गुण्डा नाइके एलिश गुरुङलाई पक्राउको माग गर्दै आन्दोलन

गुण्डा नाइके एलिश गुरुङलाई पक्राउको माग गर्दै आन्दोलन

विराटनगर : विराटनगरका व्यवसायी पशुपति भगतमाथि भएको आक्रमणको घटनाका मुख्य योजनाकार गुण्डा नाइके एलिश गुरुङलाई पक्राउको माग गर्दै बिहीबारबाट आन्दोलन सुरु भएको छ।

गुण्डा नाइके गुरुङलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै विराटनगरको गुद्री बजारका व्यवसायी आन्दोलित बनेका हुन्।

विराटनगरमा गुण्डागर्दीविरुद्ध आफ्नो व्यापार व्यवसाय नै बन्द गरेर व्यवसायी आन्दोलित बनेका हुन्। घटनाको विरोधमा बिहीबार गुद्री बजार पूर्ण रुपमा बन्द गरिएको छ। दुई सय बढी पसल बन्द गरिएका हुन्।

व्यवसायीले विराटनगरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरेका छन्। राजनीतिक दबाबका कारण घटना भएको एक सातासम्म मुख्य दोषीलाई पक्राउ गरेर कारबाही नगरिएको र उन्मुक्ति दिने प्रयास भइरहेको विरोधमा आन्दोलन सुरु गरिएको शब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव साहव अहमद् गुड्डुले बताए। भने, ‘आन्दोलनका कारण गुद्री बजारमा माछा, मासु, शब्जी र फलफूलको किनबेच पूर्ण रुपमा ठप्प पारिएको छ।’

उनका अनुसार दोषीमाथि कारबाहीको माग गर्दै दुई सय बढी व्यवसायी प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए। ‘घटनाको विरोधमा विराटनगरका मुख्य चोक र सडकमा व्यवसायीले एकजुट भएर प्रदर्शन गरे,’ गुड्डुले भने, ‘दोषीमाथि कारबाहीको माग गर्दै प्रशासन कार्यालय घेराउ गरेर प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण समेत गरियो।’

गुण्डा समूहले यही माघ ५ गते अर्थात् शुक्रबार राति सांघातिक आक्रमण गरेर ४९ वर्षीय व्यवसायी भगतलाई घाइते बनाएको छ। देब्रो घुँडाको हड्डी, ढाड, हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ। घुँडा आधा भन्दा बढी काटिएका कारण शल्यक्रिया नै गर्नु परेको उपचारमा संलग्न बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीपकुमार गुप्ताले बताए। गुद्रीमा रहेको शब्जी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा बाटो ढुकेर बसेको गुण्डा समूहले भगतमाथि खुकुरी प्रहार गरेको थियो।

घटनामा संलग्न विराटनगरकै मोहम्मद सिद्धिकीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिसकेको छ। घटनाको मुख्य योजनाकार एलिश गुरुङ नै रहेको अनुसन्धानबाट खुलिसकेको प्रहरीले जनाएको छ।

प्रहरीले एमालेमा आवद्ध भएर राजनैतिक आडमा गुण्डागर्दी, ठेक्का पट्टा, असुली एवं विभिन्न आक्रमणका घटना र अपराधिक गतिविधिमा उनको संलग्नता रहँदै आएको जानकारी दिएको छ। १० वर्ष भन्दा लामो समयदेखि राजनीतिक छत्रछाँयामा असूली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरुङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीको भनाइ छ। तर उनले राजनीतिक दबाबका भरमा उन्मुक्ती पाउँदै आइरहेका छन्।

‘घटनाको मुख्य योजनाकारको पहिचान भइसक्दा पनि पक्राउ गरे कारबाही गरिएको छैन,’ गुड्डुले भने, ‘त्यसको विरोधमा आन्दोलन नै गर्नु परेको हो।’ उनले स्थानीय प्रहरी प्रशासनले घटनालाई सामान्य रुपमा लिएका कारण विराटनगरमा व्यापार व्यवसाय गर्दै आएकाले असुरक्षित महसुस गर्नु परिरहेको गुनासो गरे। गुड्डुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर विभिन्न माग पनि राखिएको जानकारी दिए। उनका अनुसार व्यापारीमाथि सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी हुनु पर्ने, अपराधीलाई गरिने राजनैतिक संरक्षण बन्द गर्नु पर्ने, व्यवसायीमाथि आक्रमण गर्नेलाई कारवाही गर्नु पर्ने, राजनीतिक दल भित्रका गुण्डा र अपराधीको सदस्यता खारेज गर्नु पर्ने, विराटनगरमा विशेष सुरक्षा योजना लागू गर्नु पर्ने, अपराध र गुण्डागर्दीलाई निमिट्यान्न पार्नु पर्ने लगायतका माग राखिएको छ। दोषीलाई पक्राउ गरेर तत्काल कारवाही अघि नबढाइए आन्दोलनलाई शसक्त बनाइने उनले बताए।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनाका मुख्य योजनाकार गुरुङ फरार रहेका कारण खोजीलाई भने तीव्र पारिएको बताए। भने, ‘घटनाको योजना बनाएर गुरुङ काठमाडौं गएको पाइयो। घटनापछि फरार रहेका कारण खोजीका लागि विशेष टोली नै परिचालन गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अपराधिक घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याएरै छाडिने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.