चामल–दाल आयातमा कडाइ गर्न माग
काठमाडौं : चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले मंगलबार भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन्।
संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले आयातलाई रोक्न भन्सार शुल्क बढाउनुपर्ने माग राखे। धान आयातमा १ र चामल आयातमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्न आग्रह गरेका छन्। यसले कामदारले कामलाई निरन्तरता दिन पाउने, चामल मिलबाट उत्पादित भुसले अन्य इन्धनको काम गर्ने, करोडौं लगानीमा सञ्चालित उद्योगले निरन्तरता पाउने संघको बुझाइ छ।
यस्तै व्यवसायीले दालको कच्चा वस्तु तथा गेडागुडी आयातको भन्सार शुल्क बढाउन माग गरेका छन्। हाल दाल तथा गोडागुडी आयातमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ। संघले दाल तथा गेडागुडीको १० प्रतिशत शुल्कसँगै तयारी दाल आयातमा २० प्रतिशत गरी दुई प्रकारका शुल्क निर्धारण गर्न आग्रह गरेको छ।
मुसुरो दाल विदेश निकासी गर्दा सरकारले दिँदै आएको ४ प्रतिशत अनुदान सुविधा कटौती गरिएको भन्दै व्यवसायीले निर्यातमा समस्या भएको बताएका छन्। व्यवसायीले तोरी तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको शुल्क घटाउन अनुरोध गरेका छन्। हाल तोरी तेलको कच्चा पदार्थकोे आयात गर्दा ५ प्रतिशत आयात शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ।
भन्सार शुल्क महँगो हुँदा भारतीय तेलले नेपाली बजार कब्जा गरेको उनीहरूको आरोप छ। नेपालका दाना उद्योगले पिनाको खपत कम गर्दा ७५ प्रतिशत पिना निर्यात गर्नुपर्ने भन्दै व्यवसायीले भन्सार शुल्क हटाउन आग्रह गरेका हुन्। हाल प्रतिकिलो पिना निर्यात गर्दा ५० पैसा शुल्क लाग्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस !