दिल्लीमा व्यस्त प्रधानमन्त्री देउवा, मोदीसँग वान टु वान वार्ता आज

दिल्लीमा व्यस्त प्रधानमन्त्री देउवा, मोदीसँग वान टु वान वार्ता आज

नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन्। शुक्रबार दिउँसो नयाँदिल्ली पुग्नसाथ उनले कूटनीतिक तथा राजनीतिक भेटघाट सुरु गरे। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। 

भारतीय विदेश मन्त्रालयले देउवाको भ्रमणलाई विशेष भनेको छ। मन्त्रालयका प्रवक्ता अरबिन्द वागचीले ‘विशेष मित्रलाई स्वागत छ’ भनेर प्रतिक्रिया दिएका छन्। नयाँदिल्लीको चाणक्यपुरीस्थित आटिसी मोर्या होटलमा बास बसिरहेका देउवाले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन्। त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयमा पुगेर अन्तक्रिया गरेका थिए। भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिनदयाल मार्गस्थित मुख्यालयमा देउवालाई स्वागत तथा सम्मान गरेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार भाजपा मुख्यालयमा नेपाली कांग्रेसका सभापति देउवा र भाजपा राष्ट्रिय अध्यक्ष नड्डाबीच पार्टी पार्टीबीच अनुभव आदानप्रदान तथा सुमधुर सम्बन्ध बनाउने विषयमा छलफल भएको थियो। 

भ्रमणको सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा)को पार्टी कार्यालयमा स्वागत गर्दै भाजपा अध्यक्ष जेपी नड्डा। तस्बिर : रासस

भाजपा मुख्यालयबाट होटल फर्केर देउवाले भारतीय विदेशमन्त्री जयशंकरसँग शिष्टाचार भेट तथा कुराकानी गरेका थिए। साँझ प्रधानमन्त्री देउवा बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए। दूतावासले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेको थियो। रात्रिभोज समारोहमा प्रधानमन्त्री देउवाले भ्रमणको मुख्य उद्देश्य पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन, द्विपक्षीय आपसी सहयोगका विषयमा छलफल गर्नु नै रहेको बताए। भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास आफूले लिएको उनको भनाइ थियो।

प्रधानमन्त्रीको रूपमा आफ्नो पाँचौं भ्रमणमा भएको भन्दै देउवाले भ्रमणमा केही नयाँ सम्झौता हुने बताए। शनिबार राजघाटको भ्रमणपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो द्विपक्षीय भेटवार्ता हुने देउवाले जानकारी गराए। राजघाटमा प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्ने कार्यक्रम छ। त्यसपछि हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्लाएक्लै तथा द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ। 

‘मेरो भ्रमणमा ऊर्जा, कृषि स्वास्थ्य, यातायात क्षेत्रमा महŒवपूर्ण घोषणा हुने विश्वास लिएको छु,’ उनले भने, ‘केही नयाँ सम्झौताहरू पनि हुँदैछन्।’ देउवाले शनिबार अपराह्न भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने र नेपालमा लगानी गर्न आग्रह गर्ने पनि बताए। त्यसअगाडि देउवाले भारतका उपराष्ट्रपति बैंकाय नायडुसँग भेट गर्नेछन्। 

आइतबार उत्तर प्रदेशको बनारस जाने र काशी विश्वविद्यालय, ललिताघाट र पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने जानकारी गराए। प्रधानमन्त्री देउवासहित १५ जनाको उच्चस्तरीय टोलीलाई भारत सरकारले विशेष विमानबाट आइतबार बनारसको धार्मिक भ्रमण गराउँदैछ। बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्नेछन्। योगीले देउवाको सम्मानमा रात्रिभोजसमेत आयोजना गरेका छन्। 

भ्रमणका क्रममा नेपाली समुदायसँग भेट्न पाएकोमा देउवाले हर्ष व्यक्त गरेका थिए। भौगोलिक र सांस्कृतिक सामीप्यले जनस्तरको सम्बन्ध रहेको भन्दै देउवाले उच्चस्तरीय भ्रमणबाट अझै मजबुत र फलदायी बनाउन सकिने बताए। भारतमा ठूलो संख्यामा नेपाली रहेको भन्दै दुई देशबीचको प्राचीनकालदेखि रहिआएको सम्बन्धलाई अझ फराकिलो बनाउने काम गरेको उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले विदेशमा बस्दा आर्जन गरेको ज्ञानसीपलाई देशको आर्थिक सामाजिक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वानसमेत गरेका थिए। तर समय अभावका कारण नेपाली समुदायसँग अन्तरसंवाद गर्न नपाएकोमा उनले दुःख व्यक्त गरेका थिए। 

कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारीका तर्फबाट राजदूत डा. शंकर शर्माले प्रधानमन्त्री देउवालाई मायाको चिनोस्वरूप राम मन्दिरको रेप्लेसिका हस्तान्तरण गरेका थिए। नेपाली दूतावासको रात्रिभोजमा भारतमा रहेका प्रतिष्ठित नेपालीहरू, नेपाली व्यवसायीहरू, सरकारका मन्त्रीहरू, नेपालका लागि पूर्वभारतीय राजदूतहरू, भारतीय नेताहरू सहभागी थिए। पाँचौं पटक प्रधानमन्त्री भएको आठ महिनापछि पहिलो औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवाले यसपालि भारतसँग विविध समस्याहरूभन्दा सम्बन्ध सुदृढीकरणलाई प्राथमिकता दिएका छन्। कूटनीतिक मामिलाका जानकारहरू दुई देशबीच विश्वासको वातावरण बनाउनु नै भ्रमणको सफलता हुने बताउँछन्। 

हैदराबादमा रेलको उद्घाटन

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदैछ। शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ। 

त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन्। ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत अधिकारीले नेपालमा उत्पादित ऊर्जा भारतमा निर्यात तथा बिक्री वितरणका बारेमा छलफल गर्नेछन्। 

त्यस्तै कृषिमन्त्री महेन्द्रराय यादवले मल खरिद सम्झौता गर्नेछन्। स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्काले पनि आफ्नो विभागीय विषयमा छलफल तथा सम्झौता हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.