चुनावी तालमेलको विरोधमा बैठकस्थल बाहिर प्रदर्शन र नाराबाजी
विराटनगर : चुनावी तालमेलको विरोधमा विराटनगरमा कांग्रेस कार्यकर्ताहरुले शुक्रबार दिउँसो प्रदर्शन र नाराबाजी गरेका छन्। चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको जिल्लास्तरीय कार्यदलको बैठक बसिरहेका बेला कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।
बैठक विराटनगरस्थित कांग्रेस मोरङको पार्टी कार्यालयमा बसेको थियो। बैठक जारी रहेका बेला तालमेल गर्न नहुने माग राखेर प्रदर्शन र नाराबाजी गर्दै कांग्रेस विराटनगर महानगरपालिका–६ का कार्यकर्ता पार्टी कार्यालय पुगेका हुन्।
गठबन्धनमा रहेका ४ दलले गठन गरेको जिल्लास्तरीय कार्यदलमा नेपाली कांग्रेसबाट मोरङ उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल छन्। नाराबाजी र प्रदर्शन गर्दै कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा प्रवेश गरेपछि कार्यदलको बैठकमा रहेका नेताहरुले कार्यालयको ढोका बन्द गरेका थिए।
चुनावी तालमेल गर्दा विराटनगर–६ माओवादीको भागमा पर्ने भएपछि कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्। उनीहरु चुनावी तालमेलको विपक्षमा छन्। ‘वडामा कांग्रेस एक्लैले चुनाव जित्छ। कोहीसँग पनि गठबन्धन गर्न आवश्यक छैन,’ कांग्रेस विराटनगर–६ का युवा नेता अक्षय सहनीले भने, ‘तालमेलका नाममा वडाभित्र पार्टीलाई कमजोर देखाउने प्रयास हुँदैछ। त्यो हामीलाई मान्य छैन।’ उनले तालमेलको विपक्षमा रहेर आफूहरुले पार्टीलाई दबाब दिँदै निरन्तर खबरदारी गरिरहने बताए ।
कार्यदलका सदस्य एवं जसपा जिल्ला अध्यक्ष राजकुमार यादवले जिल्लास्तरीय गठबन्धनको अन्तिम निर्णय शनिबारसम्म भइसक्ने जानकारी दिए। ‘मोरङमा चुनावी तालमेलको विषयलाई लिएर चार दलबीच निरन्तर संवाद र छलफल भइरहेको छ,’ उनले भने, ‘गठबन्धनको सम्भावना बलियो बनेर गएको छ।’
कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले चुनावी तालमेलका लागि जिल्ला स्तरीय कार्यदलले निर्णय लिने बताए। ‘मोरङमा सम्मानजनक तालमेकाले पक्षमा कांग्रेस छ। तर विराटनगर महानगरमा कांग्रेस एक्लै चुनावमा जान सक्छ,’ उनले भने, ‘कार्यकर्ताहरुले विराटनगरभित्र तालमेल नगर्न खबरदारी गरिरहेका छन्। उनीहरुको पनि मनोभावना र चाहनाको सम्मान गर्नुपर्ने छ।’ चुनावी तालमेलको विरोधमा उत्रिएकाहरुलाई लिम्बूले कार्यकर्ताको भावना अनुसार पार्टी अघि बढ्ने आश्वासनसमेत दिएका छन्।
नेपाली कांग्रेस विराटनगरमा चुनावी तालमेल नगर्ने पक्षमा छ। यसअघि कांग्रेसबाटै विजयी भएका भीम पराजुली अहिले विराटनगरको मेयर छन्। २०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै चुनावमा होमिएको थियो। एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो।
मेयरमा २३ हजार ३१ मत ल्याउँदै कांग्रेसका पराजुली निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमाले–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएर पराजित भएका छन्। माओवादी र संघीय समाजवादीकातर्फका मेयरका उम्मेदवार समाजवादी नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए।
प्रतिक्रिया दिनुहोस !