भेटिभर रोपौं, ल्यान्डफिल स्वच्छ बनाऔं
काठमाडौं, पोखराजस्ता देशका ठूला सहरमा फोहोर व्यवस्थापनसँगै ल्यान्डफिल साइटको वातावरण जोगाउने मुख्य चुनौती देखिएको छ। ल्यान्डफिल साइट वरिपरिको मानवीय जीवनको रक्षा र फोहोर व्यवस्थापन गर्न ठोस उपाय पनि पत्ता लागेको छैन। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि पहिलेदेखि नै फोहोर थुपारिएको स्थानको उचित व्यवस्थापन हुन सकेको छैन। त्यसैकारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि जोखिमपूर्ण मानिएको छ। फोहोरमा आहार खोज्न आउने चराचुरुंगीसँग ठोक्किएर ठूलो भौतिक तथा मानवीय क्षति हुने खतरा देखा परेका छन्।
पोखरा ल्यान्डफिल साइटको बायोइन्जिनियरिङ व्यवस्थापन कसरी गर्न सकिन्छ त ? त्यसका लागि पनि उपाय भने नभएका होइनन्। भेटिभर घाँस रोपेर पोखराको ल्यान्डफिल साइटलाई स्वच्छ एवं सफा बनाउन सकिन्छ। भेटिभरले विमानस्थल नजिकको पहिरो रोक्ने, फोहोरबाट निस्कने ग्याँस र गन्धलाई कम गर्ने, फोहोरबाट उत्पन्न लिचेटलाई प्रशोधन गरेर त्यहाँको जनजीवन स्वस्थ बनाउन सक्छ। काठमाडौंको ल्यान्डफिल साइट –सिसडोलमा पनि भेटिभर रोपेर त्यहाँको जनजीवन र वातावरण जोगाउन सकिन्छ। भेटिभरका अन्य उपयोगिता त छँदैछन्।
किन भेटिभर रोप्ने ?
- अत्यधिक वर्षाबाट हुने माटो र पानीको क्षतिलाई कम गरी ल्यान्डफिल नजिक रहेको जनजीवन जोगाउन।
- अव्यवस्थित फालिएको÷थुपारिएको फोहोरजन्य पदार्थबाट निस्किएको ग्याँस र गन्धलाई न्यूनीकरण गरी मानिसहरूको आवत्जावत सहज बनाउन।
- स्थानीयहरूले खेती गरिरहेको जमिन कटान र उर्वर माटोको क्षति रोक्न।
- ल्यान्डफिल क्षेत्रमा बसोबास गर्ने मानव र पशुपन्छीहरूको जीवन दैनिकीलाई सहजीकरण गर्न।
- फोहोर, मैला र सिनो आहारा खोज्न आउने स्याल, हाप्सिलो, बन बिरालो, काग, गिद्ध, लाटोकोसेरोजस्ता जंगली जनावर र पन्छीहरूको चहलपहल र आकर्षण ल्यान्डफिल साइटमा घटाउने वा न्यूनीकरण गर्न।
- फोहोर ढुवानी गर्ने चालकहरू र बोक्ने गाडीजस्ता साधनहरूलाई ल्यान्डफिल साइटसम्मको पहुँच–भित्रको अवस्थामा सुधार ल्याउन।
- ल्यान्डफिल साइटको ठाउँ, ठाउँबाट निस्किएको लिचेट, भत्किएको कान्ला, आली र धसिएका भागहरूमा उचित वर्गका, हावापानी मिल्दा बोटबिरुवाको वृक्षरोपणको साथै मर्मत
- र सम्भार गर्न।
- माथिल्लो सतहको माटोको भू—क्षय रोक्ने जसमा व्यापक रूपले भेटिभर र अन्य जातका घाँस, झार, झाडी र बिरुवाहरूको
- प्रयोग गर्ने !
भेटिभर घाँस (खस/खस)को प्रयोग
संसारमा केही बिरुवाहरूका अद्वितीय विशेषताहरू छन्। ती बिरुवा वातावरणमैत्री छन्। ल्यान्डफिल साइट र बाढी पहिरो अर्थात् भूक्षय रोक्न प्रभावकारी र सरल छन्। हाम्रा आँखा भौतिक संरचनातिर मात्रै जान्छन्, तर यस्ता वनस्पतितिर ध्यानै दिँदैनौं। त्यसमध्येको एक हो भेटिभर घाँस। पछिल्ला २० वर्षमा यसको विश्वव्यापी रूपमा व्यापक प्रयोग गरिएको छ। विश्वमा भेटिभर घाँसको परीक्षण ३० वर्षभन्दा बढी भइसकेको र एक सय वर्षभन्दा बढी समयदेखि माटो संरक्षण (वातावरण) उपायमा प्रयोग भइरहेको छ।
फोहोरको थुप्रोबाट निस्कने तरल पदार्थ, दुर्गन्ध, वातावरण प्रदूषणबाट मुक्ति दिलाउनको लागि अचुक उपाय र समाधान भनेको (सस्तो प्रविधि) भेटिभर घाँसको बिरुवा रोप्नु नै हो।
विश्वको उष्ण क्षेत्रमा एन्ड्रोपोगोनेई जनजातिमा पाइने मोटे बारमासी घाँसका १० प्रजातिहरूमध्ये भेटिबेरिया जिजानिओइड्स माटो र आद्रता संरक्षणको लागि आदर्श साबित भएको छ। यो बिरुवा जलवायु र माटोको अवस्थाको धेरै फराकिलो दायरामा लगाउन सकिन्छ। यो समग्रमा एकल प्रजातिको लागि अद्वितीय छ। जब भेटिभर घाँस आत्मनिर्भर ‘हेज–रो’ को रूपमा लगाइन्छ यसले विशेष विशेषताहरू प्रदर्शन गर्दछ !
के के हुन्, गुणहरू
भेटिभर एक बाँझो (प्रजनन) घाँस हो। यसमा झारपातको सम्भावना छैन र आफैं फैलिन सक्दैन। यसले वातावरण र अन्य वनस्पतिका प्रजातिहरूको लागि कुनै खतरा उत्पन्न गर्दैन। यो घना गुच्छादार, बाँझो खाले, ठूलो नहुने लजालु प्रजननकर्ता वनस्पति हो। यसका धेरै–शाखा भएको ‘स्पन्जकी’ जराहरू रहेका हुन्छन्। ०.५१.५ मिटर उचाइसम्म हुन्छन्। यसका सीधा सिल्कहरूबाट ठूलो झुन्डमा बढ्छ। पातका ब्लेडहरू तुलनात्मक रूपमा कडा, लामो र ७५ सेन्टिमिटर लामो र ८ मिलिमिटरभन्दा बढी चौडा हुँदैनन्। बाक्लो संरचना भएको जरा प्रणाली भएकाले पोषक तत्त्वको ग्रहणमा सुधार गर्छ र। जरा वरपरको क्षेत्रमा माइक्रो बायोलोजिकल प्रक्रियाहरूलाई चलायमान बनाउनुको साथै उत्तेजित गराउँछ।
भारी धातुहरू जस्तै लिचेटमा हुने आर्सेनिक, क्याडमियम, तामा, क्रोमियम, सिसा, पारा, निकल, सेले नियम र जिंक आदिसँग सहनशील हुन्छ। यो प्रतिकूल जलवायु परिस्थितिहरूमा पनि सहनशील हुन्छ। चिसो, डुबान, बाढी, खडेरी र गर्मीमा खोला किनारका छालहरूसँग पनि यो सहनशील हुन्छ। माटोको अम्लीयपन र नुनिलोपन सहज रूपमा ग्रहण गर्दछ।
१. कहाँ प्रयोग गर्ने ?
कृषि क्षेत्र : कटान नियन्त्रण, खेती–पानी संरक्षणमा, मल्चिंग, घाँस प्रयोग, किरा फट्यांग्रा रोकथाम (मकै–स्टिम बोरर), माटोको उर्वरता वृद्धि, बागवानी÷ल्यान्डस्केपिङ।
२. भिरालो स्थिरीकरण : ग्रामीण÷फार्म सडक, राजमार्गहरू, रेलमार्ग, सार्वजनिक उपयोगितामा प्रयोग गर्ने, पुलहरूको किनारा छेउ जोगाउन, बाँध र पोखरी संरक्षण, निर्माण साइटहरू जोगाउन, नहर, सडक छेउ कटान जोगाउन, नालीहरूको संरक्षण आदिका लागि प्रयोग गर्ने।
दूषित जमिन र पानी : दूषित पानी उपचार, औद्योगिक बहावको उपचार, कृषि÷एक्वाकल्चर पानी, ल्यान्डफिल साइट (घरेलु फोहर, दूषित पानी )
ल्यान्डफिलहरू : सन् १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा ल्यान्डफिल लिचेट नियन्त्रणको लागि भेटिभर घाँस प्रयोग गरिएको थियो। त्यसबेलादेखि यो अस्ट्रेलिया, चीन, भारत, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अमेरिका र भियतनाममा प्रयोग गरिँदै आएको छ। भारी धातु र नुन भएको लिचेट (दूषित)लाई भेटिभरको अद्वितीय विशेषताहरूले उपचार गर्दछ। भेटिभरको उच्च वाष्प ट्रान्सपिरेसन क्षमताको कारणले ओसिलो खपत हुन्छ र प्रदूषकहरूले बोटको वृद्धिलाई इन्धन गर्न सूक्ष्म र म्याक्रोपोषक तत्त्वको रूपमा काम गर्दछ। भेटिभर प्रयोग गर्ने प्रणालीले ल्यान्डफिलमा वर्षाको घुसपैठलाई पनि कम गर्छ। जसको परिणामस्वरूप कम लिचेट उत्पादन हुन्छ। जमिनको पानी र सतहको पानीका स्रोतहरूलाई थप संरक्षण हुन्छ। भेटिभर यसको जरा संरचना र कठोर वातावरणीय अवस्थाहरूमा सहिष्णुताजस्ता अन्य विशेषताहरूका कारण यो समस्या समाधान गर्नको लागि विशेष रूपमा उपयुक्त छ।
- विपद् न्यूनीकरण : यसले पहिरो पुनर्वास र रोकथाम, जलाधार संरक्षण, नदी किनारा र तटीय संरक्षण गर्छ।
- अन्य प्रयोगहरू : अत्तर बनाउन प्रयोग हुन्छ। (आधुनिक अत्तर सिर्जनाहरूमा सबैभन्दा बढी प्रयोग यसकै हुन्छ। त्यस्तै गाईबस्तुलाई घाँसका रूपमा प्रयोग गर्न सकिन्छ। थाइल्यान्ड, थ्याच (छाना– जिबाब्बे) मा ब्लक निर्माण गर्ने गरिन्छ। डोमिनिकन रिपब्लिकमा भेटिभरबाट बायोग्याँस प्रयोगमा छ। सिनेगलमा औषधीय प्रयोगमा छ। भारतमा टीबी रोगको औषधिका रूपमा प्रयोग भइरहेको छ।
के के गर्छ ?
- जब घाँस परिपक्व हुन्छ, बफरको रूपमा काम गर्छ। जमिनमुनिको पानीको प्रवाहलाई फैलाउँछ र बलौटे माटो छान्ने कार्य गर्छ।
- राम्रो हेजले वर्षाको बहावलाई ७० प्रतिशतसम्म रोक्दछ भने बलौटेपन ९० प्रतिशतसम्म रोक्दछ (अन्तर्राष्ट्रिय भेटिभर नेटवर्क, २००८)।
- स्थानीय भूगोलमा भएका गरा, कान्ला, फोगटा, साना खोल्सी, धाड परेका ठाउँ र बारीका पाटोको संरक्षण गर्छ।
- यसमा लागत कम लाग्छ। सिभिल कार्य सुरक्षाको लागि प्रयोग गर्दा यसको लागत परम्परागत इन्जिनियर गरिएको प्रणाली र डिजाइनको लगभग १÷२० लागतमा हुन्छ। भेटिभर जरालाई क्षमतावान् शक्ति भएको ‘जिउँदो माटोको नङ’सँग तुलना गर्छन्।
- विश्वमा ठोस र तरल फोहोर अनि माटो सुधार गर्न यसको प्रयोग गरिँदै आएको छ। बाढी, पहिरो, सडक खण्डको विफलता, नदी किनार, सिँचाइ नहर र तटीय कटान, पानी कायम राख्ने संरचनाको अस्थिरता आदि) संरक्षणमा पनि यसको प्रयोग भइरहेको छ। वातावरणीय संरक्षण (जमिन र पानीको प्रदूषण घटाउन, ठोस र उपचार) मा विशेष प्रभावकारी रहेको अध्ययन र अनुसन्धान अनि प्रयोगले देखाएको छ।
ठूलो समस्या लिचेट व्यवस्थापन
सिसडोल र पोखरा ल्यान्डफिल साइटमा लिचेटको ठूलो समस्या छ। सिसडोलमा १८ नगरपालिकाको दिनको सरदर आठ सय फोहोर विर्सजन हुन्छ। (शंकर श्रेष्ठ र साथीहरू, २०२०)। सिसडोलको लिचेट सीधै कोल्पु खोलामा बग्छ। यसले त्यहाँको प्राकृतिक वातावरण तथा मानवजीवन र पशुपन्छीमा प्रत्यक्ष असर गरिरहेको छ। त्यो क्षेत्रमा भेटिभर बिरुवा लगाउँदा पानीलाई शुद्ध पार्ने र घुलनशील फलामलाई पनि शुद्ध पार्न सक्छ। पोखरा वा सिसडोल ल्यान्ड साइटको बायो इन्जिनियरिङबाट व्यवस्थापन गर्दा एकीकृत एप्रोच लगाएर गर्नुपर्छ। गर्मीको उच्च वर्षाको मौसममा एक प्रभावकारी र कम लागत लिचेट डिस्पोजल प्रणाली आवश्यकता देखिन्छ।
भेटिभर घाँसमा धेरै उच्च पानीको प्रयोग र पोषक तत्त्वहरू खपत हुने दरहरू हुन्छन। र यसले भारी धातुहरूको उच्चस्तर र अन्य प्रतिकूल अवस्थाहरूलाई सहनशील क्षमता रहेकाले यो घाँस फोहोर र पानीको लागि सबैभन्दा उपयुक्त छ। बिरुवाहरू लगाउनु अगाडि त्यहाँ रहेको फोहोरमा लवण र पोषक तत्त्वहरू हेरिनु पर्दछ। क्यापिङ र टपसोइलिंग गरी फोहोरको ढिस्कोको सतहमा भेटिभर रोप्न सकिन्छ।
सन २००५ मा ब्रिसबेन, अस्ट्रेलियामा ल्यान्डफिल साइटको ६ हेक्टर क्षेत्रफलमा रोपिएको भेटिभरले उत्कृष्ट नतिजा दियो। भेटिभर बाक्लो गाँज हालेर आयो। लिचेट सोसेर सुक्खा याममा सिँचाइ गर्न नै लिचेट झोलको अभाव हुन पुग्यो। दोस्रो वर्ष आउँदा भेटिभर बाक्लो र तीन मिटरसम्म अग्लो भएको थियो। त्यसैले यो घाँस उत्तम ठहरिएको छ। घना र तिखारिएका पात हुने भएकाले कुनै जीवजन्तु यसको घना घारीभित्र बस्न रुचाउँदैनन्। भेटिभेरको विशाल जरा प्रणाली, अत्यधिक प्रतिकूल बढ्दो अवस्थाहरूमा सहिष्णुता र उच्च स्तरको विषाक्तताहरूको सहिष्णुता भएकाले (नुन, भारी धातुहरू र एग्रोकेमिकल्सको माथिल्लो स्तरलाई सहिष्णु) छ। ल्यान्डफिल साइटहरूमा धेरै पानी लिने केरा र उखुभन्दा पनि उत्तम देखिएको छ ! यी खोजहरूको परिणामको आधारमा अस्ट्रेलिया, चीन, थाइल्यान्ड र भियतनाममा प्रयोग गरिएको छ।
हामीले अबको आवश्यकताअनुसार बायो इन्जिनियरिङका दृष्टि र व्यवस्थापनबाट ‘भेटिभर पद्धति’ विकास गरी सिसडोल ल्यान्डफिल साइट र पोखरा ल्यान्डफिल साइटको लिचेटसहित फोहोर व्यवस्थापन अघि सार्नुपर्छ। सिसडोल ल्यान्डफिललाई १५ हेक्टर जग्गा छुट्ट्याइएको छ। जसमा दुई हेक्टर ल्यान्डफिल क्षेत्रले ढाकेको छ। साइट संरक्षण÷बफर क्षेत्रका लागि १२ हेक्टर र बाँकी एक हेक्टर फोहोर व्यवस्थापनका लागि अन्य सुविधाहरूको लागि प्रयोग गरिएको छ। यहाँ पनि ल्यान्डफिल साइटको व्यवस्थापन गरी (लिचेटसहित) पूर्ण व्यवस्थापन सुधार्नु आवश्यकता देखिन्छ।
पोखरा महानगरपालिकाको बच्छे बडुवामा रहेको ल्यान्डफिल साइटको क्षेत्र करिब दुई सय रोपनी छ। यहाँ संरचना बनाउन सुरु गरिएको सन् १९९७ मा हो भने उद्घाटन डिसेम्बर २००४ बाट हो ! यो ल्यान्डफिल साइट पनि वातावरण र मानवीय हिसाबले व्यवस्थित देखिँदैन। अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसार ल्यान्डफिल साइटहरू विमानस्थलको १० किलोमिटर भित्र हुनु हुँदैन। हाल आएर पोखरा उपमहानगरपालिकाले वडा नं. ३३ मा ल्यान्डफिल सारेको छ। तर पुरानो ल्यान्डफिल साइटको उचित व्यवस्थापन (लिचेट सहित) गर्नुपर्ने आवश्यकता देखिन्छ।
मुलुकका सबै पालिकाहरूले अहिलेदेखि नै व्यवस्थित ल्यान्डफिलको अवधारणामा काम गर्न जरुरी छ। त्यसमा पनि वर्षौंदेखि हामीले भोगिरहेको काठमाडौंको बञ्चरेडाँडा र सिसडोल र पोखराको ल्यान्डफिलको समस्या समाधान गर्न भेटिभर प्रयोगसहितको बायोइन्जिनियरिङको योजनामा जानु अत्यावश्यक भइसकेको छ। स्थानीयवासीहरूलाई फोहोरको थुप्रोबाट निस्कने तरल पदार्थ, दुर्गन्ध, वातावरण प्रदूषणबाट मुक्ति दिलाउनको लागि अचुक उपाय र समाधान भनेको (सस्तो प्रविधि) भेटिभर घाँसको बिरुवा रोप्नु नै हो। भेटिभर घाँस रोप्नको लागि जय किसान नर्सरी, सर्लाहीमा बिरुवाहरू प्रशस्त रहेको र त्यसका लागि प्राविधिकहरूको टिम पनि तैनाथ रहेको छ। वरिपरि रहेका स्रोत र साधनहरूलाई प्रयोग गरेर हाम्रा समस्याहरूको समाधान गर्नु नै दीर्घकालीन ल्यान्डफिलदेखि अन्य बाढी, पहिरो, नदी कटान अर्थात् प्राकृतिक प्रकोपहरूबाट बच्ने अचुक औषधि हो। सबै नीति नियम बनाउनेदेखि कार्यान्वयन गराउनेसम्मले यो कार्य सुरु गर्नुपर्ने आवश्यकता छ।
- विश्व बैंकका पूर्वसिनियर कम्सल्ट्यान्ट न्यौपाने संघीय एवं स्थानीय शासनविज्ञ हुन् ।
प्रतिक्रिया दिनुहोस !