चुनावले चर्कियो विप्लवको पार्टी

चुनावले चर्कियो विप्लवको पार्टी

 काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा विवाद चुलिएको छ। दुई प्रभावशाली नेतालाई कारबाही गरेसँगै पार्टीभित्रको विवाद सतहमा आएको हो। फुटपरस्त एवं अराजक गतिविधि गरेको आरोप लगाउँदै बुधबार सचिवालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बास्तोला (कञ्चन) लाई पद मुक्त गरेपछि पार्टी नै फुटको संघरमा पुगेको छ। 

बास्तोला र ओलीले पार्टीद्वारा स्थानीय चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो चुनावबाट फिर्ता नभए कारबाही गर्ने जस्ता काम गरेकाले उनीहरूलाई कारबाही गर्नुपरेको महासचिव विप्लवद्वारा निकालिएको विज्ञप्तिमा उल्लेख छ। बास्तोला र ओली पक्षले विज्ञप्ति निकाल्दै पार्टीका नाममा उम्मेदवारी नदिन र दिएको भए फिर्ता गर्न चेतावनी दिएको थियो। महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्ष चुनावको पक्षमा र बास्तोला र ओली विपक्षमा छन्। यी लगायतका विषयले पार्टीभित्र लामो समयदेखि उनीहरूबीच खटपट भइरहेको स्रोतले बताएको छ। 

यता महासचिव विप्लवले कारबाही गर्नुमा निर्वाचनभन्दा अन्य कारण पनि रहेको जनाएका छन्। ‘आर्थिक र संगठानिक विषय पनि जोडिएको छ। उनीहरूले अहिले आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क गर्नु गलत र नियोजित प्रचार मात्रै हो,’ विप्लवले भने। गत चैत ८ गते राति नेता ओली पक्राउ पर्नुको कारण पनि फरक रहेको महासचिवले खुलाएका छन्। 

पार्टीको सुझाव र नीतिविपरीत कार्य गरेकाले उनी पक्राउ परेको उनले बताए। ओलीले गत असोज र कात्तिकमा रुकुम, दाङ र जाजरकोटमा भएको प्रशिक्षणमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग गर्न सकिने तर्क राखेका थिए। कार्यनैतिकको विषय बनाएर उपयोग गर्न सकिने भन्ने विषयमा जिल्लाका नेता र कार्यकर्ताबीच प्रश्न पनि उठेको थियो।  

अनि सुरु भयो विवाद

पार्टीको जिम्मेवारी र कार्यनीतिका विषयमा महासचिवले बास्तोलासहितको छलफल नै चलाएका थिए। केही विषयमा उनीहरूबीच विवाद भयो। बास्तोलाले नौ पूर्ण बैठकदेखि नै कार्यनीतिक रूपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउन सकिने बताएका थिए। यो विषयमा विप्लव र बास्तोलाबीच कुरा मिलेन। चुनाव र राष्ट्रपति संसद्वादी नहुने तर्क बास्तोलाले राखे। पार्टीले कार्यनीतिका रूपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्र्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी प्रतिनिधिलाई सहभागी बनाउने र सहयोग गर्ने’ बास्तोलाको प्रस्ताव थियो। यस्तो प्रस्ताव गर्नुनै पार्टीको हितविपरीत रहेको विप्लवको तर्क थियो। 

‘जब कुनै नेताले आफ्ना राजनीतिक दृष्टिकोण र व्यावहारिक गतिविधि पार्टीका वैचारिक, आर्थिक, राजनीतिक एवं संगठनात्मक मान्यताभन्दा उल्टो गर्दै जान्छ। उसले औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुन्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्। 

उनीहरूले अलग केन्द्रका रूपमा नै वक्तव्य निकालेको पनि विप्लवको भनाइ छ। ओली र बास्तोलाले मच्चाएको बितन्डाको विषयमा पार्टी सचिवालयमा छलफल पनि भएको विप्लव पक्षको दाबी छ। विभिन्न बैठक भेला गर्दै उनीहरू हिँडेकाले पार्टी विधानअनुसार दुवैलाई अनिश्चित समयका लागि जिम्मेवारीबाट मुक्त गरिएको विप्लवको विज्ञप्तिमा छ। कारबाहीमा परेका सचिवालय सदस्य बास्तोलाले बिहीबार आफू पक्षका नेताहरूको बैठक बोलाएर आवश्यक निर्णय गरिने बताएका छन्। 

उनले पार्टी निर्णयविपरीत चुनावमा गएकाले नै आफूले फिर्ता हुन नसक्ने भनेको स्पष्ट पारे।  ‘उहाँहरू केन्द्रीय कमिटीको निर्णयविपरीत चुनावमा गएकाले मैले विज्ञप्ति निकालेको हुँ,’ उनले भने, ‘जनतालाई क्लियर गर्न विज्ञप्ति निकाले। तर, विप्लवले छलफलै नगरी कारबाही गर्नुभयो।’ गत चैत ४ देखि १४ गतेसम्म कपिलवस्तु भएको बैठकमा बास्तोला र ओली पक्षको कार्यनीति पास भएको थियो। उनले पार्टीमा आफ्नो पक्षको विचारको बहुमत रहेको बताएका छन्। ‘हामीसँग पार्टीमा विचारको बहुमत छ,’ बास्तोलाले भने, ‘कपिलवस्तु बैठकमा हाम्रो कार्यनीति पास भयो, विप्लवको फेल भयो। त्यहाँबाट हाम्रो खेदो सुरु भयो।’ 

उम्मेदवारी कहाँ–कहाँ दिइयो ? 

पार्टीभित्रको विवादकाबीच विप्लव नेतृत्वको नेकपा पनि स्थानीय तहको निर्वाचनमा सहभागी छ। विगतमा निर्वाचन बहिस्कार गर्दै आएको यो पार्टीले कालिकोट, रोल्पा, कपिलवस्तु, गुल्मी, पाल्पा, गोरखा, सर्लाही, उदयपुर, झापा, मनाङ, कास्की, रुकुम, दाङ, प्यूठान, सल्यान, मकवानपुर, चितवन, नुवाकोट, दोलखा, काठमाडौं, ललितपुर, हुम्ला, जुम्ला, कञ्चनपुर र कैलालीलगायतका जिल्लामा उम्मेदवारी दर्ता गराएको छ। स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको छ। 

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कोलिकोटका ९ वटै स्थानीय तहमा उम्मेदवारी दिएको छ। रोल्पाका थवाङसहित ६ वटा स्थानीय तहमा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीयस्तरका नेता उम्मेदवार भएका छन्। केन्द्रीय सदस्यहरू चूडामणि वली, भेषराज भुसाल, एटम बीसी र धीरेन्द्राकुमारी उपाध्याय लगायतको उम्मेदवारी परेको छ। कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’, नरहरीनाथ गाउँपालिकाबाट केन्द्रीय सदस्य एटम बीसी उम्मेदवार भएका छन्।

केन्द्रीय सदस्य चिरण पुनका अनुसार रोल्पाको गंगादेव गाउँपाकिलाबाट केन्द्रीय सदस्य नेता चूडामणि वलीले उम्मेदवारी दिएका छन्। कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भुसालले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै कम्युनिष्ट पार्टीको उद्गम स्थल रोल्पाको थबाङमा अमित घर्तीमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन्। पूर्ण संख्यात्मक विवरण भने आइनसकेको पार्टीको केन्द्रीय 
कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.