प्रेम र फुटबल : नौ वर्षमै मेसीकाे लभ ! नेमारका १८ प्रेमिका, अविवाहित रोनाल्डोका चार सन्तान !

प्रेम र फुटबल : नौ वर्षमै मेसीकाे लभ ! नेमारका १८ प्रेमिका, अविवाहित रोनाल्डोका चार सन्तान  !

फुटबल खेलाडीहरू शारीरिक रूपमा तन्दरुस्त रहने हुँदा सुन्दर देखिन्छन्। उनीहरूले कमाउने दाम र नाम पनि लोभलाग्दो हुन्छ। त्यसैले, विश्वका चर्चित मोडेल, नायिकाहरू पनि यी खेलाडीप्रति हुरुक्कै हुनु स्वाभाविक मानिन्छ। फुटबल खेलाडीले दर्शकको सर्वत्र माया पाउँछन् तर उनीहरूका प्रेमीका या पत्नी गुमनाम देखिन्छन्। यद्यपि यी खेलाडीको जीवनलाई सुखी बनाएर उनीहरूको खेल जीवनमा पनि सफलता हासिल गराउन उनीहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।

कतिपय सन्दर्भमा खेलाडीको पैसाकै पछि लागेर उनीहरूको जीवनमा आउनेजाने युवती पनि होलान्। तर धेरै चर्चित खेलाडीका जीवनमा चोखो मायाकै कारण उनीहरूको दाम्पत्य जीवनमा ती महिला बाँधिएको देख्न पाइन्छ।

नेमारका १८ प्रेमिका

सबैभन्दा बढी प्रेमिका बटुल्ने खेलाडीको सूचीमा पर्छन्, ब्राजिलियन खेलाडी नेमार। उनले हालसम्म करिब १८ जना महिलासँग प्रेमसम्बन्ध गाँसिसकेका छन्। उनका प्रेमीकाहरूमध्ये सबैभन्दा पहिलो नम्बरमा पर्ने र्‍याफेला ल्यान्सिलोटी र उनको सम्बन्धको बारेमा त्यति धेरै जानकारी सार्वजनिक भएको छैन। उनकी दोस्रो प्रेमिका क्यारोलिना डन्टास भने उनको छोराकी आमा हुन्। उनीहरू सन् २०१० मा एकअर्कालाई भेटेका थिए। १९ वर्षको उमेरमै बाबु बनेका नेमार आफ्नो छोरा डेभिड लुस्सा डा सिल्भा स्यान्टोसमाथि निकै गर्व गर्छन्।

यसपछि पनि नेमारले फरन्यान्डो बार्रोसो, अनामरा, एन्ड्रेसा सुइटा, बार्बरा इभान्सलगायत धेरैलाई प्रेमिका बनाए। यीमध्ये नायिका ब्रुना माक्र्विजिनसँग भने उनको सम्बन्ध निकै जटिल बन्न पुग्यो। सन् २०१४ मा ब्रुनालाई छाडेर सेलेना गोमेजलगायतका नायिकासँग अफेयर चलाएका नेमार हाल पुनः ब्रुनासँगैको सामीप्यतामा रमाएका छन्। गत अगस्टदेखि नेमारसँग पुनः डेटिङ सुरु गरेकी ब्रुनाले उनीसँग परिवार बसाउन चाहेको खुलासा गरेकी छन्।

नौ वर्षमै प्रेममा परे मेस्सी

फुटबलका सुपरस्टार मानिने मेस्सी र उनकी पत्नी एन्टोनेल्ला रोकुज्जोको पहिलो भेट पाँच वर्षको उमेरमा नै भएको थियो। समयक्रमसँगै यी जोडी नजिकिँदै गए। मेस्सी नौ वर्षकै हुँदा एन्टोनेलाप्रति उनमा प्रेमभाव उत्पन्न भइसकेको थियो। 'जब तिमी ठूली हुन्छ्यौ, तब मेरी प्रेमिका हुन्छ्यौ' भनेर मेस्सीले त्यतिबेलै चिठी लेख्ने गर्थे। २१ वर्षको उमेरमा उनीहरूको सम्बन्ध अझै बढी झाँगिदै गयो र यसबारेमा धेरैले थाहा पाए।

यद्यपि उनीहरूले आफ्नो लामो प्रेमसम्बन्धको बारेमा सन् २००९ मा मात्रै सार्वजनिक गरेका थिए। उनले एक अन्तर्वार्तामा आफूलाई जीवनभर खुसी राख्ने एक युवती अर्जेन्टिनामा रहेको बताएपछि एन्टोनेल्ला यी खेलाडीको जीवनसाथी रहेकी खुलासा भएको थियो।

यही बीचमा एन्टोनेल्ला ल्याटिन अमेरिकन एजुकेसन सेन्टरमा पढ्न गइन्। यसको करिब तीन वर्षसम्म उनी आफ्नै सहरका अर्का एक युवासँग डेटिङ गइन् भने मेस्सी आफ्नै करियर सफल बनाउनतर्फ लागे। एन्टोनेल्लाको उक्त प्रेमीको एक कार दुर्घटनामा मृत्यु भयो। यसबारेमा थाहा पाएपछि मेस्सी उनलाई भेट्न अर्जेन्टिना गए। त्यसपछि उनीहरूबीचको सामीप्यता बढ्दै गयो। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको च्याम्पियसनसिपमा उनीहरूबीचको सम्बन्ध पुनः सार्वजनिक भयो।

विश्वकै शक्तिशाली दम्पती

अन्तर्राष्ट्रिय रूपमै ख्याति कमाएकी पप स्टार भिक्टोरिया बेकह्याम र म्यानचेस्टर युनाइटेडका खेलाडी डेभिड बेकह्यामलाई विश्वकै एक शक्तिशाली दम्पतीको रूपमा लिइन्छ। तिनीहरूको भेट दुई दशक अगाडि भएको हो। चर्चित सांगीतक ब्यान्ड स्पाइस गल्र्सकी सदस्य भिक्टोरियासँग डेभिडको पहिलो भेट सन् १९९७ मा भएको थियो। अरु खेलाडीहरू साथीभाइसँग बारमा पिइरहेका बेलामा डेभिड भने आफ्नो परिवारसँगै बस्दा रमाउने गर्थे।

यी दम्पतीले पहिलो सन्तान ब्रुकलिनलाई सन् १९९९ मार्चमा जन्म दिएको चार महिनापछि आइल्यान्डमा विवाह गरेका थिए। आज पनि डेभिडको जति चर्चा छ, त्यति नै उनकी पत्नी भिक्टोरिया पनि फेसन डिजाइनर र महिला उद्यमीका रूपमा सफल मानिन्छन्।

साकिरालाई हेर्न फाइनलमा पुगे जेरार्ड

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकको चर्चित गायिका साकिरासँग सन् २०१० को वल्र्डकप गीत 'वाकावाका'को छायांकनको क्रममा भेट भएको थियो। म्याड्रिडमा भएको उक्त छायांकनको पहिलो भेटमै उनले साकिराको फोन नम्बर मागेका थिए। विश्वकप सुरु हुनु केही दिनअगाडि उनले यी कोलम्बियन पप स्टारलाई मोबाइलमा म्यासेज पठाउँदै दक्षिण अफ्रिकाको मौसमको बारेमा सोधेका थिए।

साकिराले विश्वकपको उद्घाटन समारोहमा गीत गाउने भएकाले उनी जेरार्डभन्दा पहिले नै त्यहाँ आइपुगिसकेकी थिइन्। यही कारणले उनले पुनः साकिरालाई त्यहाँको मौसमको बारेमा जिज्ञासा राखे। तर साकिराले पहिलेको जस्तो 'यहाँ चिसो छ, कोट ल्याऊ' भन्ने छोटो उत्तर नलेखी मौसमको निरन्तर अपडेट दिँदै गइन्। जेरार्डले पनि साकिराको पलपलको सन्देशमा लुकेको मायालाई बुझिहाले। त्यसपछि यी दुईबीच फुटबल टुर्नामेन्टभरि सन्देशको आदानप्रदान भइरह्यो।

पप स्टार भिक्टोरिया बेकह्याम र म्यानचेस्टर युनाइटेडका खेलाडी डेभिड बेकह्यामलाई विश्वकै एक शक्तिशाली दम्पतीको रूपमा लिइन्छ।

साकिराले विश्वकपको समापन समारोहमा पनि गाउने कार्यक्रम तय भएको थियो। जेरार्ड साकिराको प्रेममा यति डुबिसकेका थिए कि साकिरालाई हेर्नकै लागि स्पेनलाई अन्तिम चरणसम्म पुर्‍याउने कसमसमेत उनले त्यतिबेला खाएका थिए। 'तिमीलाई हेर्नका लागि फाइनलसम्म पुग्न परे पनि म पुग्छु' भन्ने जेरार्डको कसम पूरा भयो। उनीहरूबीचको दोस्रो भेट विश्वकपको फाइनल चरणको खेलपछि नै भयो। आफ्ना दुई सन्तान मिलन र शशाका अभिभावक बनिसकेका यी जोडीको दाम्पत्य जीवन पनि निकै सफल मानिन्छ।

२० वर्षमै विवाहित मुलर

जर्मन खेलाडी थोमस मुलर र लिजा मुलरको पहिलो भेट सन् २००६ मा भएको थियो। १७ वर्षको कलिलै उमेरमा यी जोडीले आफ्नो डेटिङ सुरु गरेका थिए। यसको दुई वर्षपछि क्रिसमस इभको मौका पारेर थोमसले आफ्नी प्रेमिकालाई प्रस्ताव राखिहाले। सन् २००९ मा उनीहरू वैवाहिक जीवनमा बाँधिए।

२० वर्षकै उमेरमा विवाह गरेका मुलर त्यसबेला त्यति चर्चित भइसकेका थिएनन्। लिजा एक मोडेलका साथै व्यावसायिक हर्स राइडर पनि हुन्। थोमससँग भेट हुुनुअगाडि लिजालाई फुटबलप्रति खासै रुचि थिएन। तर मुलर फुटबलमा जम्दै गएपछि उनले पति र जर्मनको साथ दिँदै समर्थन गर्ने गरेकी छिन्।

चार सन्तानका बाबु, अविवाहित रोनाल्डो

चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको पेरिस हिल्टन, किम कार्डियासियन, इरिना स्याक, पउला सुवारेजलगायतका विश्वका अति नै सुन्दर र चर्चित महिलासँग प्रेमसम्बन्ध गाँसिन पुग्यो। तर उनले औपचारिक रूपमा यी कुनै पनि युवतीलाई प्रेमप्रस्ताव राख्ने वा विवाह गरेका छैनन्।

हिल्टनसँग सम्बन्धमै रहेका बेलामा एक दिन रोनाल्डो साथीहरूसँग एक अमेरिकी रेस्टुरेन्टमा खान गए। उनलाई सोही रेस्टुरेन्टको एक वेट्रेस मन परेपछि उनीसँगै रात बिताए। ती वेट्रेस गर्भवती भइन्। रोनाल्डोले आफ्नो बच्चालाई उनको परिवारमा लगुन् भन्ने उनको चाहना थियो।

उनले ती महिलालाई एक करोड ५० लाख डलर दिए। सन् २०१० मा जन्मिएका उनको छोरा १८ वर्षको भएपछि मात्रै रोनाल्डोले आफ्ना छोरालाई उनकी आमाको बारेमा बताउने सर्त राखेका छन्। रियल म्याड्रिडका यी खेलाडीले अमेरिकामा एक सरोगेट आमाबाट पनि इभा नाम गरेकी एक छोरी र मटियो नाम गरेका एक छोरा जन्माइसकेका छन्।

त्यसैगरी रोनाल्डोकी प्रेमिका जोर्जिना रोड्रिगियुजले अलाना मार्टिन नाम गरेकी एक छोरीलाई गत वर्षको नोभेम्बरमा जन्म दिएकी छिन्। यसरी दुई छोरा र दुई छोरीका बाबु रोनाल्डो अझै अविवाहित छन्।

जमेन जेम्सको विवाह

ब्राजिलमा भएको पछिल्लो विश्वकपमा उत्कृष्ट स्कोररका रूपमा रहेका कोलम्बियन स्टार जेम्स रोड्रिगिजले यस वर्ष पनि आफ्नो समूहलाई कम्तीमा सेमिफाइनलसम्म पुर्‍याउने लक्ष्य लिएका छन्। आर्सेनल किपर डेभिड अस्पिनाकी बहिनी डनिला अस्पिनासँग रोड्रिगिजको वैवाहिक सम्वन्ध करिब ६ वर्षसम्म टिक्यो। तर जेम्सको अर्की मोडेल हेल्गा लभक्याटीसँगको सम्बन्धको हल्लाले गर्दा उनी पतिसँग जर्मनी जान चाहिनन्। उनीहरू पारपाचुकेको निर्णयमा पुगे। छोरीलाई हुर्काउने जिम्मेवारीका कारण यी दुईबीच अहिले पनि साथीको जस्तो राम्रै सम्बन्ध रहेको पाइन्छ।

सुन्दरीसँगको सम्बन्ध

बार्सिलोनाका मिडफिल्डर एन्ड्री इनिस्टाले अन्ना अर्टिजसँग सन् २००८ देखि नै डेटिङ सुरु गरेका थिए। उनीहरूको विवाह सन् २०१२ जुलाईमा भयो। उनको विवाहमा बधाई दिन आउनेमध्ये अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सी पनि थिए।

इबिजामा जन्मिएकी स्पेनी नायिका योलान्थे कबाउ एक सौन्दर्यकी खानी नै मानिन्छन्। सन् २००६ देखि लगातार तीन वर्षसम्म उनी सबैभन्दा 'सेक्सी' डच महिलाको मनोनयनमा परेकी थिइन्। रियल म्याड्रिडका पूर्व स्टार वेन्स्ले स्निज्डरलाई विवाह गरेपछि उनी झन् चर्चित बनिन्।

मोडलिङबाट आफ्नो करियर सुरु गरेकी मिचेला क्वाट्रोसियोचे इटालियन फिल्म उद्योगको चिरपरिचित नाम हो। इटालीका स्टार मिडफिल्डर अल्बर्टो एक्विलिनीसँग सन् २०१२ मा विवाह गरेकी यी दम्पतीको एक छोरी पनि छन्।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.