जितगढीमा कसरी जितेको थियो नेपालले अंग्रेजलार्इ ?

जितगढीमा कसरी जितेको थियो नेपालले अंग्रेजलार्इ ?

आज वैशाख ७ । आजको दिनलाई जितगढी विजय दिवसका रूपमा मनाउने निर्णय गरिएको छ । जितगढी भन्नासाथ नेपाल-अंग्रेज युद्धको त्यो गढीलाई बुझिन्छ, जहाँ नेपालले विजय प्राप्त गरेको थियो । इतिहास स्मृतिहरूको अभिलेख हो । इतिहास बिर्सनु स्मृति गुम्नु हो । स्मृति गुम्दा आफ्नै पहिचान पनि बिर्सिइन्छ । लामो समयसम्म जितगढीको इतिहास पनि विस्मृतिमा राखिएको थियो ।

यसपालिदेखि जितगढी राज्यको स्मृतिमा अटाउन आइपुगेको छ । यो सुखद पक्ष हो । जितगढीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाइएको छ । तर जितगढीको इतिहास नबुझी यसको महत्व पनि बुझिँदैन । यो लेख त्यही महत्वबारे चर्चा गर्ने प्रयास हो । अंग्रेजको आक्रमण

भारतमा बसी चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट-इन्डिया कम्पनीले सन् १८१३ मा एकाधिकार गुमायो । उसले चीनसँगको व्यापार र चिया व्यापारमा मात्र एकाधिकार प्राप्त गर्‍यो । त्यसकारण कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमिको आवश्यकता पर्‍यो । त्यस्तो भूमि नेपालभित्र मात्र थियो । नेपालसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेको थियो । त्यसैले उसले नेपालसँग किचलो हुने विन्दुहरूको खोजी गर्न थाल्यो । त्यसमध्ये एक थियो बुटवल-स्युराज खण्ड ।

नेपाल एकीकरण नगर्दै पाल्पाली सेन राजाले अवधको नवाबलाई निश्चित रकम तिरेर सेनहरूले बुटवललगायतका भूभाग उपभोग गर्दै आएका थिए । पछि अवध कम्पनी सरकारको मातहत गयो । यता पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भयो । पुरानो सम्बन्ध टुंगिएपछि कम्पनी सरकार र नेपाल सरकारबीच विवाद सुरु भयो । कम्पनी सरकारले बुटवलसम्मको भूभागमा आफ्नो अधिकार भएको दाबी गर्‍यो ।

नेपालले बुटवल र स्युराजवरिपरिका भूभाग पनि नेपालकै हुनुपर्ने दाबी नेपालको थियो । त्यस्तै जनरल अमरसिंह थापाले कम्पनी सरकारको साम्राज्यवादविरुद्ध पन्जाब केशरी रणजितसिंहलाई तेह्र सवाल (बँुदा) भएको पत्र लेखेकाले पनि कम्पनी सरकार आगो भएको थियो । यहि परिप्रेक्ष्यमा नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धिको धारा ५ मा भएको बन्दोबस्त उल्लंघन गर्दै युद्ध घोषणा गर्‍यो । उक्त धारामा ‘दुई देशबीच सीमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तका आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ उल्लेख थियो ।

पूर्वको बाईस मौजा, बुटवल र स्युराजको विषयमा खिचलो उठाई सन् १८१४ नोभेम्बर १ मा हेस्टिङका माक्र्युसले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरे । अंग्रेजले पाँच ठाउँबाट आक्रमणको तयारी गरेको थियो । त्यसमध्ये एक थियो बुटवल खण्ड । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दुस्तानी फौज लिई तैनाथ भएका थिए ।

नेपालको पश्चिमका अभेध किल्लाका रूपमा रहेका सैनिक अखडालाई राजधानीबाट सम्पर्क टुटाई दानापुरबाट आएको फौजसँग मिल्ने योजना गरी उनको फौज बनारसबाट गोरखपुरमा १५ नोभेम्बर १८१४ का दिन आइपुगे । नेपालको तयारी

आफ्ना जासुसबाट कहिल्यै सत्य कुरा थाहा नपाएका र मनोबल गिरेका जनरल जोन सुलिभान उडले यो लडाइँ गरिरहनु त्यति युक्तिसंगत देखेनन् । दोस्रोपटक पनि आफ्नै फौजलाई युद्ध मैदानबाट फिर्ता हुने आदेश दिए ।
 

कम्पनी सरकारले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेपछि नेपाल पनि आफ्नोे तयारीमा जुट्न थाल्यो । बुटवल बजारछेउ भएर बग्ने तिनाउ नदीको किनारमा रहेको जितगढीबाट उठेको पहाडको टुप्पामा नुवाकोट गढाी थियो । त्यो बाटो भएर पहाडैपहाड पाल्पा जान्थ्यो । पाल्पा जाने बाटो छेकिने भएकाले नै त्यहाँ गढी बनाइएको थियो । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका भतिजा कर्णेल उजीर सिंह थापा नुवाकोट गढीमा खटेका थिए । त्यस्तै पाँच सय नफ्री (सैनिक शक्ति) भएको गुरु बक्स गुल्मका दुई सय जवान र सबुज पल्टनको पाँच टुकडी लिई वीरभञ्जन पाण्डे जितगढीमा खटे ।जितगढीको युद्ध

पाल्पा हान्न आएका जनरल उडले दुईवटा बाटाहरू अपनाए । एउटा, पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने । अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा हान्ने । पहिलो योजनाअन्तर्गत नुवाकोट पुग्दा नुवाकोटगढीको वरिपरि तीन माइलसम्म खानेपानीको अभाव रहेको जानकारी पाएपछि उनी अलमलिए । सिउरा क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरू सबै फौज र तोप लिएर उनी सन् १८१५ जनवरी ३ मा बुटवलतिर लागे । घना जंगल भएको बाटो त्यसमा पनि ढड्डीको जंगलले बाटो तय गर्न पनि कम्पनी फौजलाई गाह्रो परेको थियो । फौज मार्च गर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र साथमा रहन गएको थियो । आफू पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४०÷५० गज पर किल्लाजस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रदर्शकको रूपमा आएका कनकनिधि तिवारीलाई खोजे । तर तिवारीको केही पत्तो लागेन ।

बाध्य भएर उडले इन्जिनियरको एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । उनले वरिपरि हेर्दा किल्ला खाली जस्तो देखेर फर्कन मात्र के लागेका थिए, किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुईजना त्यहीं ढले, अरू बाँचेर भागे । केही समयपछि कम्पनीका फौजहरू एकत्रित भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाँडे । एउटा समूहलाई क्रोकरको नेतृत्वमा पठाए भने अर्को समूहलाई आपैmंले नेतृत्व गरी अगाडि बढे । नेपाल र अंग्रेजबीच घमासान युद्ध भयो । किल्लाको दाहिने तिरबाट हमला गर्नेहरूको टोलीबाट सरदार सूर्य थापाले वीरगति प्राप्त गरे । यसैबखत कर्णेल उजीर सिंह थापाले नुवाकोटमा रहेको बाँकी फौज लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न थाले । लडाइँमा कम्पनी फौजका ब्रिगेड मेजर हेट र इन्जिनियरका लेफ्टिनेन्ट मोरिसन नराम्ररी घाइते भइसकेका थिए ।

गोरखालीहरूको नफ्रीभन्दा अंग्रेजको बढी भएकाले उनीहरू युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देखेर जनरल जोन सुलिभान उडको जोस हराइसकेको थियो । युद्ध अनिश्चित भएको देखेर उनले सहयोगी हार्डीम्यानसँग सल्लाह गरी युद्धभूमि छोड्ने आदेश दिए ।

नेपाली फौजको साहस र रणकौशललाई नजिकबाट स्पर्श गरेका जनरल उडलाई नेपाली फौजको गढीभित्र प्रतिकूल स्थिति भएको, नफ्री कम हुँदै गएकाले पहाडतिर लाग्ने तरखर गरेको आभास पटक्कै भएन । अझ कर्णेल उजीरसिंह थापा बाँकी फौज लिएर नुवाकोट गढी छोडी जितगढीमा झरेपछि नुवाकोट खाली भएको र त्यहाँ पुग्न सजिलै भएको पारिपट्टिको बाटो (हाल राजमार्ग) भई नुवाकोट रेकी गर्न पुगेका मेजर कोमिन फर्केपछि मात्र उडले थाहा पाए । यो तथ्यले जनरल उडलाई युद्धकलामा नेपालीभन्दा आफू पछि परेको महसुस भयो ।

बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हँुदै जनरल उड जनवरी ३ मा लोटन पुगे । उनलाई जितगढीको विफलताले पोलिरहेको थियो । जितगढी हान्ने प्रयत्नमा उनी लागि नै रहे । एकैचोटि बुटवल नहानी पहिले स्युराज, तुल्सीपुर सर गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको चाल पाई यही मौकामा बुटवल हान्ने सोच बनाए । पहिलेजस्तै तयारी गर्न समय लागेकाले मार्च ६ मा लोटन आइपुगे । यसपालि बर्खा लागिसकेको थियो ।

]त्यसैले तिनाउ उर्लिरहेको थियो । नदी तर्न नसकी कम्पनी फौजले तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै हालको खस्यौली बजारतिर आइपुगेपछि तोप प्रहार गर्न थाल्यो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुई तोपका गोला छोडे । तर अंग्रेजले गर्दै गरेको गोलाबारीको नेपाली फौजतर्पmबाट केही जवाफी कारबाही भएन । अठार पाउन्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शून्य भएको अनुमान गर्‍यो ।

कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । रेकी दलले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रूपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । केही मरे अरू अंग्रेज फौज भागाभाग भए । आफ्ना जासुसबाट कहिल्यै सत्य कुरा थाहा नपाएका र मनोबल गिरेका जनरल जोन सुलिभान उडले यो लडाइँ गरिरहनु त्यति युक्तिसंगत देखेनन् । दोस्रोपटक पनि आफ्नै फौजलाई युद्ध मैदानबाट फिर्ता हुने आदेश दिए ।

त्यसबखतको विकसित हतियार, नफ्री ज्यादा भएको कम्पनी सरकारसँग थोरै विकसित हतियार अनि आफ्नै परम्परागत हतियार लिएर युद्ध गर्नु चानचुने थिएन । तर युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन । नेपालीसँग जुन राष्ट्रियताको सोच थियो, त्यो विचार नै पर्याप्त थियो ।

विभिन्न कारणले नेपालीले पाँच ठाउँमध्ये चारवटा युद्ध मोर्चाबाट पछाडि फर्कनुपर्‍यो, नौ हजार चार सय वर्ग किलोमिटर भूभाग गुमाउनुपर्‍यो त्यो आफ्नै ठाउँमा छ । त्यो यथार्थलाई आत्मसात गर्नुपर्छ । तर बुटवल क्षेत्रमा नेपालले एक इन्च भूभाग पनि गुमाउनुपरेन ।

पाल्पा-बुटवल क्षेत्रको तैनाथी लिई आएका कर्णेल उजीरसिंह थापा दलमुख भई लडाइँ लडी साके संवत् १७३७ तदनुसार १८७२ सालमा विजय हासिल गरी विजय पताका फहराएका थिए । विजय पताका त्यसै फहरिएको थिएन । सरदार सूर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हबल्दार रणसुर बानियाँ एवं जुठे बस्नेतसहित पाँच सयजनाले वीरगति प्राप्त गरेका थिए ।

हाल बुटवल उपमहानगरपालिकामा रहेको जितगढी किल्लाले अहिले पनि पुरानो इतिहास बोकेर बसेको छ । यसको संरक्षण र प्रचार हुन जरुरी छ । यी र यस्ता गढी केवल भौतिक संरचना मात्र होइन, राष्ट्रियताका प्रतीक पनि हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.