मध्यराति बाबुरामको ट्वीट : आलटाल नगरी संसदबाट एमसीसी पारित गरौं
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने दोहोर्याएका छन्। मध्यराति ट्वीट गर्दै उनले आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्।
सबैले जनतालाई एमसीसी बारे बुझाउनुपर्ने बताउँदै भट्टराईले यही बहानामा प्रतिगमनविरोधी गठबन्धन टुटाउनु नहुने धारणा राखे। उनले भने,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाउँ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि नबढाए गठबन्धन टुट्ने संकेत गरेपछि भट्टराईले गठबन्धन टुटाउन नहुने बताएका हुन्।
भट्टराईले यो प्रकरणले नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’
सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन्। कार्यदलले काम अगाडि नबढाएपछि प्रधानमन्त्री देउवाले कार्यदलका नेताहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले संसदमा तत्काल प्रस्ताव पेश गर्नुपर्ने धारणा राखेको बताइएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले माओवादीको महाधिवेशन उद्घाटन समारोहमै ‘एमसीसी राम्रोसँग पढ्न’अभिव्यक्ति दिएका थिए। सार्वजनिक रुपमै उनले ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन्’भन्ने धारणा राख्दै आएका छन्।
गठबन्धनभित्रका दल एमसीसीको विषयमा पक्ष विपक्ष बन्दा ठोस निर्णय हुन सकेको छैन।
यस अगाडि प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रस्ताव गरेका थिए। देउवा बालकोट पुगेर संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न ओलीसँग आग्रह गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !