प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता
नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भेटवार्ता भएको छ । शनिबार बिहान हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्लाएक्लै तथा द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ। 
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदैछ। शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्। 
त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन्। ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत अधिकारीले नेपालमा उत्पादित ऊर्जा भारतमा निर्यात तथा बिक्री वितरणका बारेमा छलफल गर्नेछन्।
त्यस्तै कृषिमन्त्री महेन्द्रराय यादवले मल खरिद सम्झौता गर्नेछन्। स्वास्थ्यमन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्काले पनि आफ्नो विभागीय विषयमा छलफल तथा सम्झौता हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !