महामन्त्रीमा उठे जिताउने आश्वासन पाएको छु : खाँण
काठमाडौं : गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले कार्यकर्ताले महामन्त्रीमा उठ्न आग्रह गरेको दाबी गरेका छन्। उनले महामन्त्रीमा उठे कार्यकर्ताबाट जिताउने आश्वासन पाएको बताएका हुन्।
‘देशभरिका साथीहरूले महामन्त्रीमा उठ्नुहोस्, हामी जिताउँछौं भन्नुभएको छ।’ उनले भने, ‘ताप्लेजुङदेखि कञ्चनपुरसम्मका साथीहरूको चाहना त्यही छ।’
खाँणले सभापति शेरबहादुर देउवा र अरू नेताहरू बसेर कसले कुन पदमा उठ्ने भन्ने तय हुने जनाएका छन्। उनले राष्ट्रियसभा निर्वाचनको प्रणालीलाई कांग्रेसले लागू गर्नुपर्ने धारणा राखेका छन्। आफूले केन्द्रीय समिति बैठकमा प्रस्ताव राखेको बताउँदै उनले भने, ‘नेतृत्व चयनको चुनावमा सबैभन्दा बढी मत ल्याउने सभापति, दोस्रो मत ल्याउने उपसभापति, तेस्रो मत ल्याउने महामन्त्री र चौथो मत ल्याउने सहमहामन्त्री बन्ने प्रणाली लागू गर्न सक्छौं। त्यसो भयो भने पार्टीमा कसैले पनि गुट बनाउनै पर्दैन।’
गुटका कारणले योग्य र सक्षम मान्छे पछि पर्ने उनको भनाई छ। उनले भने, ‘जो गुटलाई बलियोसँग चलाएको छ, त्यो अगाडि आउने परिपाटी हटन सक्दैन। पार्टीमा अहिलेको अवस्था यस्तो छ। अरू पार्टीसँग प्रतिस्पर्धाको कुरा बेग्लै हो। पार्टीमा गुट चलाउँदा भने तीव्र ध्रुवीकरण हुन्छ।’
कांग्रेसमा पार्टी र सरकारको नेतृत्व फरक फरक भएका बेला पार्टी र सरकार दुवैमा संकट आउने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !