभन्दा स्थानीय निकाय स्वयमले आफ्नो अग्रसरतामा व्यवस्थापनको पहल चाल्नुपर्छ’ उनी थप्छन्, ‘फोहोर व्यवस्थापन भएमा आफ्नै स्वास्थ्य र वातावरणको सुरक्षा हुन्छ भन्ने बुझाइ सबैमा हुनुपर्छ। बुझाइले मात्र नभइ व्यवहारमा पनि लागू गर्नुपर्छ। तबमात्र फोहोरले निम्त्याउने समस्याबाट केहि हदसम्म भएपनि वातावरण र मानवीय स्वास्थ्य जोखिम कम गर्न सकिन्छ।’ 
 
फोहोर व्यवस्थापनको लागि सबैले ‘म्यानर’ र ‘म्यानेजमेन्ट’मा ध्यान दिनुपर्ने प्रा.डा मनिराज क्षेत्री बताउँछन्। ‘फोहोर व्यवस्थापनमा बानीहरु सुधार गर्नुपर्छ। प्रथमत हामी सबैले ‘म्यानर’ र ‘म्यानेजमेन्ट’मा ध्यान दिनुपर्छ’ उनी थप्छन्, ‘आफू मात्र बचेर भएन अरुलाई पनि बचाउनुपर्यो। नेपालको सन्दर्भमा फोहोरमा राजनीति भइरहेको छ। यो फोहोरमा राजनीति नगरी व्यवस्थापन गर्नतर्फ सबै निकायले ध्यान दिनुपर्छ। ल्याण्डफिल्डको लागि सरकारले पहल गर्नुपर्यो। सकेसम्म फोहोरलाई आफ्नै घरमा व्यवस्थापन गर्नसक्नुपर्यो। सकेसम्म कम फोहोर उत्पादन गर्ने बानी बसाल्नुपर्छ। हामीले अरुलाई दोष लगाएर मात्र हुँदैन।’ 

उनका अनुसार प्रदेश सरकार, नगरपालिका, वडाकार्यालय आदी सबै निकायहरुले व्यवस्थापनमा ध्यान दिनुपर्छ। दोस्रोमा हामीले पनि आफ्नो आचरणमा सुधार ल्याउनुपर्छ। फोहोर व्यवस्थापन गर्दा कुहिने र नकुहिने फोहोर छुट्याएर घरबाटै व्यवस्थापन गर्नुपर्छ।

जथाभावी राख्नुको सट्टा निकै हानिकारक, हानिकारक र कम हानिकारक भनेर घरबाटै फोहोर व्यवस्थापन गर्नुपर्छ। यसो गर्न सकेमा समस्या अहिलेभन्दा कम हुन सक्छ। कुन ठाउँबाट फोहोर निकालिन्छ त्यसको लागि विभिन्न मापदण्ड लागू गर्नुपर्छ। फोहोर थुप्रिनु नै भएन। 

फोहोर उठाइसकेपछि पनि केमिकल र औषधि प्रयोगमा ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘फोहोर उठाइसकेको ठाउँमा फोहोर धेरैदिनसम्म गन्ध नआओस् भनेर विभिन्न केमिकल छर्किने हुन्छ’ उनी भन्छन्, ‘सेतो देखिने पाउडर प्रयोग गरेको देखिन्छ। त्यसले मानवीय स्वास्थ्य र वातावरणमा सिधा असर गर्छ। पाउडरको सट्टा फिनेल, जस्ता डिस्इन्फेक्टेड औषधि छर्किनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.