नेतृत्वमा रस्साकस्सी : को कति बलियो ?

नेतृत्वमा रस्साकस्सी : को कति बलियो ?

काठमाडौं : एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  

पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल (देउवा र इतरसमूह) बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय जिल्लामा देउवा र सिटौला पक्ष मिलेर पौडेल समूहसँग प्रतिस्पर्धा गरेका छन्। देउवा पक्षले ३२ वटा जिल्लामा सभापति जितेको छ भने देउवा र इतर पक्षले २७ जिल्लामा नेतृत्व लिएको छ। दुई जिल्लाका सभापतिमा सिटौला पक्षले जित निकालेको छ। महाधिवेशन प्रतिनिधिमा पनि देउवा र इतर पक्षबीच कडा प्रतिस्पर्धा भएका छन्।

कोइराला परिवारले ४९ वर्ष कांग्रेसको बागडोर सम्हालेको हो। कोइराला परिवारबाट यसपटक साझा उम्मेदवार बनाउन छलफल भइरहेका छन् ।
पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

समय अभावका कारण १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि सारिएको हो ।
विश्वप्रकाश शर्मा, प्रवक्ता

कांग्रेसले १४ हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गरेको थियो। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन गरेको थियो। समय अभाव देखाउँदै कांग्रेसले १६ जिल्लामा भने केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

प्रदेश २ का रौतहट, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, धनुषा, महोत्तरी जिल्लामा जिल्लाको अधिवेशन अब महाधिवेशनपछि हुनेछ। यस्तै, कैलाली, अछाम, बाँके, नवलपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा पनि जिल्ला अधिवेशन पनि पर सरेको छ। ६१ जिल्लाका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रका निर्वाचनबाट करिब एक लाख ५० हजार पदको निर्वाचन भएको छ। प्रवक्ता शर्माका अनुसार वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म करिब १ लाख ५० हजार पदको निर्वाचन प्रक्रिया पूरा भएको हो। ६१ जिल्लाका प्रतिनिधिसभा क्षेत्रबाट कांग्रेसले २६ जनाका दरले महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको छ। 

सभापतिका सम्भावित उम्मेदवार 
महाधिवेशनको मिति नजिकिएसँगै सभापतिको उम्मेदवारका लागि गुटगत छलफल, बैठक र परामर्श तीव्र बन्दै गएका छन्। सभापति देउवाले आफूलाई सघाउन तेस्रो धारका सिटौलासँग छलफल र सहकार्य अघि बढाएका छन्। केही जिल्लाको नेतृत्वमा देउवा र सिटौला पक्षबीच सहकार्य पनि भएको छ। देउवाले सिटौलालाई आफ्नो प्यानलबाट उपसभापति पदको उम्मेदवार बन्न प्रस्ताव गरिसकेको नेताहरू बताउँछन्। १३औं महाधिवेशनमा सभापतिका लागि पहिलो चरणमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत पुगेन। दोस्रो चरणको  निर्वाचनमा सिटौला पक्षको सहयोगमा देउवा सभापति बनेका थिए। 

देउवालाई यसपटक विमलेन्द्र निधिले साथ छोडेका छन्। निधिले आफ्नो बेग्लै समूह बनाएर सभापति उम्मेदवारको तयारी गरिरहेका छन्। ‘सभापतिमा मेरो उम्मेदवारी पक्का हो,’ निधिले अन्नपूर्णसँग भने, ‘म अब कसैसँग गएर मिल्ने भन्ने छैन। मेरो आफ्नै समूह निर्माण गर्दैछु। यति बुझ्नुहोस् कि मेरो समूहमा अधिकांश युवा समेटिने छन्।’ 

देउवा पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘सभापतिको म बलियो उम्मेदवार हुँ,’ श्रेष्ठले भने,‘ देशभर मेरो नेतृत्व चाहने साथीहरू हुनुहुन्छ।’ 

देउवा र इतर पौडेल पक्षमा सभापतिका लागि आकांक्षीको लिष्ट लामै छ। आकांक्षी धेरै भएका कारण नै पौडेल समूहले सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन। पौडेल आफैं सभापतिका आकांक्षी छन्। ‘सभापतिको दाबेदारमा म ढुंगा भएर बसेको होइन,’ पौडेलले भने, ‘म सभापति नभए अरू हुन दिन्न भन्ने मेरो अडान होइन। हाम्रो समूहका साथीहरूलाई तपार्इंहरू मिलेर आइदिनुभयो भने मलाई सहज हुन्छ भनेर मैले भनिरहेकै छु।’ मिलेर जान सकियो भने मात्र देउवालाई हराउन सकिने भनेर आफूले टिमका सबैलाई भनिरहेको पौडेलले बताए। पौडेल समूहबाट डा. शेखर कोइराला, डा. शशांक कोइराला, सुजाता कोइराला र प्रकाशमान सिंह पनि सभापतिका दाबेदार छन्। सभापतिमा कल्याण गुरुङ र युवराज न्यौपानेले पनि घोषणा गरेका छन्। 

सिटौला के गर्लान् ? 
कांग्रेसमा आफूलाई ‘निर्णायक’ शक्ति मान्दै आएका सिटौलातिर सबैको ध्यान केन्द्रित छ। १३औं महाधिवेशनमा सिटौला पनि सभापतिमा प्रतिस्पर्धा गरेका थिए। सभापति निर्वाचनमा पहिलो चरणमा कसैको पनि आवश्यक बहुमत नपुगेपछि सिटौलाले दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए। गगन थापा भने यसपटक सिटौला प्यानल छोडेर पौडेल समूहमा गएका छन्। 

सिटौलाले सभापति पदका लागि औपचारिक घोषणा गरिसकेका छैनन्। सिटौलाले केही जिल्ला र प्रदेश तहका अधिवेशनहरूमा देउवा समूहसँग एलायन्स गर्दै आएका छन्। सिटौलाले काठमाडौं जिल्लाको चुनावमा देउवासँग प्यानलनै बनाएर उभिए। यद्यपि, सभापतिमा प्रकाशमान सिंह र गगन थापा निकटका सबजु बानियाँले चुनाव जिते। सिटौलाले काभे्रे जिल्लामा पनि देउवासँगै मिलेर चुनाव लडे। बाग्लुङ जिल्लामा पनि देउवासँग मिलेर चुनाव लडेका थिए। बाग्लुङमा सिटौला निकट शेरचनले जित हासिल गरेका छन्। सिटौलाले प्रदेश नम्बर १ र ३ मा देउवासँग सहकार्य गरेका छन्। 

कांग्रेसमा सिटौला कूटनीतिक खेलाडी मानिन्छन्। ‘सिटौलाजी केही जिल्ला र प्रदेशमा देउवा समूहसँग सहकार्य गर्दै अघि बढेकाले केन्द्रमा पनि देउवा समूहसँगै उपसभापति अथवा महामन्त्रीमा आफ्ना मान्छे ल्याएर आफूपछि हट्नुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने। प्रदेश अधिवेशनको नतिजा आएपछि सिटौलाले मुख खोल्ने नेताहरू बताउँछन्। 

कोइराला परिवारमै हानथाप 
कांग्रेसको ४९ वर्षसम्म नेतृत्व सम्हालेको कोइराला परिवार १४औं महाधिवेशनबाट पुनः नेतृत्व कोइराला परिवारमै फर्काउने दाउमा छ। कुनै बेला कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो। सुशील कोइराला सभापति रहँदासम्म कांग्रेसको नेतृत्व कोइरालाहरूको हातमै थियो।

कोइराला परिवारसँग निकट रहेका पुरञ्जन आचार्यका अनुसार कोइराला परिवारमध्ये विश्वेश्वरप्रसादले २५ वर्ष, मातृकाप्रसादले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व सम्हालेका थिए। यो सबै जोड्दा कोइरालाहरूले ४९ वर्ष कांग्रेस नेतृत्वको बाघडोर सम्हालेका हुन्। कोइरालाहरूको विरासत ०७२ फागुन तेस्रो सातासम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवाले तोडेका हुन्। 

१४औं महाधिवेशनमा कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला आ–आफ्नै तबरले पार्टीको सभापतिका लागि ‘लबिङ’ गरिरहेका छन्। शेखरको चर्चा चुलिए पनि डा. शशांकले पनि छाड्नका लागि अगाडि बढेको होइन भन्दै मञ्चमा बोल्दै आएका छन्। १३औंमा भने शेखरले शशांकलाई महामन्त्रीमा समर्थन गर्दै आफू पछाडि सरेका थिए। शेखर भन्छन्, ‘शशांकलाई मैले १३औंमा सहयोग गरेको हुँ। यसपालि मलाई उनले सहयोग गर्नुपर्छ।’

हाल कांग्रेस राजनीतिमा रहेका शेखर केशवप्रसादका कान्छा छोरा हुन्। सुजाता गिरिजाप्रसादकी छोरी हुन्। शशांक विश्वेश्वरप्रसादका कान्छा छोरा हुन्। १३औं महाधिवेशनको आसपास सुशील कोइरालाको निधन भयो। त्यसपछि कोइराला परिवार मूल नेतृत्वमा देखिएको छैन। सुशीलको निधनपछि कोइराला परिवारले नै सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको थियो। पौडेल हारे पनि उक्त समूहबाट शशांक महामन्त्री बने। शेखर र सुजाता केन्द्रीय सदस्यमा निर्वाचित भए।

पार्टीको महाधिवेशन नजिकिएका बेला कोइराला परिवारले सक्रियता बढाएका छन्। साझा उम्मेदवार बनाउन कोइराला परिवारका नेताहरूबीच पटक–पटक ‘लन्च मिटिङ’ पनि भइरहेका छन्। यद्यपि, कोइराला परिवारमै सभापतिमा को लड्ने भन्ने निक्र्यौल गर्न सकेका छैनन्। गत साउन २ गते कांग्रेसको महाधिवेशनमा केन्द्रित भएर महामन्त्री डा. शशांक कोइरालाको घरमा परिवारका तीन सदस्यबीच लञ्च मिटिङ गरेका थिए। त्यसपछि भने आकांक्षी ३ जनाको संयुक्त भेट हुन नसकेको शेखरका स्वकीय सचिव दिनेश थपलियाले जनाए। 

३ जना एकै ठाउँ भेट नहुनुको प्रमुख कारण भने सुजातालाई मन्त्री बनाउन शशांकले सिफारिस नगर्नु भएको नेताहरू बताउँछन्।  सुजाता भन्छिन्, ‘मेरो रिसिइबी शशांकसँग छैन। म आफू पछि हटे भने शेखरलाई मेरो सहयोग हुनेछ।’ 

प्रकाशमान शक्तिको रूपमा उदय
गणेशमान र मंगलादेवी सिंहका छोरा प्रकाशमान सिंह १४औं महाधिवेशनमा सभापतिको प्रमुख दाबेदारका रूपमा उभिएका छन्। उनी पौडेल समूहका कोहीसँग पनि सहमति गर्न तयार छैनन्। सिंह पार्टीको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री भइसकेका छन्। २०४७ देखि एक दशकसम्म काठमाडौं जिल्ला सभापति भएका प्रकाशमानको काठमाडौंलगायत देशका विभिन्न जिल्लामा राम्रो पकड छ।  

सिंहले १३औं महाधिवेशनमा अन्तिम समयमा रामचन्द्र पौडेललाई समर्थन गरेका थिए। १४औंमा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने सिंहले बताउँदै आएका छन्। पिता गणेशमानको राजनीतिक विरासतले पनि सिंहलाई सर्पोट गरेको छ। उनी पौडेलसँग चिढिएका छन। ‘उहाँ (पौडेल) ले १४औं मलाई सहयोग गर्छु, भन्नुभएको थियो,’ सिंहले भने, ‘अहिले आफैं अघि सर्नुभएको छ।’ सिंह पछिल्लो समय कोइराला परिवारसँग पनि वार्ता, भेटघाटमा बस्न तयार छैनन्। 

कांग्रेसको मतदान स्थल तय 
कांग्रेसले १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि तीन ठाउँमा मतदानस्थल तोकेको छ। महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। भृकुटीभण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा चुनाव हुने प्रवक्ता शर्माले जानकारी दिए।

मतदाताहरूले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक मतदातालाई मतदान गर्न करिब ४५ मिनेटदेखि १ घण्टासम्म समय लाग्ने अनुमान गरिएको छ। कांग्रेसका ८ लाख ४० हजार १ सय ६ जना क्रियाशील सदस्यहरू छन्। पुरुष ६ लाख ४४ हजार ५ सय ६५ जना र महिला १ लाख ९५ हजार ३ सय ७२ जना छन्। मंसिर २४ गते उद्घाटन्, २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.