अपहरणपछि आठ वर्षीय बालकको हत्या
जनकपुरधाम : धनुषामा आठ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ। कमला नगरपालिका ८ का प्रमोद साहका आठ वर्षीय छोरा रमण साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालकको शव आइतबार बिहान गाउँ नजिकैको नहरमा फालिएको अवस्थामा भेटिएको हो।
शनिबार साँझ घरबाट बेपत्ता भएका रमणको शव स्थानीयवासीले नहरको पानीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘मृत बालकको शरीरभरी घाउचोट र नीलडाम देखिएकाले अपहरणपछि निर्ममतापूर्वक हत्या गरिएको हुन सक्ने हाम्रो अनुमान छ,’ धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भने ।
मृतक बालकको अपहरण र हत्या किन र कसबाट भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको र दोषीको पत्ता लगाउने कार्य भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !