चुनावको मुखमा दल अदलबदल
स्थानीय तह निर्वाचनको मुखमा ठूलो संख्यामा जनप्रतिनिधिले दल अदलबदल गरेका छन्। अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर जितेको दल नै परित्यागको क्रम ह्वात्तै बढेको छ। आगामी चुनावमा टिकटको शर्त र जित सुनिश्चितताका लागि दलनै परिवर्तन गरेको विभिन्न घटनाक्रमले देखाएको छ। अन्य दल पनि जनप्रतिनिधिलाई आफ्नो पार्टीमा स्वागत गर्न पाउँदा हौसिएका छन्।
विभिन्न पार्टीबाट प्राप्त तथ्यलाई आधार मान्दा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्ने धेरै जनप्रतिनिधि छन्। पालिका प्रमुख र उपप्रमुख मात्रै तीन दर्जन बाढीले दल परिवर्तन गरेर एमालेमा गएका छन्। वडाध्यक्ष र वडासदस्य ठूलो संख्यामा एमाले प्रवेश गरेका छन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपामा आउने पनि उत्तिकै छन्।
पार्टी नै छाड्नेमा धेरै मधेस प्रदेशका जनप्रतिनिधि छन्। मधेसका मात्रै २३ जना प्रमुख र उपप्रमुखले अन्य दल त्यागेर एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट जितेका वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा गए। मोरङ रंगेली नगरपालिका प्रमुख दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर उपप्रमुख केशवकुमारी खनाल माओवादी केन्द्रमा गए।
एमाले
नेकपा एमालेले सबैभन्दा धेरै माओवादी केन्द्र परित्याग गरी प्रवेश गरेको दाबी गरेको छ। ४१ पालिका प्रमुख र उपप्रमुख माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। मधेस प्रदेशका १० स्थानीय तहका प्रमुख मात्रै एमालेमा प्रवेश गरेको र त्यसमा चार जना माओवादी केन्द्रका रहेको दाबी उपप्रमुख रिजालको छ। मधेस प्रदेशमा १ सय ३६ स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले २१ स्थानीय तहमा प्रमुख जितेको थियो। 
बाराको प्रसौनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला र टीका लगाएर एमालेमा प्रवेश गर्दे वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी। तस्बिर : क्रान्ति शाह
सबैभन्दा धेरै रौतहट र पर्साबाट जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन्। २०७४ को स्थानीय निर्वाचनमा मधेस प्रदेशमा ४० प्रमुख पद जित्दै सो चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो। तत्कालीन संघीय समाजवादी फोरम २६ र राष्ट्रिय जनता पार्टी (राजपा) २५ प्रमुख सिट जित्दै क्रमशः दोस्रो र तेस्रो भएका थिए। २१ सिट जितेको नेकपा माओवादी केन्द्र चौथो, १८ सिट जितेको नेकपा एमाले पाँचौं स्थानमा थियो। माओवादी केन्द्रका तत्कालीन प्रभावशाली नेता प्रभु साह नेकपा एमाले प्रवेश गर्नुले पनि मधेसमा एमालेको प्रभाव बढेको तर्क एमाले नेता कार्यकर्ताको छ।
लुम्बिनी प्रदेशका ३ स्थानीय प्रमुखले पार्टी परिवर्तन गरेर एमाले प्रवेश गरेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव जसपा छोडेर एमालेमा प्रवेश गरे भने भने ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल) र उपाध्यक्ष सुन्दरमती हरिजन पनि माओवादी केन्द्र छोडेर एमालेमा गएका छन्। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा पनि माओवादी केन्द्र छोडेर एमाले गएका छन्।
अर्घाखाँचीको जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी माओवादी छोडेर एमाले भएका छन्। टोपबहादुर रायमाझीको प्रभावले अर्घाखाँचीमा माओवादी केन्द्र छोड्नेको संख्या बढेको देखिन्छ। माओवादी छोडेका रायमाझी हाल एमालेका सचिव छन्। सुदूरपश्चिमको कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छायादेवी देवकोटा र अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउदले पनि माओवादी केन्द्र छोडे।
नेकपा एमालेमा सबैभन्दा धेरै माओवादी केन्द्र परित्याग गरी जनप्रतिनिधि प्रवेश गरेका छन्। ४१ पालिका प्रमुख र उपप्रमुख माओवादी केन्द्र परित्याग गरेर आएका छन्। मधेस प्रदेशमा एमालेको जनलहर छ।
विष्णु रिजाल - प्रचार विभाग उपप्रमुख, एमाले
मधेस प्रदेशको पर्सा जिल्लामा तीन जना प्रमुखले अन्य पार्टी परिवर्तन गरेर एमाले प्रवेश गरेका छन्। वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले जसपा, छिपहरमाई गाउँपालिका प्रमुख मनोजकुमार गुप्ता र जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँले माओवादी केन्द्र परित्याग गरेका छन्। यस्तै, उपप्रमुखमा धोबिनी गाउँपालिकाका पारसनाथप्रसाद कुर्मी र सखुवाप्रसौनि गाउँपालिकाका उपप्रमुख फुलमतीकुमारी थरुनीले जसपा छाडेका छन्। बहुदरामाई नगरपालिकाका उपप्रमुख गायत्री देवीले भने कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेकी छन्। बारामा आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारीले जसपा परित्याग गरेको एमालेको भनाइ छ।
रौतहटमा चार प्रमुखले माओवादी केन्द्र र कांग्रेस परित्याग गरेका छन्। इशनाथ नगरपालिका प्रमुख सन्तोषकुमार मेहता र राजपुर नगरपालिका प्रमुख मो सकिल अख्तरले कांग्रेस परित्यार गरेका छन्। माओवादीबाट भने कटहरिया नगरपालिका प्रमुख सीतारामप्रसाद कुशवाह र मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले पर्टी परित्याग गरेका हुन्। यस्तै उपप्रमुखमा माओवादी केन्द्रका धेरै छन्। देवाही गोनाही नगरपालिका उपप्रमुख परनिया देवी, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कौशिला राउत जयसवाल, मौलापुर नगरपालिका उपप्रमुख गौरी शंकरप्रसाद र यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साहले माओवादी परित्याग गरेका हुन्। जसपाबाट पार्टी परित्याग गर्नेमा राजदेवी नगरपालिका उपप्रमुख अंशु सिंह र बौधीमाई नगरपालिका उपप्रमुख प्रेमलता कुसवाह छन्।
सर्लाहीका कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादवले लोसपा परित्याग गर्दै एमाले गएका छन् भने महोत्तरी सम्सी गाउँपालिका प्रमुख शेष फारुकले माओवादी केन्द्र त्यागेका छन्। उपप्रमुखमा जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी र पिपरा गाउँपालिका उपप्रमुख विनोदकुमार चौधरीले लोसपा त्यागेका छन्। धनुषामा गणेशनाथ चारनाथ नगरपालिका उपप्रमुख मीनाकुमारी यादव र विदेह नगरपालिका उपप्रमुख निलमकुमारी देवीले माओवादी केन्द्र छाडेका छन्। लुम्बिनी प्रदेशमा रुपन्देहीको रोहिणी गाउँपालिका, अध्यक्ष सनोजकुमार यादवले जसपा, पन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष, हिरा केवट (राहुल) र अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले माओवादी केन्द्र त्यागेका छन्। यस्तै गुलरिया नगरपालिकामा उपप्रमुख सुशीला गिरीले नेपाली कांग्रेस, ओमसतियाकी उपाध्यक्ष सुन्दरमती हरिजन र जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका छन्। सुदूरपश्चिमको कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छायादेवी देवकोटा र अछामको बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउदले माओवादी केन्द्र छाडेका छन्।
नेपाली कांग्रेस
कांग्रेसमा पनि पार्टी छाड्ने र आउने क्रम चलेको छ। पार्टीमा भूमिका नपाएपछि र पाउने सम्भावना नदेखेपछि छाड्ने क्रम धेरै छ। केहीले भने अर्को दलबाट आए पनि उम्मेदवारको टिकट पाएका छन्। सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव चैत २६ गते नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी हुन्। उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले बताए।
पुस १९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा एमालेबाट बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्षमा निर्वाचित कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह माघ २२ गते कांग्रेस प्रवेश गरेका छन्। स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका शाहले कांग्रेस रोजेका हुन्।
फागुन २४ गते दोलखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरे। नेकपा एमालेबाट निर्वाचित उनलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए। फागुन २७ गते पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार कांग्रेस प्रवेश गरे। नेपाली जनता दलबाट निर्वाचित उनलाई देउवाले स्वागत गरे। सोही दिन बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द कांग्रेस प्रवेश गरिन्। कांग्रेस नेता चित्रालेखा यादव भन्छिन्, ‘भारतीय सीमा क्षेत्रनजिक भएर पनि हो कि अन्य दलको नेतृत्वमा बसेका जनप्रतिनिधि पनि पार्टी प्रवेश गर्नुहुन्छ। अवसर नपाउनु पनि एउटा कारण हुन सक्छ। एउटामा अवसर नपाएपछि अर्कोमा फड्को मार्ने प्रचलन छ।’
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह स्वतन्त्रबाट निर्वाचित थिए। अहिले कांग्रेस प्रवेश गरेका छन्। दोलखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले र पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले जसपा त्यागेर कांग्रेस बनेका छन्।
माओवादी केन्द्र
२०७४ सालको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए। अहिले उनी पार्टी छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन्।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहितका जनप्रतिनिधिलाई माओवादीमा प्रवेश गराउन पुगेका माओवादी अध्यक्ष प्रचण्ड। तस्बिर : ललितबहादुर बुढा
विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि शुक्ल तत्कालीन नेकपा प्रवेश गरेका थिए। नेकपा भंग हुँदा एमालेमै बसेका उनी अहिले माओवादी केन्द्रमा गएका छन्। डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ माओवादीमा प्रवेश गरेका छन्। उनी पहिले एमाले थिए। पर्साको जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बिसमिल्लाह खातुन जसपा छोडेर माओवादी केन्द्र प्रवेश गरेकी छन्। जाजरकोटको जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानीप्रसाद आचार्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए।
नेकपा एकीकृत समाजवादी
नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा पनि प्रवेश गर्ने जनप्रतिनिधि छन्। डोल्पाबाट दुई जना गाउँपालिका अध्यक्ष नेकपा एसमा प्रवेश गरेका छन्। एमालेबाट अघिल्लो निर्वाचनमा निर्वाचित भएका अध्यक्षद्वय अंगतकुमार राना र सेनाङ गुरुङ नेकपा एसमा प्रवेश गरे। सेनाङ यो बीचमा माओवादी केन्द्रमा थिए। रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ पनि नेकपा एसमा गएका छन्। कञ्चनपुरको वेदकोटका मेयर अशोक चन्द पनि हालै एमाले छोडेर नेकपा एसमा आएका छन्।
भारतीय सीमा क्षेत्रनजिक भएर पनि हो कि अन्य दलको नेतृत्वमा बसेका जनप्रतिनिधि पनि पार्टी प्रवेश गर्नुहुन्छ। अवसर नपाउनु पनि एउटा कारण हुन सक्छ। एउटामा अवसर नपाएपछि अर्कोमा फड्को मार्ने प्रचलन छ। - चित्रालेखा यादव, कांग्रेस नेतृ

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेपछि ।
को कुन पार्टीबाट कहाँ प्रवेश ?
एमालेमा प्रवेश
- विजयकुमार सरावगी, वीरगन्ज महानगरपालिका प्रमुख (जसपा)
- मनोजकुमार गुप्ता, पर्सा छिपहरमाई गाउँपालिका अध्यक्ष (माओवादी)
- जालिम मियाँ, पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष (माओवादी)
- पारसनाथ प्रसाद कुर्मी, पर्सा धोविनी गाउँपालिका उपाध्यक्ष (जसपा)
- फुलमतीकुमारी थरुनी, पर्सा सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष (जसपा)
- गायत्री देवी, पर्सा बहुदरमाई नगरपालिका उपप्रमुख (कांग्रेस)
- मुस्तुफा अन्सारी, बारा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष (जसपा)
- सन्तोषकुमार मेहता, रौतहट इशनाथ नगरपालिका प्रमुख (कांग्रेस)
- सीतारामप्रसाद कुशवाह, रौतहट कटहरिया नगरपालिका प्रमुख (माओवादी)
- रीनाकुमारी साह, रौतहट मौलापुर नगरपालिका प्रमुख (माओवादी)
- मो सकिल अख्तर, रौतहट राजपुर नगरपालिका प्रमुख (कांग्रेस)
- परनियादेवी, रौतहट देवाही गोनाही नगरपालिका उपप्रमुख (माओवादी)
- कौशिला राउत जयसवाल, रौतहट फतुवा विजयपुर नगरपालिका उपप्रमुख (माओवादी)
- गौरीशंकरप्रसाद, रौतहट मौलापुर नगरपालिका उपप्रमुख (माओवादी)
- गीतादेवी साह, रौतहट यमुनामाई गाउँपालिका उपप्रमुख (माओवादी)
- अंशु सिंह, रौतहट राजदेवी नगरपालिका उपप्रमुख (जसपा)
- प्रेमलता कुसवाह, रौतहट बौधिमाई नगरपालिका उपप्रमुख (जसपा)
- कौशलकिशोर यादव, सर्लाही कविलासी नगरपालिका प्रमुख (लोसपा)
- शेष फारुक, महोत्तरी सम्सी गाउँपालिका अध्यक्ष (माओवादी)
- मनचुन देवी, महोत्तरी जलेश्वर नगरपालिका उपप्रमुख (लोसपा)
- विनोदकुमार चौधरी, महोत्तरी पिपरा गाउँपालिका उपाध्यक्ष (लोसपा)
- मीनाकुमारी यादव, धनुषा गणेशनाथ चारनाथ नगरपालिका उपप्रमुख (माओवादी)
- निलमकुमारी देवी, धनुषा विदेह नगरपालिका उपप्रमुख (माओवादी)
- सनोजकुमार यादव, रुपन्देही रोहिणी गाउँपालिका अध्यक्ष (जसपा)
- हिरा केवट (राहुल), रुपन्देही ओमसतिया गाउँपालिका अध्यक्ष (माओवादी)
- सुन्दरमती हरिजन, रुपन्देही ओमसतिया गाउँपालिका उपाध्यक्ष (माओवादी)
- रेशम थापा, अर्घाखाँची भुमिकास्थान नगरपालिका प्रमुख (माओवादी)
- ऋषिबहादुर पुलामी, अर्घाखाँची जिसस उपप्रमुख (माओवादी)
- सुशीला गिरी, बर्दिया गुलरिया नगरपालिका उपप्रमुख (कांग्रेस)
- दिलीपकुमार बगडिया (अग्रवाल), मोरङ रंगेली नगरपालिका प्रमुख (माओवादी)
- केशवकुमारी खनाल, मोरङ रंगेली नगरपालिका उपप्रमुख (माओवादी)
- छायादेवी देवकोटा, कैलाली भजनी नगरपालिका उपप्रमुख (माओवादी)
- लोकबहादुर साउद, अछाम बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष (माओवादी)
कांग्रेसमा प्रवेश
- रजतप्रताप शाह, कपिलवस्तु कृष्णनगर नगरपालिका प्रमुख (स्वतन्त्र)
- केदार क्षेत्री, दोलखा बलेफी गाउँपालिका अध्यक्ष (एमाले)
- दीपनारायण रौनियार, पर्सा पोखरिया नगरपालिका प्रमुख (जसपा)
- सीताकुमारी यादव, सिरहा औरही गाउँपालिका उपाध्यक्ष (जसपा)
- लक्ष्मी गौतम, अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष (एमाले)
- कुस्मा चन्द, बैतडी शिवनाथ गाउँपालिका उपाध्यक्ष (एमाले)
- भूपेन्द्र श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष (एमाले)
माओवादी केन्द्र प्रवेश
- जितेन्द्रनाथ शुक्ल (बब्लु), रुपन्देही सम्मरीमाई गाउँपालिका अध्यक्ष (तत्कालीन फोरम लोकतान्त्रिक)
- तेम्बा गुरुङ, डोल्पा डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष (एमाले)
- ज्ञानीप्रसाद आचार्य, जाजरकोट जिसस उपप्रमुख (कांग्रेस)
- बिसमिल्लाह खातुन, पर्सा जगनाथपुर गाउँपालिका उपाध्यक्ष (जसपा)
एकीकृत समाजवादीमा प्रवेश
- अंगतकुमार राना, डोल्पा काइके गाउँपालिका अध्यक्ष (एमाले)
- सेनाङ गुरुङ, डोल्पा छार्का ताङसोङ गाउँपालिका अध्यक्ष (एमाले)
- प्रेम तामाङ, रामेछाप खाँडादेवी गाउँपालिका अध्यक्ष (एमाले)
- अशोक चन्द, कञ्चनपुर वेदकोट नगरपालिका प्रमुख (एमाले)
जसपामा प्रवेश
- निरसल साह, सर्लाही मलंगवा नगरपालिका प्रमुख (कांग्रेस)
- रेणु झा, धनुषा हंसपुर नगरपालिका उपप्रमुख (तत्कालीन राजपा)
सुरेन्द्र काफ्ले/काठमाडौं, राधा खनाल/काठमाडौं, राजकरण महतो/काठमाडौं, लक्ष्मण पोखरेल/बुटवल, किशोर बुढाथोकी/विराटनगर, ललितबहादुर बुढा/सुर्खेत, कृष्ण सारु मगर/मकवानपुर, सलमान खान/भैरहवा, रोजन तामाङ/काभ्रे, सन्तोष ढुंगेल/रामेछाप, राजन गाउँले/सिन्धुली, देवचन्द्र भट्ट/नुवाकोट, क्रान्ति शाह/वीरगन्ज, सुनिल ठाकुर/मलंगवा, महादेव अवस्थी/महेन्द्रनगर, राजेन्द्र कार्की/जाजरकोट, हरि लम्जेल/धनकुटा, भीमकुमार बाँस्कोटा/फिदिम, राजकुमार आले/तनहुँ
प्रतिक्रिया दिनुहोस !