प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा राष्ट्रिय सहमति जुटाउन कांग्रेसले सबै दलसँग वार्ता गर्ने
काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग दुई तिहाइले पारित गर्न राष्ट्रिय सहमति जुटाउने बताएका छन् ।
कार्यसम्पादन समिति बैठक चलिरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै नेता साउदले एमालेलगायत सबै दलसँग छलफल र वार्ता गरेर सहमति जुटाउने जानकारी दिए ।
'न्यायालय गतिरोधमा थियो । मुद्दा मामिला प्रभावित थिए । बार आन्दोलनमा थियो । हामीले भित्रैबाट हल हुनुपर्छ, प्रधानन्यायाधीशले अग्रसरता/सहजीकरण गर्नुपर्छ भन्यौं । उहाँले निकासमा सहजीकरण नगरेको हुनाले महाभियोगबाट उहाँलाई हटाउने प्रस्ताव गरिएको हो । सत्ता गठबन्धनमा छलफल भएरै महाभियोग दर्ता भएको हो,' उनले भने, 'राष्ट्रिय सहमति जुटोस्, न्यायलयले निकास पाओस्, न्यायलयको मर्यादा राख्न सकौं भन्ने कोसिसमा छौं । सबै दलहरुसँग छलफल र वार्ता गर्छौं ।'
नेता साउदले प्रधानन्यायाधीशको महाभियोगको कुरालाई बैठकले अनुमोदन गर्ने बताए । 'प्रधानन्यायाधीशको सक्रियतासँग दलहरु आत्तिनुपर्ने कुनै कारण छैन । अदालतभित्रको अन्तर्विरोधले हामीले महाभियोग अघि बढाएका हौं । जनताले सर्वसुलभ निष्पक्ष न्याय पाउनुपर्नेमा निरन्तर आन्दोलन भयो र निकास दिन हामी अघि बढेका छौं,' उनले भने ।
प्रतिक्रिया दिनुहोस !