अदालतलाई गुटबन्दीको सिकार बनाउन महाभियोगमा लिङ्गरिङ, यसको भण्डाफोर गर्छौं: एमाले
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव हठातमा ल्याइएको बताएका छन्। एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले गठबन्धनबाट महाभियोगलाई लिङ्गरिङ गर्ने काम भएको भन्दै यसको भण्डाफोर गर्ने बताएका हुन्।
ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक भट्टराइले भने, ‘महाभियोगलाई जतिसक्यो लिङ्गरिङ गर्ने, एकदमै ढिलो गर्ने महाभियोग पास या फेल हुनका लागि अवसर नै प्रदान नगर्ने ध्येयका साथ उहाँहरु अगाडि बढिरहनुभएको छ। यस्तो बेलामा नेकपा एमालेले यसलाई नङग्याउने, भण्डाफोर गर्ने काम गर्छ।’
उनले थपे, ‘महाभियोग प्रस्ताव दुइतिहाई छैन भन्ने जान्दा जान्दै हठातमा ल्याउनुभएको थियो। जसरी भए पनि सम्मानित सर्वोच्च अदालतलाई गिजोल्ने र अदालतलाई गुटबन्दीको सिकार बनाउने काम भयो। अदालतलाई सधैभरी अस्थिरता बनाउन चाहने उहाँहरुको दुराशयका कारण महाभियोग आएको छ।’ जनताका समस्या बारेमा यो अधिवेशनमा छलफल गर्ने प्रयास नभएको बताए।
बैठकपछि एमाले प्रमुख सचेतक भट्टराइले सत्ता गठबन्धननले आफ्ना उद्देश्य पूरा गर्ने हेतुले मात्रै संसद बैठक डाँकेको बताए। उनले भने, ‘१९ पटक डाकिएको बैठकमा ११ दिन बैठक बस्यो। सत्ता गठबन्धननले आफ्ना उद्देश्य पूरा गर्ने हेतुले बैठक गर्यो। संसदीय प्रणालीमा ‘वेल’ घेराउ र नाराबाजीका बीच कहि पनि बैठक अघि बढ्दैन। अहिलेको गठबन्धन र सभामुखले जबरजस्त संसद चलाउने प्रयास गर्नुभयो।’
प्रतिक्रिया दिनुहोस !