प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः के संसदीय व्यवस्थामा प्रतिपक्ष नै हुँदैन ?
नेपालगञ्जः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी घोषणाका क्रममा ‘कांगेस प्रतिपक्ष र प्रतिस्पर्धी’ दल नरहेको भनेर दिएको अभिव्यक्ति गम्भीर आपत्तिजनक भएको बताएका छन् ।
प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संसदीय शासन पद्दतिमा देशको प्रधानमन्त्रीले प्रतिपक्षी नदेख्नु आपत्तिजनक भएको बताए ।
उनले प्रतिप्रश्न गरे, ‘उहाँको अभिव्यक्ति गम्भीर आपत्तिजनक छ । कांग्रेस कसरी प्रतिपक्षी दल रहेन ? के संसदीय व्यवस्थामा प्रतिपक्ष नै हुँदैन ?’
एमाले र माओवादी केन्द्रबीच एकता भएकोमा बधाई दिँदै नेता शर्माले विप्लवलगायतका अन्य कम्युनिष्ट पार्टीलाई पनि पार्टी एकताको प्रक्रियामा लैजान नेकपासँग आग्रह गरे । उनले भने, ‘दल विभाजनले लोकतन्त्र कमजोर हुन्छ । दल बलियो हुँदा लोकतन्त्र पनि बलियो हुन्छ । हामी त चाहन्छौं, सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउन सक्नुस् ।’
प्रधानमन्त्रीले आगामी निर्वाचनमा तीनचौथाइ ल्याउने दाबीलाई भने उनले कांगे्रसलाई भावी चुनाव भन्दा भावी पिढीँको चिन्ता रहेको भनेर टिप्पणी गरे ।
उनले तीनतहकै निर्वाचनमा कांग्रेसले हार बेहोरेपछि पनि नागरिक अपेक्षालाई सम्बोधन गर्ने मामिलामा पार्टी चुकेको स्वीकार गरे ।