ट्राफिक व्यवस्थापन गर्न बुटवलमा बाइपास
बुटवल : बुटवलको मुख्य सडकमा ट्राफिक जाम व्यवस्थापन गर्न वैकल्पिक सडक निर्माण थालिएको छ। बुटवल उपमहानगरपालिकाले सहरमा हुने ट्राफिक जाम न्यूनीकरण गर्न दीर्घकालीन योजनासहित सडक निर्माण थालेको हो। प्रदेश ५ को अस्थायी राजधानी भएसँगै बुटवलको पार्किङ व्यवस्थापन चुनौतीपूर्ण भएको छ। मुख्य सडकमा यातायातका साधनको चाप घटाउन आन्तरिक बाइपास सडक निर्माणदेखि ठूला साधन पार्किङस्थल निर्माणसमेत सुरु भएका छन्।
पहिलो चरणमा जोगीकुटीदेखि ट्राफिकचोकसम्मको सडकमा यातायातको चाप व्यवस्थापन गर्ने योजनासहित दुई बाइबास सडक निर्माण हुँदै छन्। जोगीकुटीदेखि नेपालगन्ज रोडसम्मको कालिका पथलाई ८२ फुटमा विस्तार गर्ने काम सुरु भएको छ। जसका लागि नगरपालिकाले ६३ करोड रकम विनियोजन गरेको छ। ‘यो सडक निर्माणले ठूला साधनका लागि पनि बाइपास बन्नेछ’, नगरप्रमुख शिवराज सुवेदीले भने, ‘यसले बुटवलमा हुन सक्ने सडक जामलाई आधा घटाउँछ।’
बुटवल उपमहानगरले नगरको विकासका लागि दीर्घकालीन महŒवका योजना सञ्चालन गरिएको छ। वाइबास सडक विस्तारमा केही घरसमेत भत्काउनुपर्ने भएको छ। भत्काइने ती संरचनामा चिह्नसमेत लगाइएको छ। यो बाइपासले महेन्द्र र सिद्धार्थ राजमार्गको वैकल्पिक सडक तयार गर्नेछन्। मुख्य सडकको चाप घटाउन पूर्वीराजमार्गसँग जोडिने गरी श्रवणपथलाई विस्तार गरिँदै छ। अस्पताललाइनबाट सुरु हुने सडक विस्तार बेसक्याम्पसम्म पुग्नेछ। यसको विस्तृत योजना निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
उपमहानगरले ट्रक पार्किङको समस्या समाधान गर्न बुटवलको वार्ड नम्बर १२ मा पार्किङस्थल निर्माण सुरु भएको जनाएको छ। ‘पहिलो चरणमा भारवहन गर्ने साधनको पार्किङस्थल बन्छ’, नगरप्रमुख सुवेदीले भने, ‘दोस्रो चरणमा बसपार्क निर्माण गर्नेछौं।’ बुटवलभित्र पार्किङका लागि स्थान खोज्ने काम भइरहेको छ। बालमन्दिर परिसर र हाटबजारलाई वैकल्पिक पार्किङस्थलका रूपमा प्रयोग गर्ने विषयमा समेत छलफल भइरहेको नगरप्रमुख सुवेदीले जानकारी दिए।
बुटवलमा अव्यवस्थित रूपमा सञ्चालित अटो रिक्सा व्यवस्थान गर्न ऐन नहुँदा अप्ठ्यारो भएको बताइएको छ। बुटवलमा मात्रै झन्डै ३ हजार अटो रिक्सा सञ्चालनमा छन्। उपमहानगरका सहरोन्मुख वडामा समेत सहज यातायात पहुँच विस्तार गर्न काम भइरहेको प्रमुख सुवेदीले बताए। ट्राफिक व्यवस्थापनमा चुनौती थपिएपछि ट्राफिक प्रहरीले पिक आवरमा थप जनशक्ति खटाएको छ। बिहान ८–११ र दिउँसो ३–६ बजेसम्म बढी साधनको चाप हुने गरेको छ।
ट्राफिक व्यवस्थापनसँगै उपमहानगरले अन्य योजनासमेत निर्माण सुरु गरेको छ। फोहोर व्यवस्थापनका लागि देवदह नगरपालिकासँग समन्वय गरी अत्याधुनिक फोहोर प्रशोधन निर्माणको काम अघि बढाउन लागेको छ। दैनिक ७३ टन फोहोर प्रशोधन गर्दै मल बिक्री गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न अञ्चल अस्पतालसहित निजी स्वास्थ्य संस्थाको समन्वयमा प्रशोधन केन्द्र खोलिने भएको छ।
पर्यटन प्रवद्र्धन, खेलकुद मैदान निर्माणदेखि स्वास्थ्योपचारका कामसमेत अघि बढेको प्रमुख सुवेदीले जानकारी दिए। पर्यटन प्रवद्र्धनका लागि बुटवलको हिलपार्कमा ठूलो आकृतिको बुद्धको मूर्ति राख्ने योजना छ। जितगढीको प्रवद्र्धन गर्दै संग्रहालय र मणिमुकन्द सेन उद्यानको विकास गर्ने योजना नगरपालिकाले बनाएको छ। जवई खेलकुद मैदानलाई बहुउपयोगी मैदानका रूपमा विकास गर्ने योजना नगरपालिकाले अघि बढाएको छ। मैदानमा ब्याडमिन्टन कोर्ट, बास्केटबल र फुटवल खेल्न मिल्ने पूर्वाधार बनिसकेको छ।
लामो समयसम्म सञ्चालन हुन नसकेको बधशाला सञ्चालन गर्ने तयारी भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। सुरुमा कुखुरा र खसी मात्रै काट्ने गरी बधशाला सञ्चालन गर्न लागिएको छ। नगरपालिकाले ५ सय युवालाई स्वरोजगार दिने गरी तालिम प्रदान गर्ने योजनासमेत बनाएको छ। स्वास्थ्य सेवा सुधार, शिक्षा ऐन निर्माण प्रक्रिया सुरु भएको प्रवक्ता रेग्मीले बताए। स्थानीय सरकार बनेसँगै तहमा गाभिएका कार्यालय व्यवस्थापनको काम भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !