खोक्दै घरमा बस्दै !

खोक्दै घरमा बस्दै !

काठमाडौं : कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामर्की लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ बताउँछन्।   

मापदण्डमा परेका सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण हुन्छ। तर, समुदायमा कोरोना फैलिइरहेको अनुपातमा परीक्षण भएको छैन। संक्रमण भए पनि परीक्षण नगराउने प्रवृत्तिले समुदायमा फैलने क्रम बढिरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासिनीले बताए। 

‘जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण भएको छैन । जसकारण समुदायमा कोरोना फैलिरहेको छ’, निर्देशक डा. मरासिनीले भने, ‘संक्रमण भए पनि परीक्षण गर्न गइरहेको अवस्था छैन। नजिकका स्वास्थ्य संस्थामा गई परीक्षण गर्न अनुरोध गर्दछु।’

दुई साताको संक्रमणदर उच्च रहेकाले सतर्क हुनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन्। ‘अझै संक्रमणदर ४० प्रतिशतभन्दा बढी छ।  संक्रमणको जोखिम कायमै छ’, प्रवक्ता मिश्रले भनिन्। 

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाले परीक्षण गराएका छन्। जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ। माघ १३ गतेदेखि चार दिनमा संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको डा. मिश्रले बताइन्।

सूचीकृत प्रयोगशालासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक बाहिर गरिएको परीक्षणको तथ्यांक छैन। प्रवक्ता डा. मिश्रले संघ, संस्था, निकाय र नियोगहरूलाई परीक्षणको नतिजा पठाउन अनुरोध गरिएको बताइन्। कतिपयले घरमा आफैंले एन्टिजेन कीटबाट परीक्षण गरेको पाइएको छ। त्यसको जानकारी पठाउन वा एसएमएसमार्फत सूचित गर्न मन्त्रालयले आग्रह गरेको छ। 

सरकारले एन्टिजेन परीक्षण निःशुल्क गरेको छ। सरकारी अस्पताल तथा प्रयोगशालाको हकमा निःशुल्क मापदण्डभित्र नपरेकाका लागि अधिकतम ८ सय शुल्क तोकिएको छ। निजी स्वास्थ्य संस्थामा अधिकतम १५ सय रुपैयाँ शुल्क तोकिएको छ। 

‘एन्टिजेन आरटीपीसीआर अभावका कारण परीक्षणमा कमी गरेका छैनौं। कीटको अभाव हुन दिँदैनौं’, डा. मरासिनीले भने। सरकारले थप ६ लाख आरटीपीसीआर कीटसमेत खरिद गर्न लागेको छ। एन्टिजेन कीट २ लाख १० हजार जति मौज्दात छ। 

सिटामोल पर्याप्त 
सरकारले १ करोड ४० लाख सिटामोल प्रादेशिक स्वास्थ्य संस्था आपूर्ति केन्द्रमा वितरण गरेको छ। ‘आवश्यकताको आधारमा अस्पतालमा सिटामोल वितरण गरिरहेका छौं। ठूला अस्पताललाई पारासिटामोल लैजान आग्रह गरेका छौं’, व्यवस्थापन महाशाखा निर्देशक डा. मरासिनीले भने, ‘प्रादेशिक स्वास्थ्य केन्द्र र जिल्लास्थित भण्डारण केन्द्रमा पनि सिटामोल यथेष्ट मात्रामा वितरण गरेका छौं।’  

डा. मरासिनीका अनुसार  विभागको केन्द्रीय भण्डारण र पतलैयाको भण्डारणमा करिब १० लाख पारासिटामोल स्टकमा रहेको छ। संक्रमण बढ्दै जाँदा पारासिटामोल लगायतका औषधिको माग बढ्नु स्वाभाविक रहेको उल्लेख गर्दै डा. मरासिनीले  कतिपय निजी फार्मेसिहरूमा पारासिटामोल लगायतका औषधिको मूल्य बढाउने उद्देश्यले लुकाएर राखेको वा नबेचेको हुन सक्ने बताए। नेपाल औषधि लिमिटेडसँग ५० लाख सिटामोल खरिद गर्ने तयारी रहेको डा. मरासिनीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.