जी-७ को निर्णय अनुमोदन नगर्न ट्रम्पको आदेश
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी ठूला औद्योगिक राष्ट्रहरूको समूह जी-७ को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने स्पष्ट पारेका छन् ।
ट्रम्पले भने, ‘हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र सम्मेलनपछि जारी गरिने संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्नेछैनौँ ।’ राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्न पनि निर्देशन दिएका छन् । क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोराएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् । अरू सदस्यहरूले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह जी-७ का देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरूमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि दाबी गरेका छन् ।
जी- ७ का सदस्य राष्ट्रहरूले अमेरिकाले स्टिल र आलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो । त्यस सहमतिपछि भने दुवैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदोले अमेरिकाले कर लगाएमा क्यानडाले पनि जुलाई १ देखि कर लगाउने बताएका थिए । त्यस भनाइप्रति अमेरिकाको कडा विरोध आएको हो । उनले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टिल र आलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसंगत हुन नसक्ने धारणा राखेका थिए । राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बावजुद पनि युरोपेली संघ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जी-७ मा उपस्थित नेताहरूको अडान छ ।
आइतबार बिहान ट्विट गर्दै ट्रम्पले आफ्नो यो विचार रहेको भनेर उक्त कर प्रणाली र जी-७ समूहका बारेमा आधिकारिक धारणा स्पष्ट गरेका हुन् । ट्विट सन्देशमा राष्ट्रपति ट्रम्पले क्यानडेली प्रधानमन्त्रीले झूटो वक्तव्य दिएको आरोप पनि लगाएका छन् । उनले अमेरिकी किसानका उत्पादनहरू, यहाँका मजदुर र अमेरिकी कम्पनीहरूमाथि क्यानडाले व्यापक मात्रामा कर लगाएको बताएका छन् । राष्ट्रपति ट्रम्प त्रुदोसँग निकै अनुदार देखिएका छन् । उनले जी-७ को बैठकमा क्यानडाली प्रधानमन्त्री नरम र भद्र देखिएको तर पछि अमेरिकी करहरूको व्यापक आलोचक बनेको दाबी गरे । त्रुदोले अमेरिकी अर्थतन्त्रकै अपमान गरेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् ।
युरोपप्रतिको विश्वास ‘बिगार्ने’
फ्रांकफर्ट : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी-७ बारे आइतबार गरेको ट्विटर सन्देश वासिङटनको युरोपप्रतिको विश्वास बिगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । जर्मनीका विदेशमन्त्री हेइको मासले भने, ‘जी-७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्विटर सन्देशले अमेरिका र युरोपबीचको विश्वासिलो सम्बन्ध तोडेको छ ।’
एउटा ट्विटले अमेरिका र युरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न सक्ने उनले बताए । त्यसको युरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्ने जर्मन विदेशमन्त्री मासले स्पष्ट पारे । उनले भने, ‘एकताबद्ध युरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।’
राष्ट्रपति ट्रम्पको भनाइको फ्रान्सले पनि विरोध गरेको छ । रिस र आवेगमा अन्तर्राष्ट्रिय सहयोग आफ्नो मनोमानीपूर्वक चलाउन अमेकिालाई नदिइने फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले स्पष्ट पारेका छन् । आफ्नो भनाइबाट अमेरिका पछि हट्नु असंगत र बचपना भएको फ्रान्सको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !