महानगर/उपमहानगरमा साझा, अन्यत्र आआफ्नै उम्मेदवार
केशवशरण लामिछाने/पोखरा, मनिका झा /जनकपुरधाम,कृष्ण सारु मगर/मकवानपुर, शिवराज भट्ट/ धनगढी, किशोर बुढाथोकी/ विराटनग, शंकरप्रसाद खनाल /नेपालगन्ज, लक्ष्मण पोखरेल/बुटवल , भरत खड्का/उदयपुर :
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ। तर, ५ दलीय सत्ता गठबन्धनमा उम्मेदवार छनोट त परको कुरा, केन्द्रबाट भएको भागबन्डाप्रति स्थानीय नेता, कार्यकर्तामा तीव्र असन्तुष्टि छ। मुख्य गरी कांग्रेसका नेता/कार्यकर्ता असन्तुष्ट छन्। गठबन्धनका नेताहरूले केन्द्रबाट गरेको भागबन्डाको स्थानीय नेता/कार्यकर्ताले ‘अवज्ञा’ समेत गरेका छन्। कतिपय स्थानमा गठबन्धनभित्रैका दलहरू विभाजित भई फरक–फरक गठबन्धन बनाएका छन्। कुन पार्टीले कुन तह लिने भन्ने विवादमै गठबन्धनका दलहरू रुमल्लि रहेकाले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।
मधेसमा व्यापक असन्तुष्टि
सत्तासीन गठबन्धनले केन्द्रमा गरेको चुनावी भागबन्डा प्रतिमधेस प्रदेशमा व्यापक असन्तुष्टि देखिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका कांग्रेसका नगर सभापति मनोज साहसहित एकदर्जन नेता कार्यकर्ताले पार्टीबाट नै राजीनामा दिएका छन्। जनकपुरको नगरप्रमुख जनता समाजवादी पार्टीलाई दिने केन्द्रको भागबन्डाप्रति असहमति जनाउँदै कांग्रेसी नेताहरूले पार्टी नै त्यागे।
प्याकेजमा कुरा नमिलेपछि जिल्ला–जिल्लाको विषयमा पनि छलफल भइरहेको छ । कांग्रेस र माओवादीबीच कुरा नमिल्दा सहमति हुन सकेको छैन ।
सोनामसिं स्याङ्तान,बागमती प्रदेश अध्यक्ष, जनता समाजवादी पार्टी
मधेस प्रदेशमा तत्कालीन राजपा नेपाल र एमालेले जितेका ३४ पालिकामा गठबन्धन दलबीच अझै पनि सहमति जुट्न सकेको छैन। रौतहटको मौलापुर र कटहरिया नगरपालिकामा सहमतिनजिक पुगे पनि अन्यमा दलहरूका आआफ्नै अडान रहेको माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले जानकारी दिए।
उनले ३४ पालिकासहित अन्य पालिकामा पनि कांग्रेसलगायतका दलले छोड्न नचाहेकाले मित्रवत प्रतिस्पर्धा गर्ने गरी गृहकार्य हुने बताए। कांग्रेसका मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले गठबन्धनका पाँचवटै दलबीच सहमतिको प्रयास भइरहेको बताए।
बागमतीमा रोइलो
सत्ता गठबन्धनले बागमती प्रदेशका स्थानीय तहमा केन्द्रबाट गरेको भागबन्डाप्रति कांग्रेसमा निकै असन्तुष्टि देखिएको छ। भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने केन्द्रबाटै भागबन्डा गरिएको थियो। यो निर्णयप्रति कांग्रेसका स्थानीय नेता/कार्यकर्ता तीव्र असन्तुष्ट छन्। चितवन कांग्रेसका नेता, कार्यकर्ताले त जिल्ला सभापतिको कार्यकक्षमा शुक्रबार नै तालाबन्दी गरेका थिए। मनोनयनको अघिल्लो दिनसम्म पनि चितवन कांग्रेसभित्रको समस्या समाधान हुन सकेको छैन।
कांग्रेसको मत धेरै छ । कांग्रेसको डालाको मत मानामा हाल्दा पोखिन्छ । बरु मानाको मत डालामा खन्याउँ भनेका हौं ।
भानु ढकाल, जिल्ला सचिव, कांग्रेस कास्की
यता, हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाएपछि हेटांैडाका कांग्रेसी नेताहरू पनि असन्तुष्ट बनेका छन्। शेखर कोइराला पक्षधर कांग्रेसका नेता/कार्यकर्ताहरूले यसको खुलेर बिरोध गरिरहेका छन्। कांग्रेस मकवानपुरका उपसभापतिसहित तीन दर्जन बढी जिल्ला कार्यसमिति सदस्यले हेटौंडामा कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने चेतावनी दिइसकेका छन्।
