आफताब आलमलाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई थुनामै राख्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामै राख्न आदेश दिएको हो। आलमले आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउ भन्दै निवेदन दर्ता गराएका थिए।
यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए।
संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए।
मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको थियो।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई घटनाको अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि उक्त घटनाका मुख्य आरोपित नेता आलम पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस !