बजारमा पारासिटामोल अभाव हुन्छ कि गराइन्छ ?
काठमाडौं : बल्खु बस्दै आएकी सिता गौतमलाई एक्कासी टाउको दुख्यो । उनी नजिकैको अस्पताल पुगिन् तर, सजिलैसँग सिटामोल पाइनन् । बानीयाँटारका रमेश ओझालाई पनि ज्वरो आयो । उनले आफन्तसँग सिटामोल मगाए। तर, केहि फार्मेसीले भने उनलाई सिटामोल छैन भन्दै टारे ।
कीर्तिपुरस्थित संगम फार्मेसी सञ्चालकले आफूले अन्य औषधिहरु खरिद गर्दा केहि मात्रा पारासिटामोल पनि हालिदिनु भनेर आग्रह गर्ने गरेको बताए । उनले भने, 'मैले औषधि खरिद गर्ने ठाउँमा अन्य औषधि किन्दा पारासिटामोल दुई/तीन पत्ता देउ भन्छु अनि बल्ल दिन्छन् । पारासिटामोल मात्रै किन्दा पाइँदैन ।’
नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बाँस्कोटाले पारासिटामोलको अभाव भएको स्वीकारे । उनले भने,‘कोभिडका कारण पनि उपभोक्ताले पारासीटामोल सञ्चित गरेका छन्। उत्पादनमा कमि भएर पनि अभाव भएको होला ।’
उनले पारासीटामोल थोक व्यवसायीसँग स्टकमा नरहेको दावी गरे । बाँस्कोटाले भने,‘उत्पादकहरु थोक व्यवसायीमार्फत जानुपर्यो। औषधि आपूर्तिमा सहजताका लागि पेडानले पहल गर्दै आएको छ। सरल तरिकाबाट जनताले औषधि पाउनुपर्छ ।’
उनले समय अनुसार औषधिको मूल्य निर्धारण हुनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशमा पारासिटामोलको अभाव भएको आफूले जानकारी पाएको बताए । उनले भने, ‘राज्यले मुल्य समायोजन गर्दैन भने केहि सुविधा दिएर भएपनि उत्पादनमा सहज गरिदिनुपर्यो । र, उद्योगी तयारी हुनुपर्यो । घाटा खाएर व्यवसाय चल्दैन।’
विज्ञहरुका अनुसार पारासिटामोलको उत्पादन मुल्य उद्योगमा बनाउँदासम्म प्रति ट्याब्लेट एक रुपैयाँ ८ पैंसा पर्छ । तर, यो मुल्य राजपत्रमा प्रकाशित गरेको नभइ समझदारीमा निर्धारण गरीएको हो ।
नेपाली औषधि उत्पादक र आयातकर्ता पटकपटक औषधिको मुल्य समायोजन गर्न आग्रह गर्दै आएका छन् । एक पत्तामा १० ट्याब्लेट हुन्छ । सोको मुल्य १० रुपैयाँ पर्छ। एउटा घरले १० पिस प्रयोग गर्ने हो । यसरी हेर्दा एक सय रुपैयाँले पुग्छ । तर, अहिले एक टिक्कीलाई २ रुपैयाँ पुर्याउन खोजिएको छ ।
औषधि उत्पादकहरु मुल्य बढाउन सरकारलाई पटकपटक दबाब दिँदै आएका छन् । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले पारासिटामोलको अभाव खड्किन दिन नहुने बताए । उनले भने, ‘बिरामीले औषधि नपाउने अवस्था छ । राज्य कहिल्यै पनि अनिर्णयको बन्दी बन्नुहुँदैन कि मुल्य बढाउनुपर्छ कि त आयात अनुमति सहज बनाउनुपर्छ ।’
औषधि आयातकर्ताले गत साउनमा ९५ पैंसामा ५ करोड ट्याव्लेट ल्याउने भनेर विभागमा आयात अनुमति मागेका थिए । तर, औषधि व्यवस्था विभागले आयात अनुमति दिएन ।
सामान्य अवस्थामा नेपालमा बर्सेनि १० करोड ट्याव्लेट पारासीटामोल खपत हुन्छ । जसमध्ये नेपाली औषधि उत्पादकहरुले ठूलो हिस्सा ओगट्दै आएका छन् । औषधिमा अनलाइन विलिङ हुन्छ । कुन कम्पनीले कति उत्पादन गरेको भनेर प्रष्ट थाहा हुन्छ। अहिलेको यो अवस्थामा औषधि आयातमा प्रतिबन्ध लगाएको छैन ।
वि.सं.२०७४ मा औषधिमा आत्मनिर्भर भएका औषधिमध्ये पारासीटामोल पनि एक हो । तर, यहि औषधि बजारमा पटकपटक अभाव हुँदै आएको छ । नेपाली औषधि उत्पादकहरुले पर्याप्त मात्रामा पारासिटामोल उत्पादन नगर्दा समस्या चुलिदो छ । महासचिव आचार्यले भने, ‘कोरोना महामारीको यो बेलामा औषधिको मुल्य बढाउनु हुँदैन । राज्य संवेदनशील हुन जरुरी छ ।’ तर औषधि आयातकर्ताहरु भने ‘कि त मुल्य बढाउनुपर्यो की त आयात अनुमति दिनुपर्यो भन्दै दबाब दिँदै आएका छन्।
तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकालमा ९६ प्रकारका औषधिहरुको मुल्य निर्धारण भएको थियो । अन्य २१ वटा औषधिको मुल्य आयातकर्ता र उत्पादकको समझदारीमा निर्धारण निर्धारण गरिएको थियो । नेपालमा प्रयोग भइरहेका औषधिमध्ये ४० प्रतिशत नेपालमा उत्पादन भएका र बाँकी ६० प्रतिशत विदेशी कम्पनीका औषधि हुन् । नेपाली औषधि बजारमा १५ हजार ब्राण्डका औषधि खपत हुँदै आएका छन् ।
औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले पारासिटामोलको अभाव भएको स्वीकारे । उनले भने, ‘पारासिटामोल र यसका लागि चाहिने कच्चापदार्थ चीनमा मात्रै बन्छ । संसारभरी चीनबाटै कच्चा पदार्थ जान्छ । र, चीनले पारासीटामोलको मुल्य बढाएको छ ।’
उनले पारासीटामोलको माग धेरै र आपूर्ति कमी भएकै कारण मुल्य बढेको बताए । उनले भने, ‘नेपाली बजारमा आउने पारासिटामोलको कच्चा पदार्थ चीन र भारतबाट आउँछ । भारतमा आउने वा भारतबाट आउने कच्चा कदार्थ पनि चीनकै हो ।’ उनले भने, ‘ एक केजी पारासिटामोलको एक सय ५० देखि एक सय ५४ रुपैयाँ आइसी पर्ने हाललाई बढेर ७४० देखि ९५० रुपैयाँ पुगेको छ।
त्यसतै औषधि प्याकिङ गर्ने अल्मुनियम फइलको मुल्य पनि ३०० प्रतिशतसम्म बढेको छ । त्यस्तै पारासिटामोलको प्याकिङ मेटिरियल (पीभीसी र पीभीडीसी ) ३०० देखि ७५० प्रतिशतसम्म मुल्य बढेको छ । बरालका अनुसार कोभिडअघि ११५ देखि १३४ आइसी परकेजी पीभीसी र पीभीडीसीको मुल्य कायम थियो । तर, अहिले बढेर न्युनतम ६८० रुपैयाँदेखि ८५० रुपैयाँसम्म मुल्य बढेको छ ।
यस्तै, डुव्लेक्स बक्सको मुल्य पनि १५० प्रतिशतसम्म बढेको छ । यसले गर्दा पारासीटामोल बनाउन नसक्ने अवस्थामा पुगेको बरालले बताए । उनले भने, ‘ कच्चा पदार्थको मुल्य बढ्दा पर्याप्त उत्पादन गर्न नसकिएको यथार्थ हो । बनाएका औषधि पनि खुला सीमा नाकाका कारण भारतमा गइरहेका छन् । भारतमा १०० प्रतिशत महंगो छ ।’
पारासीटामोल उत्पादनका लागि २१ नेपाली औषधि उद्योगले लाइसेन्स लिएका छन् । जसमध्ये १० वटा उद्योगले मात्रै रेगुलर पारासिटामोल बनाउँछन् । अल्मुनीयम फोइल २०० देखि ३०० प्रतिशत, प्याकिङमा प्रयोग हुने पीभीसी, पीभीडीसी २०० देखि ४०० प्रतिशतसम्म मुल्य बढेको छ। पारासिटामोल भारतमा नेपालको भन्दा ८० प्रतिशत महंगो पर्छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोरोना महामारीमा पारासीटामोल माग बढी भएको र आपूर्ति कम भएको बताए । उनले भने,‘२०६४ सालदेखि पारासीटामोलको मुल्य नियन्त्रण भएपनि समायोजन हुन सकेको छैन। कच्चा पदार्थको पनि मुल्य बढेको हो।’
प्रतिक्रिया दिनुहोस !