बागमती प्रदेशमा १ सय १९ स्थानीय तह छन्। गठबन्धनले केन्द्रबाट टुंगो लगाएका महानगर र उपमहानगर बाहेक अन्य पालिकामा भागबन्डा हुन सकेको छैन। ‘प्याकेजमा कुरा नमिलेपछि जिल्ला–जिल्लाको विषयमा पनि छलफल भइरहेको छ’, जनता समाजवादी पार्टी बागमती प्रदेशका अध्यक्ष सोनामसिं स्याङ्तानले भने, ‘कांग्रेस र माओवादीबीच कुरा नमिल्दा सहमति हुन सकेको छैन।’ बागमती प्रदेशमा कांग्रेसले ६०, माओवादी केन्द्रले ४०, एकीकृत समाजवादी पार्टीले २५ र जनता समाजवादी पार्टीले १० स्थानीय तहमा दाबी गरेका छन्।
काभ्रेमा पनि गठबन्धन दलबीच भागबन्डाका सहमति जुट्न सकेको छैन। सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने भएको छ। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएका छन्। रामेछापमा कांग्रेस, एमाले र माओवादीमा टिकट वितरणमा असन्तुष्टि बढेसँगै पार्टी परित्याग गर्र्नेहरू बढेका छन्। नुवाकोटमा कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना नै दिइएको छ।
सुदूरपश्चिममा गाँठैगाँठो
सुदूरपश्चिममा गठबन्धन दलबीच भागबन्डा मिलाउन हम्मे–हम्मे परेको छ। केही स्थानमा एकीकृत समाजवादीलाई बाहिर राखेर कांग्रेस र माओवादीले मात्रै गठबन्धन गरेका छन्। सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा गठबन्धनलाई भागबन्डा मिलाउन सकस परेको छ। कैलालीमा १३ स्थानीय तहमा कांग्रेसले ७ को अडान राखेको छ। माओवादी केन्द्र ५ र समाजवादीले ४ स्थानीय तहमा दाबी गरेका छन्। शनिबार छलफल भए पनि सत्ता गठबन्धनमा सहमति जुट्न सकेन। माओवादी केन्द्रका जिल्ला अध्यक्ष लाजुराम चौधरीले पाँच स्थानीय तह आफ्नो पार्टीलाई नदिए सहमति नहुने बताए।
दार्चुलामा समाजवादीलाई बाहिर राखेर नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको छ। डडेल्धुरामा कांग्रेसभित्रै चरम विवाद छ। त्यहाँ गठबन्धनमा रहेका तीनै दल कांग्रेस माओवादी केन्द्र र समाजवादीले आआफ्नै उम्मेदवार खडा गरेका छन्। कांग्रेसले अमरगढी नगरपालिका र अजयमेरु गाउँपालिकामा उम्मेदवार नै घोषणा गरिसकेको छ भने माओवादीले पनि परशुराम नगरपालिका, अमरगढी नगरपालिका र भागेश्वर तथा अजयमेरु गाउँपालिकामा उम्मेदवार घोषणा गरेको छ। यस्तै समाजवादीले पनि नवदुर्गा र आलीताल गाउँपालिकामा उम्मेदवारी घोषणा गरेको छ।
बझाङमा गठबन्धन गरिए पनि विभिन्न पालिकामा विरोध छ। दुर्गाथली माओवादीलाई दिएको, थलारा र तलकोट समाजवादीलाई दिएको भन्दै त्यहाँका कांग्रेसी नेताहरूले विरोध गरेका छन्। नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा कांग्रेसले ६ पालिकामा दाबी गरेको छ। माओवादी केन्द्र र नेकपा समाजवादीले पनि तीन–तीनवटा पालिकामा दाबी गरेपछि गठबन्धनमा सहमति जुट्न सकेको छैन। सुदूरपश्चिममा ८८ स्थानीय तह छन्।
२०७४ सालको निर्वाचनमा एमालेले ३९, कांग्रेसले ३८, माओवादी केन्द्रले १० र तत्कालीन फोरम लोकतान्त्रिकले १ स्थानीय तह जितेका थिए। ३९ स्थानीय तह जितेको नेपाली कांग्रेसले ५० तहमा दाबी गरेको छ भने १० तह जितेको माओवादी केन्द्रले ३० तहमा दाबी गरेको छ। अछाममा पनि गठबन्धनबीच भागबन्डा मिल्न सकेको छैन। डोटीमा पनि गठबन्धनलाई उम्मेदवार छान्नै सकस परेको छ। कांग्रेसले दुई नगरपालिकासहित ७ पालिकाको प्रमुखमा दाबी गरेको पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिए। माओवादी केन्द्रले एउटा नगरपालिकासहित ४ वटा पालिका, एकीकृत समाजवादीले दुईवटा पालिका, र राष्ट्रिय जनमोर्चाले केआईसिंह गाउँपालिकाको उपाध्यक्षमा दाबी गरेको छ। बाजुरामा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरिसकेको छ। बैतडीमा पनि गठबन्धनले सबै पालिकाहरूको भागबन्डा गर्न सकेका छैनन्।
१ नम्बरमा तालमेलको सम्भावना न्यून
मोरङमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेलको सम्भावना न्यून देखिएको छ। मनोनयन दर्ताको समय नजिकिँदै गए पनि १ महानगरसहित १७ वटा पालिका रहेको मोरङमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) मा भागबन्डा मिल्न सकेको छैन।
रौतहटको मौलापुर र कटहरिया नगरपालिकामा सहमति नजिक पुगे पनि अन्यमा दलहरूका आआफ्नै अडान छ ।
गणेश साह,प्रदेशका ईन्चार्ज, माओवादी केन्द्र मधेस
केन्द्रबाटै विराटनगर महानगरको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने निर्णय भएको थियो। कांग्रेस विराटनगर महानगर समितिले एक्लै चुनावमा जाने निर्णय गर्दै मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरिसकेको छ। कांग्रेस मोरङकाउपसभापति भक्तिनाथ माझीले लामो प्रयास गर्दा पनि सहमति नजुटेपछि तालमेलको सम्भावना सकिँदै गएको बताए।
मोरङका १२ पालिकाको प्रमुखमा कांग्रेसको दाबी छ। अरू पालिकामा कुरा नमिलेपछि केन्द्रले गरेको विराटनगरको निर्णय पनि अन्त्य हुनसक्ने संकेत माझीले गरेका छन्। ‘अरू पालिकामा सहमति नभएपछि विराटनगरमा गठबन्धनलाई अरूबाट सहयोग नहुन सक्छ। विराटनगरमा मेयर–उपमेयर नपाएका दलले पक्कै सहयोग गर्दैनन्,’ उनले भने, ‘जिल्लामा सहमति नभएपछि केन्द्रमा पनि गठबन्धनमा असर पुग्न सक्छ। त्यही पनि सहमतिको प्रयास जारी राखिएको छ।’
२०७४ मा कांग्रेसले विराटनगर महानगरसहित मोरङका ९ पालिका जितेको थियो। एमालेले ५, तत्कालीन फोरम लोकतान्त्रिक, माओवादी र जसपाले १–१ वटा पालिका जितेका थिए। लोकतान्त्रिकसँग पार्टी एकीकरण भएपछि कांग्रेसको सिट १० पुगेको छ। आफूले जितेकासहित थप २ पालिकाको प्रमुख पाउनुपर्ने अडान कांग्रेसले छाडेको छैन।
यसअघि रंगेली नगरपालिकामा विजयी भएको माओवादीले ३ पालिकाको प्रमुख र ५ वटाको उपप्रमुख मागिरहेको माझीले बताए। त्यतिबेला अस्तित्वमै नरहेको एकीकृत समाजवादीले ३ वटाको प्रमुख र ४ वटाको उपप्रमुख खोजेको उनको भनाइ छ। जहदा गाउँपालिका जितेको जसपाले २ वटाको प्रमुख र ३ वटाको उपप्रमुख दाबी गरिरहेको जानकारी माझीले दिए।
माओवादी मोरङका संयोजक विजय विश्वासले गठबन्धनभित्र अहिलेसम्म कुनै निष्कर्ष निस्कन नसकेको बताए। उदयपुरको दुई स्थानीय तहमा सत्तासीन दलबीच चुनावी गठबन्धन नहुने भएको छ। त्रियुगा नगरपालिकामा कांग्रेस र ताप्ली गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले चुनावी गठबन्धन नगरी एकल चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। त्रियुगामा कांग्रेसविरुद्ध माओवादी केन्द्र, (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा (राजमो) ले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।
लुम्बिनीमा तिक्तता
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सत्तासीन दलबीच गठबन्धन टुटेको छ। भकाभक विज्ञप्ति जारी गर्दै गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन्। बर्दियाका सबै पालिकामा गठबन्धन नगर्ने सहमति गरेका छन्। कार्यकर्ताको मागबमोजिम दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय बर्दियामा भएको हो। कांग्रेसका जिल्ला सभापति अरुण प्रताप सिंहले सहमति गरेर गठबन्धन नगरी एकल चुनाव लड्ने निर्णय गरिएको बताए। 
गठबन्धन अवज्ञा गर्ने निर्णय सुनाउन नेपालगन्जमा माओवादीले गरेको पत्रकार सम्मेलन ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको उम्मेदवारीका विषयमा केन्द्रमा भएको भागबन्डाको सहमति माओवादी केन्द्रले नमान्ने घोषणा गरेको छ। उसले, नगर प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल उम्मेदवारी दिएर गठबन्धनको निर्णय अवज्ञा गर्ने जनाएको छ। माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी २०७४ सालमा दोस्रो भएको पार्टीको मतलाई बेवास्ता गरिएको भन्दै एकल रूपमा मैदानमा उत्र्ने निर्णय गरेको हो। माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीका अध्यक्ष रतन शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गर्छौैैं।’ केन्द्रमा सत्ता गठबन्धनबीच नेपालगन्जको नगर प्रमुख कांग्रेस र उपप्रमुख जसपालाई दिने निर्णय भएको थियो।
यस्तै, रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेस एकातिर र गठबन्धनका अरू दल अर्को कित्तामा उभिएका छन्। कांग्रेसले घमन्ड देखाएको भन्दै माओवादी, एकीकृत समाजवादी, जसपा दलको छुट्टै बैठक बसेर चुनावमा जाने निर्णय गरेका छन्। रुपन्देहीको दक्षिणी क्षेत्रका पाँच पालिकामा गठबन्धन हुन सकेको छैन। लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चबारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी गाउँपालिकामा गठबन्धन छैन। यहाँ दलहरू एक आपसमै लड्ने तयारी गरेका छन्। पाल्पामा भने गठबन्धनले भागबन्डा सकेका छन्। प्यूठानका दुई पालिकामा गठबन्धन टुट्ने देखिएको नेताहरूले जनाएका छन्।
पोखरा कांग्रेसमा चरम असन्तुष्टि
पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको केन्द्रको निर्णयले कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ। कांग्रेस गण्डकी प्रदेश समितिले मेयरबाहेक उपमेयरका उम्मेदवारमात्रै सिफारिस त गरेको छ। तर, कार्यकर्ताले भने स्वीकारेका छैनन्। पोखरा महानगरपालिका समितिले त जिल्ला पार्टी कार्यालयमा बुधबार नै तालाबन्दी गरेको थियो। शनिबार पोखराभरका वडा समिति सभापतिहरूले नाराबाजी गरे।
कास्की कांग्रेस जिल्ला सचिव भानु ढकाल कांग्रेस एक्लैले पोखरा महानगरपालिकामा मेयर जित्ने हुँदाहुँदै अर्काे पार्टीलाई समर्थन गर्दा कार्यकर्तामा असन्तुष्टि देखिएको बताउँछन्। ‘कांग्रेसको मत धेरै छ, कांग्रेसको डालाको मत मानामा हाल्दा पोखिन्छ,’ ढकालले भने,‘बरु मानाको मत डालामा खन्याउँ भनेका हौं।’ कास्कीका अरू पालिकामा पनि गठबन्धनले भागबन्डा टुंगो लगाउन सकेको छैन। मादी गाउँपालिकाका कांग्रेस सभापति यमबहादुर गुरुङ बरु मित्रवत प्रतिस्पर्धामा आउँ भनेको बताउँछन्। मादीमा माओवादीले अध्यक्षमा दाबी गरेको छ। कांग्रेस भने एक्लै जितिने भन्दै गठबन्धनका अरू दललाई भाग दिन चाहन्न।
पोखराका ३३ वडामध्ये २७ वडामा कांग्रेसले अध्यक्षसहित सबै उम्मेदवार आफ्नो पार्टीबाट हुनुपर्ने दाबी गर्दा वडामा गठबन्धनको भागबन्डा शनिबार राति अबेरसम्म मिल्न सकेन। माओवादीले धेरै वडामा दाबी गरेको कांग्रेस नेताहरू बताउँछन्। गएको स्थानीय निर्वाचनमा पोखरामा कांग्रेसले ११ र एमालेले २२ वडा जितेको थियो। मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार मतसहित जित्दा कांग्रेसका रामजी कुँवर साढे १३ हजार मतले पछाडि परेका थिए। उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेकी थिइन्। त्यस बेला पनि कांग्रेस र माओवादीको गठबन्धन थियो।
(साथमा, चितवनबाट अनिल ढकाल, काभ्रेबाट रोजन तामाङ, सिन्धुलीबाट राजन गाउँले, रामेछापबाट सन्तोष ढुङ्गेल, नुवाकोटबाट देवचन्द्र भट्ट)
प्रतिक्रिया दिनुहोस !