जलवायु परिवर्तनले पिरोलिँदै महिला
पानी पर्यो भने एकै पटक ह्वार्रर पर्छ। पहिलाजस्तो पानीको मौसममा पानी पर्दैन। बेमौसममा हुने अतिवृष्टिले यहाँको रातो माटो सबै बगाएर घर नै पुरिदिन्छ।
प्यूठानको नौवहिनी गाउँपालिका—८ फोप्लीनिवासी हीरा जीसी पानी पर्नेबित्तिकै भगवान् पुकार्न थाल्छिन्। उनी यो गाउँमा बिहे गरेर आएको ५५ वर्ष भयो। उनको अनुभवमा २०७२ साल उता कुनै ठूलो पहिरो गएको थिएन। २०७२ सालमा डोजर प्रयोग गरेर सडक विस्तार गर्न थालेपछि पहिरोको समस्यामा आफूहरू परेको उनको अनुभव छ। पहिरो जान थालेसँगे हीराका कैयांै रातहरू नसुतेरै बिते त कतिपय रात हारगुहारमै बिते। पहिरो जाने क्रम बढ्दै जाँदा २०७३ सालको पहिरोले उनको घर पुरेको थियो। त्यतिबेला उनी घरभित्र निदाएकी थिइन्। छोराबुहारीले नउठाएको भए आज हीरा जिउँदो रहने थिइनन्। उनी मुस्किलले निस्कन सफल भइन्।
हीरा विस्तारै बामे सरेर बाहिर निस्किन पुगिन्। बाहिर निस्किँदा पहिरोले सबै गाउँ पुरिसकेको थियो। त्यसपछि उनी पहिरोको जोखिम कम छ कि भन्दै आफ्नो बहिनीको घरमा आश्रय लिन पुगिन्। उनका पशुचौपायाहरू, घर र खेतीयोग्य जमिन पहिरोले क्षति गर्यो। हीराको जस्तै पीडा अर्का ६० वर्षीया देवकला रोकायले पनि भोगिन्। उनी फोप्लीमा बिहे गरेर आउँदा मात्र १७ वर्षकी थिइन्। उनी पनि बाटो खनेरै पहिरो गएको बताउँछिन्। पहिरो जाँदा उनको परिवारले स्थानीय स्कुलमा शरण लियो। उनका श्रीमान् काम गर्न भारत गएका थिए। आफ्ना तीन छोरा र दुई छोरी काखी च्यापेर देवकला ज्यान बचाउन बेस्सरी दौडिन पुगिन्। यो पीडा उनलाई प्रत्येक वर्षको झरीमा हुन्छ। यी त उदाहरणीय पात्र हुन्। यो पीडा पहिरोका जोखिम क्षेत्रका सबै महिलालाई छ। उनीहरूलाई आफ्नो ज्यानसँगै परिवारको ज्यान जोगाउनु पर्ने सामाजिक बाध्यता पनि छ। त्यसमा पनि के खाने र खुवाउने भन्ने पिरलो महिलाले नै सहन गर्नुपर्ने हुन्छ। जसले गर्दा महिलाहरू पहिरो, बाढी, भूकम्प तथा हिमपातजस्ता विपद्मा पुरुषको तुलनामा धेरै नै प्रताडित हुने गर्छन्।
वर्षायाम सुरु भएसँगै पहिरोको जोखिम र त्राससमेत बढ्दै जान्छ। यस वर्ष कात्तिक लागेपछि लगातार परेको बेमौसमी वर्षात्का कारण फोप्लीवासी कोही पनि ढुक्कले निदाउन सकेनन्। यसभन्दा अगाडिको पहिरोले फोप्ली, बहाने, खवाङ, पूजा, अर्खा र जवारालगायतका गाउँहरूमा नोक्सानी पुर्यायो। फेरि तीनै दिन दोहोरिने हुन् कि भन्ने त्रासमा रहेका छन् स्थानीयवासी। २०७३ सालमा नौवहिनी गाउँपालिकामा पहिरो जाँदा २६ जनाले ज्यान गुमाए। यसभन्दा अगाडि यो गाउँमा यति ठूलो पहिरो नगएको स्थानीय ६८ वर्षीय गोपाल घिमिरेले बताउँछन्। उनका अनुसार २०७४ सालमा फेरि अर्को ठूलो पहिरो गयो। त्यतिबेला पनि गाउँले बिचल्लीमा परे।
उनी भन्छन्, ‘पानी पर्यो भने एकै पटक ह्वार्रर पर्छ। पहिलाजस्तो पानीको मौसममा पानी पर्दैन। बेमौसममा हुने अतिवृष्टिले यहाँको रातो माटो सबै बगाएर घर नै पुरिदिन्छ। त्यसैमा पहाडै रातो हुने गरी खोलेका सडकका ट्र्याकले झनै जोखिम बढाएको छ। स्थानीय तहका जनप्रतिनिधि अझै बाटो ठूलो बनाउने र डोजर लगाउने योजनामा छन, मलाई यो कुराले पिरोलेको छ।’ यसरी निरन्तर रूपमा पहिरो गइरहँदा यसको असर सबैभन्दा धेरै महिलामै परेको छ। यहाँका अधिकांश पुरुष धनआर्जन गर्न भारत र तेस्रो मुलुकसम्म पुग्ने गर्छन्। त्यतिबेला यहाँका महिलाहरूले थुप्रै मानसिक र शारीरिक समस्या झेल्नु पर्छ।
पहिरो रोक्न जोखिम मोलेरै रातभरि भल काट्छन् महिला ठूलो पानी पर्नेबित्तिकै घरभित्रै पानीको भल पस्ने समस्याले फोप्लीका महिलाहरू रातारात भल काट्न घरबाहिर निस्कन्छन्। ज्यानको जोखिम मोलेर उनीहरू घर परिवार बचाउन मेहनत गर्छन्। हिमा जीसी ४९ वर्षकी भइन्। उनका ३ छोरी र २ छोरा छन्। ती छोराछोरी बचाउन उनी एक्लै कोसिस गर्छिन्। त्यसैमाथि पशुचौपायाको चिन्ता पनि छ। खेतबारी सबै पहिरोले सखाप पार्ला भन्ने अर्को चिन्ता। यस्तै चिन्तैचिन्ताका बाबजुद पनि यहाँका महिला बस्ती जोगाउन भल काट्न तयार छन्। स्थानीय लक्ष्मी घर्तीमगर भन्छिन्, ‘अलीअलि झरी पर्नासाथ कोदालो बोकेर दौडिहाल्छम् भल काट्न। त्रासमै बाँचेका छम्। अब यहाँ छोडेर कहाँ जाने ?’
भौगोलिक विकटता त्यसैमा मनपरी खोलिने सडकका ट्र्याक अनि वातावरणीय प्रभाव मूल्यांकन नगरीकन गरिने विकासे कामले फोप्लीका महिलाहरूको जीवन असहज भइरहेको छ। यो क्रम बढ्दै गइरहेकाले उनीहरूमा चिन्ता थपिँदै गएको छ। स्थानीय दुमन्ता बोहोरा मगर ३६ वर्षकी भइन्। उनी खेतीयोग्य जमिन जोगाउन नियमित पानीको भल छेक्ने कोसिस गर्छिन्। यसरी कोसिस गर्दागर्दै पनि ठूलो पहिरो आउँदा दुमन्ताले २०७३ सालको पहिरोमा घरको सबै रासन गुमाउन पर्यो। चार छोराछोरी मुस्किलले जोगाएकी दुमन्ता त्यो दिन सम्झेर अहिले पनि भावुक हुन्छिन्। दुमन्ता स्थानीय तहको जनप्रतिनिधि पनि हुन्। सडक मनपरी नखनौं भनेर उनले आवाज उठाइन् तर केही लागेन। साउन लागेपछि हिउँद नलागेसम्म कतिबेला भल काट्न जानुपर्ने हो भन्ने कुराले पिरोल्छ उनीलाई।
पहिरो जाँदा महिलाहरू पेटभरि खानसमेत पाउँदैनन्
पहिरो जाँदा घरमा भएको सबै अन्नपात पहिरोले पुर्ने गर्छ। घरभित्रका सबै सामग्री केही प्रयोग गर्न लायक हुँदैनन्। त्यसपछि सुरक्षित ठाउँमा रहेका छिमेकी सार्वजनिक स्थलको भर पर्नु पर्ने हुन्छ। पहिरो जाँदा कैयौँ रात भोकभोकै गुजारेको स्थानीय लक्ष्मी घर्र्तीमगर बताउँछिन्। छिमेकीले दया गरेर खाना दिए खाने नत्र भोकै कम्मर कस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। लक्ष्मीले चार दिनसम्म भोकै बसेको अनुभव सुनाइन्। उनका साथमा रहेका छोराछोरीले पनि यो समस्या झेले। अर्का स्थानीय हिमा जीसीले पनि कैयौं रातहरू भोकै गुजारेकी छिन्। स्थानीय पुटबहादुर पुनमगरको जहानले पनि एक संस्थाले दिएको एक बोरा चामलले केही दिन गुजार्न सक्यो। त्यसपछाडि फेरि आर्थिक समस्या सुरु भयो। पहिरोमा तीन वटा लैना भैंसी, एक हल गोरु, पाँच वटा बाख्रा र एउटा बाच्छो गुमाएको परिवार बाँच्न त सफल भयो तर अहिले पनि दैनिकी असहज नै छ। एकातर्फ कसरी बाँच्ने भन्ने चिन्ता अर्कोतर्फ ज्यानको जोखिम। यी दुवै चुनौतीका बीच फोप्लीका महिलाहरूले घर धानेर बसेका छन्।
खानेपानी र स्वास्थ्य सरसफाइको पनि उस्तै समस्या झेल्दै महिलाहरू
पहिरो आउँदा पानीको मुहान पनि पुरिदिने गर्छ। खानेपानीका पाइपहरू बीचमा छुट्ने गर्छन्। त्यसपछि फोहोर पानीको प्रयोग गर्न महिलाहरू बाध्य हुन्छन्। भौगोलिक विकटता भएकाले तुरुन्तै राहत दिन कोही आउन सक्ने अवस्था पनि हुँदैन। यस्तो अवस्थामा महिलाहरूको दैनिकी निकै कष्टकर हुने गर्दछ। लक्ष्मी घर्तीमगर भन्छिन्, ‘हामी बस्ने स्कुलमा सरसफाइ हुँदैन। शौचालयमा पानीसमेत हुँदैन। पानी धेरै टाढाबाट लिएर आउनुपर्छ। धेरै जना भएको हुँदा त्यो पानी पनि पुग्दैन।’ पहिरो गएकै अवस्थामा लक्ष्मी बिरामी पनि परिन्। तर उनले त्यतिबेला सिटामोल पनि पाउन सकिनन्। भाग्यवश लक्ष्मी बाँच्न सफल भइन्। हिँडेर अस्पताल जानेसमेत बाटो नहुने हुँदा त्यो बेला झाडापखालाजस्ता महामारी भएमा झनै जोखिम बढ्ने स्थानीयवासी बताउँछन्। त्यसैमा महिनावारी हुने तथा सुत्केरी हुने महिलाहरूको पीडा कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ। यस्तो समस्याबाट प्रताडित भएका महिलाहरूले पहिरो जाँदा थुप्रै मानसिक समस्या झेल्नुपर्ने हुन्छ। यो समस्या अहिले पनि यहाँका महिलाहरूले भोगिरहेका छन्।
पहिरोको जोखिम कम गर्न स्थानीय महिलाको प्रयास
पहिरोको जोखिमको असर सबैभन्दा धेरै भोग्ने फोप्लीका महिलाहरू पहिरोको जोखिम कम गर्न भिरालो ठाउँहरूमा बासको प्रयोग गरी जैविक तटबन्धन गर्न थालेका छन्। यसरी जैविक तटबन्धन गर्दा पहिरोको जोखिम कम हुने वैज्ञानिक मान्यताअनुसार महिलाहरूले समूह निर्माण गरी पहिरोको जोखिम कम गर्न प्रयास गरेको स्थानीय युवा अगुवा रामकुमार घिमिरे बताउँछन्। उनी यो प्रयासपछि पहिलेको तुलनामा पहिरोको जोखिम कम भएको बताउँछन्। २०७४ सालयता यो प्रयासपछि ठूलो वर्षामा पनि धेरै क्षति पनि भएको छैन। पहिरोको पीडामा परेका महिला आफैं सक्रियतापूर्वक पहिरो नियन्त्रणको काममा लागेको पहिरो पीडित देवकला रोकायको भनाइ छ।
