एमसीसी र चुनावको मिति तोक्न देउवा, ओली र प्रचण्ड छलफलमा
काठमाडौं: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने दबाब आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका छन्।
फेब्रअरी २८ भित्र जसरी पनि एमसीसी पास गर्नुपर्ने भएपछि प्रधानमन्त्री देउवाले सहयोगका लागि ओलीसँग समेत छलफलमा बसेका हुन्। बालुवाटारमा विशेषतः एमसीसीकै विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ। आजै एमसीसी मुख्यालयलाई पठाएको अति गोप्य पत्र सार्वजनिक भएपछि माओवादी अध्यक्ष प्रचण्ड पनि दबाबमा रहेको बताइएको छ।
एमसीसीलाई अब बस्ने प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने र सभामुखले नमाने त्यसको विकल्पमा के गर्ने भन्नेबारे समेत छलफल हुने बताइएको छ। त्यस्तै स्थानीय निर्वाचनको मिति तोक्नेबारे समेत छलफल हुने बताइएको छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवतः निर्वाचन मिति तोक्ने बताइएको छ।
त्यही भएर पनि आजको छलफलमा ओलीलाई समेत बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोगले यसअघि नै जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस !