फागनु १६ गतेभित्रै एमसीसी पारित गर्न सबै दलले भूमिका खेलौं : पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं : पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेकाले संसद्बाट पारित गर्नुपर्ने बताएका छन्। महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गर्न सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले भने,‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो। उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो। त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो इच्छा हो। एमाले पनि एमसीसीको पक्षमा नै छ।’
एमसीसी दुई देशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए। शनिबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले भने,‘यो संसद्ले पनि अनुमोदन गर्ने भनिएको छ, सम्झौता हुँदा यो सन् २०१९ भित्रै संसद्ले अनुमोदन गर्छौं भनेर नेपालले भनेको थियो। यो सम्झौता देशको हितको लागि हो। अमेरिकाले जबरजस्ती दिएको होइन, नेपालले मागेको हो।’
कांग्रेस नेता महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए। ‘नेपालमा जस्तै एमसीसी सम्झौता धेरै देशसँग भैसकेका छन्। संसद्ले पारित गर्ने सिलसिलामा नेपालमा केही विरोध हुन थाल्यो। नेकपाको सरकारले सदनबाट पारित गर्न खोजेको थियो। तर, त्यतिबेला एक पक्षले विरोध गरेको थियो। अहिलेसम्म पारित भएको छैन।’ उनले भने,‘चार/पाँच महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डजी दुवैले हस्ताक्षर गरेर पारित गर्नको लागि चार/महिनाको समय माग्नुभएको रहेछ। उहाँहरुले पारित गर्नको लागि यस्तो पत्र लेख्नुभएको थियो। अहिले अमेरिकाले फागुन १६ गतेसम्म पारित गर्नुपर्छ भनेको छ। र, फागुन १६ गतेसम्म पारित नभएको खण्डमा फिर्ता लैजान्छौं भन्ने अमेरिकाबाट खबर आएको छ।’
एमसीसीबारे अहिले भएका र गरिएका आलोचनाहरु सबै असत्य रहेको उनको टिप्पणी छ। ‘अमेरिकी सेना आउँछ, यो सैनिक सम्झौता हुन्छ, आईपिएस अन्तर्गत हो भनेर आलोचना भएको छ। यो गलत कुरा हो। अमेरिकाका सेना आउँछ भनेर आपत्ति जनाइएको छ, यो कुरा पनि सत्य होइन। एमसीसी आईपीएस अन्तर्गत होइन। सन् २००४ मा एमसीसी पारित भएको हो। आईपिएस भनेको २०१८ मा आएको हो। एमसीसी र आईपिएस बिल्कुलै अलग हो। जो रकम उनीहरुले प्रदान गर्ने हो, त्यो विल्कुलै अहिले तोकिएको आयोजनामा खर्च गरिनुपर्छ।’ महतले भने,‘अर्को कुरा, यहाँ नेपालमा अमेरिकी कानून लागु हुन्छ भनेर पनि आलोचना भएको छ, यो पनि सरासर झुठ हो। यसमा अमेरिकी कानून लागु हुँदैन। सम्झौतामा जे/जे व्यवस्था छ, नेपालको कानून अनुसार लागु हुन्छ। खर्चको लेखा पनि नेपालले नै गर्ने हो। अमेरिकाले गर्ने भन्ने पनि झुठो हो।’
उनले अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न नसकिने पनि सुनाए। उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए। उनले भने,‘एमाले एमसीसीको पक्षमा छ। देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन। एमसीसी निजी स्वार्थको लागि होइन, कांग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो। एमसीसीबारे भएका आलोचना गलत छन्।’
प्रतिक्रिया दिनुहोस !