आज राष्ट्रिय धान दिवस

धान दिवस मनाइँदै, खेत भने बाँझै

धान दिवस मनाइँदै, खेत भने बाँझै

असार १५ मा किसानले दही चिउरा खाँदै धान रोप्नुपर्ने हो। तर, सिँचाइ र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धान बीउ सुक्दै जाँदा किसान थप चिन्तित छन्। सरकारी आँकडाअनुसार यो  वर्ष देशभर १५ दशमलव ६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। 

कृषि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ  कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम  प्रदेशमा ४५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ। सबैभन्दा कम मधेस  प्रदेशमा ३ दशमलव ९ प्रतिशत मात्र रोपाइँ गरिएको छ। कोशी प्रदेशमा १४  दशमलव ३ प्रतिशत, बागमतीमा २० दशमलव ५, गण्डकीमा १३ दशमलव ८, लुम्बिनीमा २०  दशमलव ८ र कर्णाली प्रदेशमा ३९ दशमलव १ प्रतिशत रोपाइँ सकिएको कृषि  विभागले जनाएको छ। 

लुम्बिनीमा गत वर्षभन्दा १० प्रतिशत कम रोपाइँ

लुम्बिनी  प्रदेशमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत रोपाइँ कम भएको छ। गत  आर्थिक वर्षको यस अवधिमा ३० प्रतिशत रोपाइँ भएको थियो। यसवर्ष २० दशमलव  ८ प्रतिशत मात्र रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू  धानखेतीका लागि उर्वर मानिन्छन्। देशभरकै उत्पादनको महत्वपूर्ण हिस्सा यो  प्रदेशले ओगट्छ। 

कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका कृषि प्रसार  अधिकृत नवीन गैरेका अनुसार यस वर्ष लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा बढी  रोपाइँ प्यूठानमा भएको छ। प्यूठानमा छिटो रोपाइँ हुने र सि“चाइ गर्ने  पानीको अभाव नहुने भएकाले रोपाइँ धेरै भएको गैरेले जानकारी दिए।  बाह्रैमहिना बगिरहने झिमरुक नदीसहित विभिन्न साना खोलाहरू प्यूठानमा  बगिरहन्छन्। प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुलादेखि दाखाक्वाडी  बेलुवासम्मको समतल फाँटमा बाहै्रमहिना झिमरुक नदीले सिंचित गर्छ। प्यूठानकै  महत्वपूर्ण धान उत्पादनको हिस्सा यही झिमरुक फाँटले लिएको छ।  आकाशे पानीको भरपर्दा बाँकेमा असार १५ गतेसम्म शून्य दशमलव ५ र  कपिलवस्तुमा १ दशमलव ५८ प्रतिशत मात्रै रोपाइँ भएको छ। पहाडी  जिल्लामध्ये पाल्पामा ४ र गुल्मीमा ७ प्रतिशत रोपाइँ पूरा भएको छ।  धानखेतीको उर्वरभूमि मानिने रुपन्देहीमा ४३ प्रतिशत रोपाइँ भएको छ। रूपन्देहीमा कुल ८९ हजार ३ सय ८४ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ। त्यसमध्ये  २७  हजार ३ सय २६ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ सकिएको छ।  कपिलवस्तु  पनि धानखेतीको महत्वपूर्ण जिल्लाको रूपमा मानिन्छ। 

यहाँ कुल खेतीयोग्य ८८  हजार ९ सय ७३ हेक्टर क्षेत्रफल जग्गामध्ये असार १५ सम्म १ हजार ५० हेक्टर  क्षेत्रफल जग्गामा मात्र रोपाइँ भइसकेको कृषि निर्देशनालय लुम्बिनी प्रदेशले  जनाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कुल ३९ हजार ४ सय ७ हेक्टर  क्षेत्रफल जग्गामध्ये १० हजार ४ सय ४३ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ पूरा  भएको छ। 

लुम्बिनीको एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा १९ हजार ३ सय ९५  हेक्टर क्षेत्रफल जग्गा रोपाइँका लागि खेतीयोग्य भए पनि यहाँ ३ सय ५४ हेक्ट  क्षेत्रफल जग्गामा मात्र रोपाइँ गरिन्छ। त्यसमध्ये हालसम्म ८८ दशमलव ५ हेक्टर  क्षेत्रफल जग्गामा रोपाइँ गरिएको छ। कुल ७४ हजार ३ सय ३६ हेक्टर  खेतीयोग्य क्षेत्रफल जग्गामध्ये दाङमा ५ हजार ४ सय ३० हेक्टर क्षेत्रफल जग्गामा  रोपाइँ गरिएको छ। धान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम)मा जिल्लास्थित कृषि ज्ञान केन्द्रको सहकार्यमा रोपाइँ  गरेर दिवस मनाउँदै छ। लुम्बिनीमा पनि विगतका वर्षजस्तै मलको अभाव यथावत्  रहेको निर्देशनालयका कृषि प्रसार अधिृकत नवीन गैरेले जानकारी गराए। 

ब्याडको बीउ सुक्न थाल्यो, मल खोज्न कहाँ जाने ?    
कुनै बेला मधेसका समथर फाँट यतिबेला किसानको हाँसो र उमंगले गुञ्जिन्थे। हिलोमा खेल्दै असारे गीतको लय हाल्दै किसानहरू धान रोपाइँ गर्न व्यस्त हुन्थे। असार १५ मधेसका लागि उत्सव नै हुन्थ्यो। तर, यो वर्ष किसानको उमंग हराएको छ, मल र सि“चाइको अभावमा चिन्ता थपिएको छ। मधेसका फाँटहरू बाँझै छन् भने किसानहरू आकाशतर्फ हेर्दै भगवान् इन्द्रसँग पानीका लागि प्रार्थना गरिरहेका छन्।

समयमा पानी र मल नपाउँदा मधेसका लाखौं किसान हैरान छन्। कुनै समय गोठमा गोरु हुन्थे, खेतमा प्रांगारिक मल सहजै पुग्थ्यो। तर, जब खेतका फाँटहरूमा ट्र्याक्टर भित्रिए, गोठ खाली भए। खेतमा रासायनिक मलको भर पर्नुपर्ने स्थिति आयो। अर्कोतर्फ, चुरे वन विनाश हुनु र नदीनालामा पानी सुक्नुले वर्षाको प्राकृतिक चक्र नै खलबल्याई दिएको छ। फलस्वरूप, अहिले असार १५ असार १५ जस्तो रहन हुन सकेन।

महोत्तरीको बर्दिबास नगरपालिका—९ का ५५ वर्षीय भीमबहादुर आले पुस्तौंदेखि धान खेती गर्दै आएका छन्। उनले यस वर्ष १० कट्ठामा धान खेती गरेका छन्। चार दिनअघि मात्रै धान रोपे। तर, यो रोपाइँ उनका लागि निकै कठिन बन्यो। उनी पर्याप्त वर्षाको पर्खाइमा थिए, तर रोपाइँका लागि अनुकूल वर्षा भएन। अन्नको भण्डार मानिने मधेसमै किसानहरू धान रोपाइँका लागि यसरी पिरोलिनु परेको छ। उन्नत बीउ, मल र सिँचाइको अभावले किसानको अवस्था दयनीय बनेको छ।

भीमबहादुर भन्छन्, ‘पहिले जस्तो धान रोपाइँको उत्सव अहिले छैन। पर्याप्त वर्षा भए पो मज्जाले रोपाइँ गर्नु। डिप बोरिङबाट सिँचाइ गरेर जसोतसो धानको बीउ हालेको छु, हेरौं अब के हुन्छ।’ उनले यसपालि चाँडै पाक्ने ‘हर्दिनाथ’ जातको धान रोपेको उनले बताए।  भीमबहादुरले धान त रोपे, तर मल बिना नै। उनले बजारमा मल नखोजेका होइनन्, सरकारी कोटाको मल लिन गाउँको वितरण केन्द्रमा नधाएका पनि होइनन्। तर, उनको हातमा एक मुठी पनि मल परेन। अन्ततः उनले खेत हिल्याएर जसोतसो रोपाइँ टुंग्याए।

उन्नत बीउको अभाव, मलको हाहाकार र सिँचाइको सकसले धान खेती वर्षैपिच्छे प्रभावित बन्दै गएको छ। धान उत्पादनमा कमी आउँदा भारतबाट चामल आयात तीव्र रूपमा बढेको देखिन्छ। ‘मल पाए पो धान मनग्य फल्छ ! किसानको हातमा न समयमा बीउ हुन्छ, न मल पर्छ, न त समयमा वर्षा नै हुन्छ। विचरा किसानले गरोस् त के गरुन ?’ उनी थप्छन्, ‘यति धेरै दुःख गरेर धान उत्पादन गरे पनि उब्जनीको उचित मूल्य पाइँदैन। सबैतिरबाट किसान नै मारमा परेका छन्।’

सरकार भन्छ, ‘मल पठाइसक्यौं,’ किसान भन्छन्, ‘खै त मल ?

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेस प्रदेशले भने किसानका लागि नियमित रूपमा मल आपूर्ति गरिरहेको दाबी गरेको छ। मन्त्रालयका अनुसार बफर मौज्दातबाट ५०० मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडको बफर स्टकबाट १,५०० मेट्रिक टन गरी कुल १,५०० मेट्रिक टन तथा थप १,००० मेट्रिक टन डीएपीसहित कुल २,५०० मेट्रिक टन मल बाँडफाँट गरिएको छ।

मन्त्रालयले सप्तरीमा ३३२ मेट्रिक टन, सिरहामा ३६५.८ मेट्रिक टन, धनुषामा ३१५.९ मेट्रिक टन, महोत्तरीमा ३००.२ मेट्रिक टन, सर्लाहीमा ३७२.८ मेट्रिक टन, रौतहटमा २९८.६ मेट्रिक टन, बारामा २७९.५ मेट्रिक टन र पर्सामा २३४.४ मेट्रिक टन मल वितरण गरिएको जनाएको छ ।

सरकारी तथ्यांकले मल पर्याप्त देखाए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। सरकारले स्थानीय तहमार्फत मल व्यवस्थापन गरेको त छ, तर वितरण प्रणाली हचुवाको भरमा भइरहेको किसान भीमबहादुर आलेको आरोप छ। ‘कुनै वडामा थोरै किसान छन् त कुनैमा धेरै। तर, नगरपालिकाले सबै वडामा दामासाही (बराबर) हिसाबले मल वितरण गर्छ। यो कार्यमा सुधार गरिनुपर्छ। वास्तविक तथ्यांकका आधारमा मात्र मल, बीउ र अन्य सुविधाहरू वितरण गरिनुपर्छ,’ उनी भन्छन्।

मन्त्रालयका प्रवक्ता मनीष पालले मलखादको अभाव हुन नदिने गरी मन्त्रालय लागिपरेको जानकारी दिए। डिलरहरूले किसानहरूलाई सन्तुलित रूपमा मल वितरण गरे/नगरेको वा यसमा लापरबाही भए/नभएको विषयमा अनुगमन भइरहेको उनले बताए। यद्यपि, उनले वास्तविकता स्वीकार गर्दै थपे, ‘मलको माग र आपूर्तिमा असन्तुलन छ। किसानलाई आवश्यक परेको समयमा सोही अनुसार आपूर्ति गर्न सकिएको छैन। अब डीएपी आउने सम्भावना कम छ, तर युरिया मल ल्याउने तयारी भइरहेको छ।’

धानको पकेट क्षेत्र मधेसमै करिब ५ प्रतिशत मात्र रोपाइँ

ब्याडमा हरियो धानको बीउ तयार छ। खेत जोतेर किसानहरूले माटो उर्वर बनाइसकेका छन् र धान रोप्न तमतयार छन्। तर, रोपाइँका लागि मुख्य आवश्यक तत्व वर्षा नै भइरहेको छैन। किसानहरू आकाशे पानीको प्रतीक्षामा छन्। जब पानी दर्किन्छ, तब मात्र उनीहरू हलो–जुवा र बीउ लिएर खेतमा पस्ने योजनामा छन्।

सिँचाइ, मल र बीउको चरम अभावले धान खेती गर्ने किसानहरू पिरोलिएका छन्। बर्दिबास नगरपालिका—१३ बिजलपुराका ५८ वर्षीय किसान रामप्रकाश महतो धान खेतमा सिँचाइ गर्न रातभर जाग्राम बस्ने गर्छन्। उनी १५ कट्ठामा धान रोपाइँ गर्ने तयारीमा छन्। वर्षा नहुँदा उनले डिप बोरिङबाट पानी तानेर खेत भर्ने प्रयास गरिरहेका छन्, तर मल नपाउँदा उनी उत्तिकै चिन्तित छन्। उनी भन्छन्, ‘मल र जल भए पो मनग्य धान फल्छ। सधैं 
रोपाइँका बेला किसानलाई मल र जलकै पिरलो हुन्छ। सरकार मूकदर्शक बन्छ, हामी किसानले मात्र के नै गर्न सक्छौं र ?’

असार १५ सम्म मधेस प्रदेशमा यस वर्षको धान रोपाइँ अपेक्षाकृत रूपमा निकै सुस्त देखिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि निर्देशनालय, नक्टाझिजका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष प्रदेशभर धान रोप्न योग्य कुल ५,४९,३५६.३८ हेक्टर क्षेत्रफलमध्ये ३,८२,४३३ हेक्टरमा रोपाइँ गर्ने लक्ष्य राखिएको छ। तर, हालसम्म केवल १६,७११ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको मात्र ४.३६ प्रतिशत हो।

  •     यो वर्ष देशभर १५ दशमलव ६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। 
  •     सबैभन्दा धेरै सुदूरपश्चिम  प्रदेशमा ४५ दशमलव ५ प्रतिशत र सबैभन्दा कम मधेसमा ३ दशमलव ९ प्रतिशत मात्र रोपाइँ।
  •     सिँचाइ, मल र बीउको चरम अभावले धान खेती गर्ने किसान पिरोलिएका
  •     कर्णालीमा अधिकांश खेती वर्षाको भरमा हुने भएकाले समयमा पानी नपर्दा किसान प्रभावित भएका छन्।
  •     कहिले अत्यधिक वर्षा त कहिले लामो समयसम्म खडेरी पर्ने क्रम बढ्दै जाँदा खेती प्रणाली नै चुनौतीपूर्ण बन्दै गएको जलवायु विज्ञको भनाइ

मधेसका जिल्लाहरूमध्ये महोत्तरीमा सबैभन्दा धेरै रोपाइँ भएको छ भने पर्सा र रौतहटमा रोपाइँको खाता नै खुलिसकेको छैन। महोत्तरीमा ४० हजार हेक्टर रोपाइँ योग्य क्षेत्रमध्ये ३,२६६ हेक्टरमा रोपाइँ सम्पन्न भई ८.१७ प्रतिशत प्रगति भएको छ। धनुषा र बारामा ७/७ प्रतिशत, सिराहा र सप्तरीमा समान ५–५ प्रतिशत तथा सर्लाहीमा जम्मा २.५ प्रतिशत मात्र धान रोपाइँ भएको तथ्यांक छ।

धान रोपाइँमा पर्सा र रौतहट निकै पछाडि परेका छन्। असार १२ गतेसम्म यी दुई जिल्लामा धान रोपाइँ सुरु नै हुन नसकेको कृषि निर्देशनालयले जनाएको छ। यी जिल्लाहरूमा मनसुन सक्रिय नहुनु, पर्याप्त वर्षा नहुनु र सिँचाइको वैकल्पिक व्यवस्था नहुनु नै यसको मुख्य कारण हो।

जलवायु परिवर्तनका कारण चुरे क्षेत्रबाट बग्ने नदीहरूको जलस्तर घट्दा कोशी, कमला र बागमती जस्ता ठूला सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा समेत पर्याप्त पानी पुग्न सकिरहेको छैन। पर्सामा रहेको गण्डक नहरको कमान्ड क्षेत्रमा पनि उस्तै समस्या छ, जसले गर्दा धेरै ठाउँमा रोपाइँ प्रभावित भएको छ।

कृषि निर्देशनालय मधेस प्रदेशका प्रमुख जितेन्द्र यादवका अनुसार मधेसमा वास्तविक रूपमा धान रोपाइँ सुरु हुने समय भर्खरै भएको हो। उनी भन्छन्, ‘असार १५ पछि मधेसमा व्यापक रूपमा धान रोपाइँ सुरु हुन्छ र साउनको पहिलो सातासम्म यो सिजन चल्छ।’ हालसम्म मधेस प्रदेशमा करिब ५ प्रतिशत मात्र रोपाइँ भएको बताउँदै उनले छिटफुट वर्षा भए पनि रोपाइँका लागि पर्याप्त पानी नपरेको स्पष्ट पारे।

फेरि गत वर्षकै नियति दोहोरिने त होइन ?       
मधेस प्रदेशमा ११ लाख ५६ हजार ७ सय १५ परिवारको बसोबास छ, जसमध्ये अधिकांश परिवार कृषिमा नै निर्भर छन्। मधेसभरिका धानका फाँटहरू अहिले वर्षाको प्रतीक्षामा छन्। सिँचाइ सुविधा भएका केही किसानले मात्र रोपाइँ सुरु गरेका छन्, तर आकाशे पानीको भरमा खेती गर्ने बहुसंख्यक किसान भने ठूलो समस्यामा छन्।

गत वर्ष पनि खडेरीका कारण धान खेती नराम्ररी प्रभावित भएको थियो। यसपालि पनि रोपाइँको मुख्य सिजनमा वर्षा कम हुने मौसम विभागको आकलन छ। नेपालको ‘अन्न भण्डार’ मानिने मधेस प्रदेशमा धानको औसत उत्पादन प्रतिहेक्टर करिब ३.५ देखि ४ टनसम्म हुने गर्छ। तर, यो उत्पादन पूर्णरूपमा अनुकूल मनसुन, सिँचाइको व्यवस्था र मलखादको उपलब्धतामा नै निर्भर रहने किसानहरू बताउँछन्।

null


कर्णालीमा धान रोपाइँ सुस्त, उत्पादन घट्ने

असार महिना आधा हुँदा पनि कर्णाली प्रदेशका अधिकांश धान खेती हुने खेतहरू बाँझै छन्।  समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ सुस्त बनेको छ। मनसुन नेपाल प्रवेश गरे पनि अपेक्षाअनुसार पानी नपरेपछि किसानहरू रोपाइँ गर्न नपाएर उत्पादन घट्ने चिन्तामा छन्।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कर्णाली प्रदेशमा हालसम्म २२ दशमलव ८ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ३९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो। यसरी हेर्दा यस वर्ष रोपाइँको गति १६ दशमलव ३ प्रतिशतले घटेको छ। 

कर्णालीमा अधिकांश खेती वर्षाको भरमा हुने भएकाले समयमा पानी नपर्दा किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। सिँचाइ सुविधा सीमित भएकाले खेतमा पानी जम्न नसक्दा धानको बेर्ना तयार भए पनि रोप्न नसकिएको अवस्था छ। धेरै ठाउँमा किसानहरूले आकाशतर्फ हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले यस वर्ष मनसुन सक्रिय भए पनि कर्णालीमा आवश्यक मात्रामा वर्षा हुन नसक्दा रोपाइँ प्रभावित भएको बताए। उनका अनुसार आगामी केही दिनभित्र पर्याप्त वर्षा भए रोपाइँको गति बढ्न सक्ने अपेक्षा गरिएको छ। तर, लामो समयसम्म पानी नपरे उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेको उनको भनाइ छ।

सुर्खेतका किसान अनुप चौधरीले यस वर्ष समयमै वर्षा नहुँदा रोपाइँ गर्न असहज भएको बताए। बेर्ना तयार छ, खेत जोतिसकेका छौं तर पानी नहुँदा रोप्न सकेका छैनौं, उनले भने, अहिले रोपाइँ ढिलो भयो भने उत्पादन घट्ने मात्र होइन, बाली पाक्ने समय पनि पछाडि सर्छ।

उनका अनुसार वर्षाको भरमा खेती गर्ने किसानका लागि असारको प्रत्येक दिन महत्वपूर्ण हुन्छ। ढिलो रोपाइँ हुँदा मल व्यवस्थापन, गोडमेल र बाली भित्र्याउने समयसमेत प्रभावित हुने भएकाले यसले समग्र उत्पादनमा असर पार्ने उनले बताए।

कृषि विकास कार्यालयका कृषि विकास अधिकृत महेश विष्टले कर्णालीमा धान खेती मुख्य रूपमा वर्षामै निर्भर रहेको बताए। सिँचाइ सुविधा विस्तार हुन नसक्दा मनसुन कमजोर हुनेबित्तिकै खेती प्रभावित हुने गरेको उनले बताए। समयमै पर्याप्त वर्षा भए अझै पनि धेरै क्षेत्रमा रोपाइँ पूरा गर्न सकिन्छ। बिष्टले भने, तर वर्षा ढिलो हुँदै गएमा धानको उत्पादन घट्ने जोखिम बढ्छ।

कर्णालीमा धान मुख्य खाद्यान्न बालीका रूपमा उत्पादन हुने भएकाले यसको उत्पादन घट्दा खाद्य सुरक्षामै असर पर्ने सरोकारवालाहरूको भनाइ छ। प्रदेशका अधिकांश ग्रामीण परिवारको जीविकोपार्जन कृषि नै भएकाले धान उत्पादनमा आएको कमीले किसानको आम्दानी र खाद्यान्न आत्मनिर्भरतामा समेत प्रभाव पार्नेछ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा वर्षाको समय र मात्रा अनियमित बन्दै गएको छ। कहिले अत्यधिक वर्षा त कहिले लामो समयसम्म खडेरी पर्ने क्रम बढ्दै जाँदा खेती प्रणाली नै चुनौतीपूर्ण बन्दै गएको जलवायु विज्ञ सुमित ठकुरीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.