थमन विक हत्या प्रकरण : पूर्व सांसद कोइरीलाई अदालतमा पेस गरिँदै
बर्दिबास : महोत्तरी प्रहरीले पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दैछ । बिहीवार गौशालाबाट पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउन लागिएको महोत्तरीको प्रहरी प्रवक्ता एव डीएसपी पन्चलाल गोलेले जनाए । अदालतको आदेश लगतै कोइरीलाइ कारागार पठाइने छ । स्रोतका अनुसार उनलाइ जलेश्वर कारागार पठाउने तयारी छ । तर, प्रहरीले यसलाई भने पुष्टि गरेनन् ।
ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उक्त फैसलाको कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !