अन्नपूर्ण मतसर्वेक्षण : प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री

अन्नपूर्ण मतसर्वेक्षण : प्रत्यक्षमा गठबन्धन अगाडि, धेरैको चाहना ओली प्रधानमन्त्री

काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्कले गरेको जनमत सर्वेक्षणले समानुपातिकमा एमाले र प्रत्यक्षमा कांग्रेसले बढी सिट जित्ने देखाएको छ । समग्रतामा दुवै दल समान हैसियतमा रहने पाइएको छ । 

भावी प्रधानमन्त्रीमा कसलाई चाहनुहुन्छ ? भन्ने प्रश्नमा भने अत्यधिकले केपी शर्मा ओलीलाई चाहेका छन् । अहिलेसम्मका प्रधानमन्त्रीमध्ये को सबैभन्दा असल थिए ? भन्ने अर्को प्रश्नमा पनि अधिकांशको जवाफ ओली नै रहेको पाइएको छ । 

७७ जिल्ला, १ सय ६५ निर्वाचन क्षेत्रका १९ हजार ८ सय ५८ मतदातामा उक्त सर्वेक्षण गरिएको हो । 

असोज ३० देखि कात्तिक १३ सम्म यसका लागि सर्वेक्षकहरू हरेक क्षेत्रमा खटाइएका थिए । प्रमुख दलले घोषणापत्र सार्वजनिक गरेपछि पुनः ३ दिन सर्वेक्षण गरिएको थियो । 

गठबन्धन अगाडि


जनमत सर्वेक्षण परिणाम हेर्दा एमाले-जसपा गठबन्धनभन्दा सत्तारुढ गठबन्धन नै केही ठूलो बन्ने देखिन्छ । प्रत्यक्ष र समानुपातिक जोड्दा कांग्रेसको ९५ देखि १ सय ५, माओवादीको ३० देखि ४०, एकीकृत समाजवादीको ९ देखि १२, लोसपाको २ देखि ४ र जनमोर्चाको १ देखि २ सिट आउने अवस्था छ । अर्कातिर एमालेको ९० देखि १०० र जसपाको ८ देखि १२ सिटका लागि सर्वेक्षणकर्ताले मत जाहेर गरेका छन् । 

अन्यमा राष्ट्रिय स्वतन्त्र पार्टी १० देखि १५, राप्रपा ६ देखि १०, नेमकिपा र नागरिक उन्मुक्ति पार्टी १-१ र स्वतन्त्र उम्मेदवार ६ देखि १० विजयी हुने स्थिति देखिन्छ।
 
प्रत्यक्षतर्फ कांग्रेस ५९ देखि ६३, माओवादी १७ देखि २१, एकीकृत समाजवादी ९ देखि १२, लोसपा १ देखि ४ र जनमोर्चा १ देखि २ सिटमा रहनेछन् । एमालेले ४७ देखि ५२ र जसपाले ४ देखि ८ सिट ल्याउने स्थिति छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी १ देखि ५ र राप्रपा २ देखि ६ सिटमा सीमित हुन सक्छन् । 

धेरैको चाहना : ओली प्रधानमन्त्री 


नेपालको अबको प्रधानमन्त्री को होला ? भन्ने प्रश्नमा सहभागीमध्ये ३१.१३ प्रतिशतले केपी ओली छानेका छन् । २०.६९ ले शेरबहादुर देउवा, ११.२६ ले पुष्पकमल दाहाल, १२.०६ ले अन्य र २४.८६ ले कोही पनि होइन भन्नेमा मत दिएका छन् । अन्य दलमा भोट हाल्न चाहनेले समेत प्रधानमन्त्रीमा ओलीलाई अघि सार्न चाहेका छन् । 

त्यस्तै अहिलेसम्मका प्रधानमन्त्रीमध्ये सबैभन्दा राम्रो कार्यकाल कसको रह्यो ? भन्नेमा ३४.६० ले केपी ओली भनेका छन् । देउवालाई रुचाउने १२.२०, दाहाललाई छान्ने १३.०९, अन्यलाई १३.३३ र कोही पनि होइन भन्नेलाई २६.७९ प्रतिशतले मत दिएका छन् । 

समानुपातिकमा एमाले ठूलो 


सर्वेक्षणमा सहभागीले समानुपातिकतर्फ एमालेको ३४ प्रतिशत (४० सिट), कांग्रेसको ३० प्रतिशत (३६ सिट), माओवादीको ११ प्रतिशत (१४ सिट), राष्ट्रिय स्वतन्त्र पार्टीको ९ प्रतिशत (१० सिट) तथा जसपा र राप्रपाको ४-४ प्रतिशत (५-५ सिट) को प्रक्षेपण गरेका छन् । 

मिडिया आउटलेटको सहकार्यमा अन्नपूर्ण मिडिया नेटवर्कले यो अनुसन्धान गरेको हो । यसमा ‘मार्जिन अफ इरर’ ५ प्रतिशत ठानिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.