प्रचण्ड र डा. शेखरबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न कोइराला प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, सत्ता गठबन्धन, संसद्को गतिरोधलगायतको विषयमा छलफल भएको कोइरालानिकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी अनुदान सहायता सम्झौता संसद्बाट जतिसक्दो चाँडो अनुमोदन गराउने पक्षमा छन्। तर, ‘गोल गर्ने’देउवाको ‘दाउ’मा गोलकिपरको भूमिकामा देखापरेका छन् सभामुख अग्निप्रसाद सापकोटा। प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई पत्र लेखे। जसकारण जसरी पनि एससीसी संसद्बाट अनुमोदन गराउनुपर्ने नैतिक जिम्मेवारी देउवालाई छ। दाहाल भने चुनावपछि मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने दबाब देउवामाथि बढाइरहेका छन्। तर, त्यसो गर्दा कूटनीतिक क्षेत्र र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिन सक्ने देउवाको बुझाइ देखिन्छ। प्रधानमन्त्रीले चाहेजसरी एमसीसीलाई ‘सजिलै’संसद्को निर्णय प्रक्रियामा नलैजाने सभामुखले स्पष्ट गरिसकेका छन्। उनले प्रतिनिधिसभा बैठक विभिन्न बहानामा लगातार धकेल्दै आएका छन्।
सोहि विषयलाई लक्षित गर्दै कोइरालाले प्रचण्डसँग संसद्लाई बन्धक बनाउन नहुने बताएका थिए। प्रचण्डले चुनावपछि मात्रै एमसीसीको विषय उठाउनुपर्ने प्रस्ताव राख्न आग्रह गरेका छन्। प्रचण्डले सत्ता गठबन्धन के गर्ने भन्ने प्रश्नमा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जान नसकिने जवाफ दिएको स्रोतले जनाएको छ।
कांग्रेसभित्र भने यो गठबन्धन कायम गर्न नहुनेको बाहुल्य देखिन्छ। डा. शेखर पक्षधर र युवा नेता गठबन्धनका पक्षमा छैनन्। त्यो कुरा बुझेका दाहालले एमालेले जितेका स्थानमा मात्रै गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन्। कांग्रेस र माओवादी केन्द्रले जितेका स्थानमा एक्ला एक्लै लड्ने प्रस्ताव पनि दाहालको छ।
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बिहीबार बस्ने पहिलो बैठकमा पनि शेखर समूहले गठबन्धन कायम गर्न नहुने र नेकपा फुटेर तीन पार्टी बनेकाले कांग्रेस एक्लै चुनाव लड्नुपर्ने अडान राख्ने तयारी गरेको छ। यस अगाडि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए।
प्रतिक्रिया दिनुहोस !