धनकुटा : स्तम्भको सहर

धनकुटा : स्तम्भको सहर

कोसी पहाडी जिल्लाका स्थानीय तहको पहिचान दिलाउने स्तम्भ निर्माणको होड नै चलेको छ। तरकारी उत्पादनको हिसाबले नेपालको पूर्वी क्षेत्रमै नाम कहलिएको ठाउँ हो, छथरजोरपाटी गाउँपालिका। यस गाउँपालिकाभित्र परेवादिन, मूर्तिढुंगा, ताखुंवा, हात्तीखर्क, सिँधुवा र जोरपाटीजस्ता दर्जनभन्दा बढी ठाउँबाट वार्षिक करोडौं रुपैयाँबराबरको तरकारी उत्पादन हुन्छ। पूर्वी तराईका विभिन्न बजार साथै छिमेकी देश भारत र बंगलादेशसम्म निर्यात हुन्छ।

तरकारी उत्पादनले नाम कहलिएको उक्त ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउन सिँधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ राखिएको छ। यो स्तम्भ अचेल सिँधुवा बजार घुम्न आउने जोकोहीको नजरमा पर्छ। यहाँ आउने आगन्तुकहरू यसलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्छन्।

त्यस्तै, धनकुटा सदरमुकामदेखि १३ किलोमिटर उत्तरतर्फ रहेको हिलेबजारमा निर्माण गरिएको २२ फिटको तोङ्वाको प्रतिमा अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। हिले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि 'तोङवा' र 'सुकुटी' प्रसिद्ध छ। सोही परिकारबाट हिलेको पर्यटन प्रवद्र्धन गर्न तोङ्वाको प्रतिमा निर्माण गरिएको हो। वर्षैभरि चिसो हावापानी रहने हिलेमा आन्तरिक तथा बाह्य पर्यटकहरू वर्षैभरि आइरहन्छन्।

केही वर्षयता धनकुटाको विभिन्न ठाउँमा चिनारी दिने खालको 'स्तम्भ' बनाउने होडबाजी नै चल्न थालेको छ। ठाउँअनुसार आफ्नो विशेषतासँग जोडेर निर्माण भएका ती स्तम्भले पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर  श्रेष्ठ बताउँछन्।

कोसी पहाडी जिल्लाको प्रवेशद्वार धनकुटाको भेडेटारदेखि तेह्रथुमको सदरमुकाम म्याग्लुङ बजारसम्म पहिचान दिने खालका दर्जनभन्दा बढी स्तम्भ निर्माण गरिएका छन्। अहिले केही स्थानीय तहले स्तम्भ निर्माणका लागि बजेट विनियोजन गरिरहेका छन्। केही स्थानीय तहले आगामी आर्थिक वर्षमा बनाउने गरी योजना बनाएका छन्।

धनकुटाको भेडेटारदेखि तेह्रथुमको सदरमुकाम म्याग्लुङ बजारसम्म पहिचान दिने खालका दर्जनभन्दा बढी स्तम्भ निर्माण गरिएका छन्। यो क्रम बढ्दो छ।

भेडेटारमा भेडाको स्तम्भ निर्मार्णाधीन अवस्थामा छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भेडेटार डाँडामा रहेको भ्युटावर भत्काइदिएपछि सो ठाउँमा भेडेटारको पहिचान दिलाउने खालको भेडाको स्तम्भ निर्माण गर्न लागिएको होटेल एसोसिएशन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीले बताए।

स्तम्भ निर्माणका लागि पर्यटन पूर्वाधार कार्यालय काँकडभिट्टा र साँगुरीगढी गाउँपालिकाले लगानी गरिरहेको छ। लामो सिङसहितको उभिएको करिव १७ फिट अग्लो भेडाको स्तम्भ हुने उनले बताए। उक्त भेडाको स्तम्भ कलाकार रोजन राईले बनाउँदै छन्। आगामी वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ।

त्यस्तै भेडेटारबजार क्षेत्रमै रहेको शंखेश्वर महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो नै लाग्ने गर्छ। चार वर्षअघि कलाकार रोजन राईले नै उक्त शंखजस्तो देखिने स्तम्भ बनाएका हुन्। विभिन्न संघसंस्था र स्थानीयको गरी १७ लाख रुपैयाँमा निर्माण भएको उक्त मन्दिर पर्यटकको लागि प्रमुख गन्तव्यस्थल वनेको छ।

स्थानीय सिँधुवा सिंहदेवी युथ क्लबको संयोजनमा करिब सात लाख रुपैयाँ खर्चेर निर्माण गरिने फुलकोपीको स्तम्भमा अहिलेसम्म चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अहिले ११ फुटको पिलरमा उक्त स्तम्भ राखिएको छ। स्तम्भको बाहिरी भागमा स्टिल, रेलिङ, टायल, फोहोरा, बत्तीहरू निर्माण गर्न बाँकी छ। स्तम्भ निर्माणका लागि साबिक परेवादिन गाविसले २ लाख, हालको ६ नं. वडा कार्यालयले एक लाख ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।

दक्षिण एसियामै स्वादिलो सुन्तला उत्पादनको लागि नाम कहलिएको ठाउँ हो, सदिहभूमि गाउँपालिका। सुन्तला उत्पादन क्षेत्रको रूपमा परिचित गराउने उद्देश्यसहित 'सुन्तला' स्तम्भ निर्माण गर्न सहिदभूमि गाउँपालिकाले बजेट नै विनियोजन गरेको छ। चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी सुन्तला स्तम्भ निर्माण गर्न ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख मनोज राईले बताए। यहाँ उत्पादित खोकु जातको सुन्तला स्वादिलो भएको कारण नेपालसहित अन्य देशमा लोकप्रिय छ। तर अहिले स्तम्भ कहाँ राख्ने भन्ने विषयको निर्णय नहुँदा निर्माण सुरु भएको छैन।

यहाँ उत्पादित खोकु जातको सुन्तला स्वादिलो भएको कारण नेपालसहित अन्य देशमा लोकप्रिय छ। तर अहिले स्तम्भ कहाँ राख्ने भन्ने विषयको निर्णय नहुँदा निर्माण सुरु भएको छैन।

धनकुटा नगरपालिकाले पनि बजार क्षेत्रमा पहिचान दिलाउने खालको स्तम्भ निर्माण गर्न आन्तरिक तयारी सुरु गरेको छ। कुन स्थानमा कस्तो स्तम्भ राख्दा उचित होला भनेर अहिले नगरपालिकाले आन्तरिक गृहकार्य गरिरहेको पर्यटन शाखा प्रमुख विकास अधिकारीले बताए। सुन्तला र एबोकार्डोमध्ये एउटाको स्तम्भ निर्माण गरिने उनले बताए।

त्यस्तै धनकुटा नगरपालिका वडा नं. ३ कागतेमा पनि कागती र धनकुटा नामकरणको इतिहाससँग सम्बन्धित ओखलीको स्तम्भ निर्माण गर्ने तयारी भइरहेको वडाध्यक्ष विकास घिमिरेले बताए। 'स्तम्भ निर्माण गर्न धेरै बजेटको आवश्यकता पर्छ। वडाको मात्रै बजेटले सकिँदैन' उनले भने 'प्रदेश सरकारसँग समन्वय गरेर स्तम्भ निर्माण गर्नेछौं।'

छथरजोरपाटी गाउँपालिका वडा नं. १ हात्तीखर्कको पञ्चमीमा करिब चार फुट हात्तीको स्तम्भ निर्माण गरिएको छ। साबिक हात्तीखर्क गाविसको नामलाई पहिचान दिलाउने उद्देश्यले दुई वर्षअघि उक्त स्तम्भ निर्माण गरिएको तत्काली निर्माण समितिका संयोजक तोर्ण लिम्बूले बताए। उनका अनुसार साबिक गाविसबाट नेपाल आदिवासी जनजाति गाउँ महासंघलाई विनियोजित ९६ हजार र अपुग रकम स्थानीयको सहयोगमा स्तम्भ निर्माण गरिएको हो।

एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले (टीएमजे) को प्रवेशद्वार वसन्तपुरमा गुराँस स्तम्भ निर्माण गरिएको छ। सो स्तम्भले पछिल्लो समय पर्यटक लोभ्याइरहेको छ। पाँच वर्षअघि करिब १० लाख रुपैयाँको लागतमा लालीगुराँसको बोटमा गुराँस फुलेको स्तम्भ निर्माण गरिएको थियो।स्थानीयले तिहारको बेला देउसीभैलो खेलेर बचत गरी स्तम्भ निर्माण गरेको पर्यटन विकास तथा प्रवद्र्धन समिति तेह्रथुमका सदस्य प्रकाश श्रेष्ठले बताए।

यसैगरी तेह्रथुमको लसुने बजारमा पनि लसुनको पोटी, सदरमुकाम म्याग्लुङ बजारमा बिरालोका स्तम्भ निर्माण गरिएको छ। उता संखुवासभाको मुढे शनिश्चरे बजारमा किराँत राजा यलम्बरको मूर्ति राखिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.