भुल्न नसक्ने द्वन्द्वका ती चोटहरू
२०५७ असोज २० गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताबाट घरमा सुतिरहेका बेला आक्रमणमा परेका राक्सिराङ गाउँपालिकास्थित खैराङ मकवानपुरका शमशेर थिङले दुवै खुट्टामा क्षति ब्यहोरे। मकवानपुरमा माओवादीले चलाएको सुराकीविरुद्धको अभियानमा पहिलो सिकार बनेका थिङ खाटा बसेको द्वन्द्वको घाउ नउप्काउने पक्षमा छन्। ‘दोषीलाई कारबाही होस् भन्ने त मेरो भित्री मनमा छ, तर उजुरी हाल्दैमा कारबाही पनि नहुने गाउँमा पनि बस्न नसक्ने अवस्था आएमा म अपांग मान्छे कहाँ गएर बाँच्ने ?’, उनले दुखेसो पोखे।
०००
मालिका गाउँपालिका–५ छापहिले गुल्मीका प्रेमबहादुर खड्का शिक्षक थिए। ०५८ साल मंसिर १० गते उनी सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन माओवादीबाट अपहरणमा परे। माओवादीका नेता, कार्यकर्ताहरूलाई खानाबस्न नदिएको, माओवादीको सुराकी गरेको, एमालेको राजनीति गरेको जस्ता आरोप खड्कालाई लगाइयो। माओवादीले लगाएको आरोप खड्काले स्वीकार नगरेपछि उनलाई घरमै आएर माओवादीले अपहरण गरेका थिए।
‘सदरमुकाम तम्घासबाट आएर खानाखानका लागि हातधुदै थिएँ, एक्कासि मुखमा रुमाल बाँधेर छापामार शैलीमा आएका माओवादीले अपहरण गरेर लगे’, खड्काले विगत सम्झँदै भने, ‘हामीले लगाएको आरोप स्वीकार गर्नका लागि दबाब दिए तर मैले स्वीकार नगरेपछि ५/६ जनाको समूहले मरणासन्न हुने गरी कुटे।’
माओवादीबाट पीडित भएपछि खड्कासहित ८ जनाको परिवार गाउँबाट विस्थापित भएर सदरमुकाम तम्घासमा गएर बस्न बाध्य भए। रेसुंगा मावी तम्घासमा काज सरुवा भएर त्यहाँ एक वर्ष पढाए। निर्घात कुटपिटपछि खड्कालाई पुरानो चोट बल्झिरह्यो। उनी निरन्तर टिचिङ हस्पिटल काठमाडांँमा उपचारका लागि जानुपर्यो। ‘कुनै गल्ती नगर्दा पनि द्वन्द्वमा माओवादीले दिनु दुःख दिए’, खड्काले भने, ‘द्वन्द्वपीडित भनेर राज्यले पहिचान गरेको छ। ती दिन सम्झँदा नयाँ जुनी पाएजस्तो लाग्छ।’
०००
द्वन्द्वको समयमा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडाका कविराम खड्का थलिएको १७ वर्ष भयो। छातीदेखि तलको भाग चल्दैन। समयमै उपचार गरेको भए उनको यो अवस्था हुने थिएन। घाइतेका लागि भनेर दिने भत्ता पनि सरकारले समयमै दिन्न’ कविराम भन्छन्, ‘मासिक रूपमा भत्ता पाएको भए पनि औषधि गर्न सजिलो हुने थियो।’
०००
२०६० साल भदौ ३० गते दोहोरो भिडन्तमा परी सुर्मा गाउँपालिका–२ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर घाइते भए। उनको छाती, घाँटी र आँखामा गम्भीर चोट लाग्यो। नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कलेज लगियो। उपचारपछि ज्यान त बच्यो। तर, आँखाको ज्योति र घाउका डोबहरू कहिल्यै नबिर्सिने खत बने। अहिले उनलाई प्रहरीको रासनभत्ता र तलब गरी मासिक ३५ हजार आउँछ।
त्यसले सदरमुकाम चैनपुरमा बसेर परिवार पाल्न, छोराछोरी पढाउन र नियमित चेकजाँच तथा उपचार गर्न पुग्दैन। दायाँ आँखा अलिकति देख्ने र बायाँ आँखा पटक्कै नदेख्ने समस्या छ। छोराछोरीको पढाइ खर्च सरकारले व्यहोरिदिएको भए र आफूलाई केही उपचार खर्च दिए निकै सहज हुने भनाइ छ।
०००
१५ फागुनमा बाँकेको नगरपालिका–३ का एक व्यापारीलाई सेनाले नियन्त्रणमा लिएर चिसापानीस्थित भीमकाली गुल्ममा राख्यो। त्यहाँ उनलाई चरम यातना दिइयो। रिहाइका लागि रकमको मोलमोलाई भएको एमनेष्टी इन्टरनेसनलको डिसेम्बर २००२ मा प्रकाशित गरेको ‘नेपालः गहिरो मानव अधिकार संकट’ शीर्षकको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। एक सातापछि उनी रिहा भए। मोलमोलाईको रकम जुटाउन नसकेपछि उनी भारत भागे। खोज्दै घर पुगेको सैनिक टोलीले उनलाई नभेटेपछि २१ चैत ०५८ मा १८ वर्षीया छोरी र १६ वर्षीया भतिजीलाई पक्राउ गरेर चिसापानी ब्यारेक लगेर तीन दिन गैरकानुनी थुनामा राखेर बलात्कार गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
०००
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका कलमप्रसाद चौधरी र सीतापती चौधरी अहिले पनि १३ वर्षको छोरा सुन्दरलाल फर्किएर आउलान कि भन्ने आसा छन्। कमलका भाइ÷बुहारी छेदुला चौधरी र अस्टमकी चौधरी पनि छोरी मधुको पर्खाइमा देखिन्छन्। २०५९ साल भदौ २९ गते बिहानको झिसमिसेमा सुन्दरलाल र मधुलाई तत्कालीन युनिफाइड कमान्ड (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त दस्ता)ले आफ्नै कोठाबाट अपहरण गरेको थियो। दुवै जना अहिले पनि बेपत्ताको सूचीमा छन्। सुन्दरलालका दाजु नरेन्द्र भन्छन, ‘झलारीदेखि पश्चिम गाडीमा लगेको देख्नेहरू छन्। तर, त्यसपछि न लाश पाइयो, न सास नै।
०००
२०६० असोज २१ गते जनकपुरको कटैया चौरीबाट पाँचजना युवालाई प्रहरीले पक्राउ गर्यो। जसमध्ये एक थिए २३ वर्षीय दिपु भनिने सञ्जीव कर्ण। माओवादीको आरोपमा पक्राउ परेका कर्णका साथमा ५ जना साथी थिए। २०६० असोज २४ मा उनीहरूलाई धारापानी ब्यारेकमा लगि हत्या गरेर कमला नदीको किनारमा शव गाडिएको हल्ला फैलियो। छोरालाई बेपत्ता पारी हत्या गरिएको सन्दर्भमा २०६३ असार २५ गते सञ्जीवका बुवा जयकिशोरले धनुषा प्रहरीमा जाहेरी दरखास्त दिए। २०६६ मंसिर १७ मा सर्वोच्च अदालतले जिप्रका कार्यालयलाई तत्काल जाहेरी दर्खास्त दर्ता गर्न र अनुसन्धान गर्न आदेश दियो।
राष्ट्रिय मानवअधिकार आयोगको पहलमा विशेषज्ञको टोलीले २०६७ भदौ २१ गते कमला नदीको छेउमा उत्खनन् गर्यो। दुई चरणमा गरिएको उत्खननको क्रममा मानव अस्थिपंजर, कारतुस, गोलीहरू, च्यातिएको कपडासहित २१ प्रमाण बरामद गरी प्रहरीलाई हस्तान्तरण गरिए पनि हालसम्म पिडकहरूलाई कारबाही हुन सकेको छैन। ‘राजनीतिक दलहरूले न्यायका लागि कुनै चासो दिएन्। अब त हाम्रो लागि न्याय नै मरिसक्यो जस्तो लाग्छ’, मृतक सञ्जीवका भाइ राजीव कर्ण भन्छन्, ‘जसको परिवार बिथोलियो, जसको घरको दियो निभ्यो र जसको घर अनाथ भयो उसले मात्रै पीडा बुझ्छ अन्यलाई के मतलब।’
०००
२०५९ माघ ६ गते बिहान घरबाट ट्युसनका लागि हिँडेकी इन्द्रकुमारी २० वर्ष बितिसक्दा पनि अझै गुमनाम छिन्। तत्कालीन राज्य पक्ष र माओवादीबीच चलेको सशस्त्र संघर्षका दौरान गाउँघरदेखि कुनाकुना त्रासमय थियो। त्यही द्वन्द्वको शिकार भइन् हतुवागढी गाउँपालिका–४, खैराङ्की इन्द्रकुमारी राई। एसएलसी परीक्षाको तयारीमा रहेकी इन्द्रकुमारी साँझसम्म पनि घर नफर्केपछि परिवारले खोजी गरे। ‘सम्झिँदा मन भक्कानिएर आउँछ, भाको एउटी छोरी। न सास पाइयो न लास।’ बाबु हैकमसिंले भने, ‘मेरी छोरी बाँचेकै छ जस्तो लाग्छ। अझै आश मरेको छैन।’
०००
गोरखा, गण्डकी गाउँपालिका–३, चमती (साविक फुजेल ७) का १७ वर्षे कृष्णप्रसाद अधिकारीलाई माओवादीले २०६१ साल जेठको २४ गते चितवनको बकुलहरमा हत्या गरे। भैरवाश्रम मावि फुजेलबाट एसएलसी (एक्जेम्टेड) दिएर उनी चितवनको जयमंगलामा बस्ने हजुरबुबा, हजुरआमा र काकाको परिवार भेट्न गएका थिए। बकुलहरमा नियन्त्रणमा लिएर माओवादी कार्यकर्ताले मोटरसाइकलमा बाँधेर सडकमा एक किलोमिटर घिसारेर हत्या गरेका परिवार स्रोत बताउँछन्। सुराकीको आरोपमा हत्या गरेको माओवादी केन्द्रले स्वीकार गरेको छ। अधिकारी परिवार कांग्रेसका सामान्य समर्थक थिए।
भाइ हत्यापछि उनका दाइ नुरप्रसादले गाउँ छाडे। भाइलाई हत्या गरेको अभियोगमा नुरप्रसादले २०६२ सालमा गाउँका ११ जनाको नाममा चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए। २०६४ सालको पुस १० गते कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामायाले पनि गाउँ छाडे। चितवन, काठमाडौं लगायतका ठाउँमा आश्रय लिन पुगे। २०७० पुस महिनादेखि विभिन्न स्थानमा आमरण अनशन सुरु गरे। लगातार तीन सय दिनमा वीर अस्पतालमा निधन भयो।
गंगामाया अहिलेसम्म पनि सोही अस्पतालमा अनशनमै छिन्। छोराले न्याय नपाएसम्म अनशन नतोड्ने उनको जिकिर छ। मानव अधिकारकर्मी स्थानेश्वर दुवाडी भन्छन्, ‘अनशन भनेको शान्तिपूर्ण आन्दोलन हो। यसका प्रति बेवास्ता गरेर सरकारले अहिंसात्मक आन्दोलनको बललाई नचिनेको हो। अधिकारी दम्पतीको आन्दोलन हतियार र बल प्रदर्शन गरेर होइन, नैतिकताको आन्दोलन हो। हामी यस्तै फैसला हुनुपर्छ भन्न त सक्दैनौँ, तर न्यायको प्रत्याभूति दिलाएर अनसन तोड्ने पहल गर्नुपर्छ।’
शिवराज भट्ट। धनगढी, प्रताप ओली। बझाङ, ललित बुढा। सुर्खेत, शंकरप्रसाद खनाल। नेपालगन्ज, केशरराज क्षेत्री। बुटवल, मनिका झा। जनकपुरधाम, कृष्ण सारु मगर। हेटौंडा, प्रदीपचन्द्र राई। भोजपुर, शिव उप्रेती। गोरखा
प्रतिक्रिया दिनुहोस !