वर्षायाम सुरु भएसँगै पहिरोको जोखिम र त्राससमेत बढ्दै जान्छ। यस वर्ष कात्तिाक लागेपछि लगातार परेको बेमौसमी वर्षात्का कारण फोप्लीवासी कोही पनि ढुक्कले निदाउन सकेनन्।
महिलाहरूले वन जोगाउने मात्र नभई वृक्षरोपणसमेत गर्ने गरेका छन्। जलवायु परिवर्तनको असरसँग जुँध्दै संरक्षणको काममा लागेको यो प्रयास अनुकरणीय रहेको फोप्लीमा रहेर संरक्षणको क्षेत्रमा काम गर्दै आएका एक गैरसरकारी संस्थामा कार्यरत भाष्कर चौधरी जानकारी दिन्छन्। महिलाहरूमा पलाएको संरक्षण चेतनाले भविष्यमा हुन सक्ने संकट केही कम गर्न सकिने उनको भनाइ छ। यस्तो प्रयास अन्य क्षेत्रमा पनि हुनुपर्ने उनको बुझाइ छ।
फोप्लीको भौगोलिक अवस्था
प्यूठानको नौवहिनी गाउँपालिका—८ मा पर्ने फोप्ली समुद्री सतहबाट १६ सय मिटर उचाइमा छ। यो जिल्लाको ठाडो उचाइ स्थानमा छ। देशव्यापी रूपमा गएको भूकम्पका बेला स्थानीयले आफ्नो जमिन नराम्ररी फुटेको बताएका थिए। यसै क्रममा २०७३ सालमा साउन ६ देखि ११ गतेसम्म निरन्तर भारी वर्षा भएको थियो। त्यसपछि गाउँमा अप्रत्यासित घटना घट्न गयो। दुई दर्जनभन्दा धेरैले ज्यान गुमाउनु परेको त्यो दिनले फोप्लीवासीलाई आतंकित बनाएको छ। त्यसबेला पहिरो सडक छेउ र ठाडो उचाइको छेउमा गएको थियो। स्थानीय जनताको घर र भवन माटो र ढुंगाले भरिएको थियो। केही मानिस आफ्नो ज्यान जोगाउन सफल भए। ठूलो पहिरोले गर्दा उनीहरूले गाईबस्तु र सम्पत्ति गुमाए। त्यसपछि मानिस घरबारविहीन र निसहाय भए। विपत्तिपछि महिला, केटाकेटी र वृद्धावस्थाका मानिस भोकाएका थिए र अझ धेरै कठिनाइमा परेका थिए। विद्यार्थी विद्यालय जान सकेनन्। सबै जना थप विपत्तिदेखि डराए। फोप्ली स्कुल पहिरो पीडितका लागि घर बन्न पुग्यो।
फोप्लीमा पहिरो जानुको कारण
फोप्ली ठाडो उचाइ भएको क्षेत्रमा रहेको छ, जहाँ चट्टान र पत्थर कम हुन्छ। माटोको मात्रा चट्टानभन्दा बढी हुन्छ। यस क्षेत्रमा वनफँडानी धेरै देखिएको छ। त्यहाँ पाइने काँडाका प्रजातिहरू देखिन्छन्। अर्को पहिरोको मुख्य कारण ग्रामीण सडक निर्माण नै हो। देशव्यापी रूपमा गएको भूकम्पका बेला अधिकांश ग्रामीण सडक खण्डमा जमिन नराम्ररी फुटेको थियो। त्यसैमा सडक खन्ने क्रम बढेसँगै फोप्ली नराम्ररी प्रभावित हुन पुग्यो। त्यसैमा भारी वर्षाका बेला पहिरोले गाउँ नै प्रभावित हुन्छ। प्यूठानमा ठूलो पहिरो गएका बेला केही भूगर्भविद् त्यहाँ पुगेका थिए। उनीहरूले विपद्पछि त्यस क्षेत्रको अध्ययन गरे। त्यस अध्यनबाट फोप्ली क्षेत्र बसोबासका लागि अनुचित देखियो। तर पनि स्थानीय त्यही स्थानमा बस्न बाध्य छन्।
फोप्लीवासीलाई सो स्थान अहिले झनै असुरक्षित बन्दै गएको छ। स्थानीय सरकारले नयाँनयाँ सडकको ट्र्याक खोलिरहँदा स्थानीयवासीको निद्रा हराएको छ। पुर्खादेखि बस्दै आएको ठाउँबाट विस्थापित गर्नुभन्दा यसै स्थानलाई सुरक्षित गर्नुपर्ने युवा रामकुमार घिमिरे बताउँछन्। विपत्तिपछि पानीका छिद्रहरू नासिन्छन् र नियमित पानीको बहाव नै खल्बलिन्छ। पुरानो पानीको समेत मुहान सुक्छ। बाह्रैमास पानी पर्याप्त मात्रामा आउँदैन। जसले गर्दा महिला घन्टौंघन्टा गाग्री बोकेर पानी लिन जान बाध्य छन्। सबैका घरमा नियमित पानी आउँदैन। एकातर्फ घरको अन्य काम अर्कोतर्फ पानीको जोहो गर्नुपर्ने अवस्था। जसकारण महिलाहरूको दैनिकी विपद्का कारण पूर्ण रूपमा प्रभावित छ।
मनपरी बाटो नखन्न स्थानीयवासीको सुझाव
बुद्ध घर्ती भारतको दिल्ली पुगेर नोकरी गर्छन्। उनका घरपरिवार सबै फोप्लीमै छन्। पहिरोले उनको घर र गोठ दुवै भत्कियो। विस्थापित भएर परको जग्गामा घर बनाए। त्यहाँ पनि जोखिम उस्तै छ। दुहुनो भैंसी र बाख्रापाठा सबै पहिरोमा पुरिएपछि उनको परिवार निकै दुःखी बनेको छ। उनकी श्रीमतीले पहिरो गएको खबर उत्तिबेलै टेलिफोनमा जानकारी गराए पनि उनी तुरुन्तै नेपाल आउन सक्ने अवस्था थिएन। उनले मापदण्डअनुसार बाटो नबनाउँदा समस्या आएको बुझाइ व्यक्त गरे। उनले स्थानीय सरकारले बाटो बनाउँदा भलकुलो बनाएर बाटो बनाउनुपर्ने र मनपरी डोजर प्रयोग नगर्न आग्रह गरे।
लक्ष्मण घिमिरे भने गाउँमा ठूलो पहिरो जाँदा मलेसियामा थिए। मानसिक रूपमा थुप्रै समस्या झेलेका उनको मन अहिले पनि त्यो घटना सम्झेर आत्तिने गर्छ। भन्छन्, ‘स्थानीय सरकारले बाटो बनाउँदा पहिरो नजाने गरी तटबन्ध गरिदिएको भए राम्रो हुने थियो।’ मीनबहादुर जीसी यस विषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने धारणा राख्छन्। फोप्लीका युवाअगुवा रामकुमार घिमिरे ठाउँठाउँमा ढल निकास गर्न आवश्यक रहेको जिकिर गर्छन्। पहिरो जाँदा आश्रय लिने सामाजिक भवन बनाउन पनि आवश्यक ठान्छन्। यो स्थानमा भूकम्प जाँदा पनि असरहरू देखा पर्ने भएकाले सार्वजनिक बलियो भवनको आवश्यकता महसुस गरेको उनी बताउँछन्। घिमिरेको घरपरिवार पनि मुस्किलले पहिरोबाट बाँचेको थियो। भन्छन्, ‘पहिरो गएको दिन राति गोठमा मेरो जहानसँगै सासूआमा पनि आउनु भएको थियो। म घर बाहिर थिएँ। उहाँलाई निद्रा परेनछ। उहाँले पहिरो गएको थाहा पाउने बित्तिकै सबैलाई भगाउन सफल हुनुभएछ। त्यसपछि त्यो गोठ र बारी सबै पुरियो। त्यो घटना सम्झेर अहिले पनि झसंग हुन्छु।’
यस्ता समस्यासँग जुधेका फोप्लीवासी नयाँ बाटो खन्नेभन्दा पनि पुरानै बाटो हिँड्नलायक र सुरक्षित बनाउनुपर्ने माग राख्दै आएका छन्। बाटो खन्नुअघि वातावरण प्रभाव मूल्यांकन गर्नुपर्ने माग पनि राखेका छन्। स्थानीय तहले भने यस विषयमा खासै चासो देखाएको छैन। नाम नबताउने सर्तमा एक स्थानीय भन्छन्, ‘वडाध्यक्षले आफ्नो किसिमले योजना बनाउँछन्। त्यो योजनाबारे हामीलाई केही थाहा हँुदैन। पछि एक्कासि बाटोमा डोजर उभिएको देखिन्छ। नोक्सानी भोग्ने हामी नै हुन्छौं। वातावरणीय अध्ययन गरेको भए बाटो खन्नेबित्तिकै हाम्रो गाउँमा पहिरो किन जान्थ्यो ? अहिले पनि सडक खन्ने भनेर धेरै योजना अगाडि सारिएको कुरा थाहा भएको छ। यस्तै हो भने फोप्लीवासी सबै विस्थापित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न।’
के गर्दै छ त स्थानीय सरकार ?
पहिरोको जोखिम आँकलन हुँदाहुँदै पनि नौवहिनी गाउँपालिका—८ मा नयाँ सडक बनाउने क्रम बढेको बढ्यै छ। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि वडा नम्बर ८ मा लुपलुङ फोप्ली हुँदै ७ नम्बर वडासम्म, अँधेरी खोलादेखि वडा नम्बर ८ को वडा कार्यालय हुँदै प्यूठान नगरपालिकासम्म, वडा नम्बर ८ को खैरापुरदेखि पालकत्रीसम्म, लुपलुङबाट मौवा रूख हुँदै बूढीकट्टीसम्म बाटो पुर्याउने काम भएको छ। यो कामलाई स्थानीय सरकारले उपलब्धिपूर्ण काम मानेको छ। अझै नयाँ बाटो बनाउने अरू पनि योजनाहरू पास भइसकेका छन्। केही प्राविधिक र इन्जिनियरको सल्लाहअनुसार बाटो विस्तार गरिएको वडा नम्बर ८ का वडाध्यक्ष ओबीराम विक बताउँछन्। गैरसरकारी संस्थाको सहयोगमा बासको जैविक तटबन्धन गर्ने काममा सहयोग गरेको भए पनि पहिरो नियन्त्रणका लागि वडाबाट अन्य कुनै कार्यक्रम तय नभएको वडाध्यक्ष विक जानकारी दिन्छन्। उता नौवहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजाल यस अगाडिका वर्षमा पहिरो नियन्त्रणकै लागि भनेर फोप्लीमा कुनै बजेट विनियोजन नगरेको स्वीकार्छन्। यस वर्षदेखि पहिरो नियन्त्रणका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ। यसअघि पहिरोका लागि मात्रै नभएर विपद्का लागि भनेर एकमुष्ट बजेट विनियोजन गर्ने र विपद्का बेला राहत वितरण गर्ने गरेको उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !