कांग्रेसलाई एक नम्बर बनाउने देउवा सूत्र : 'अन्तर्घातीलाई कारबाही'
चितवन : कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई एक नम्बर पार्टी बनाउने आफ्नो अभियान भएको बताएका छन्। चितवनमा नेपाल दलित संघको प्रदेश ३ भेलाको उद्घाटन गर्दै सभापति देउवाले चुनाव हार्नेहरूले त्यसको दोष आफूमाथि खन्याएको बताए।
'मेरो अभियान त कांग्रेसलाई एक नम्बर बनाउने हो', सभापति देउवाले भने, 'अब अन्तर्घातीहरूलाई कारबाही गरेर पार्टीलाई एक नम्बर बनाउनुपर्छ।'
कांग्रेसमा अन्तर्घातको ठूलो समस्या रहेको र यसले नै कांग्रेसलाई सकेको सभापति देउवाको भनाई छ। 'हिजो रेणु दाहाललाई जिताउने सहमति माओवादीसँग गरियो तर त्यतिबेला प्रचण्डकी छोरीलाई टिकट दियो भनेर भोट हाल्नुभएन', उनले भने, 'पछि प्रचण्डलाई भोट हालेर यहीँबाट चुनाव जिताउनुभयो, यसरी पार्टी एकताबद्ध हुँदैन।'
चुनावमा आफूले मात्र टिकट वितरण नगरेको भन्दै उनले दोष पनि आफूलाई मात्र नदिन आग्रह गरे।
दुई वाम पार्टी एक ठाउँमा उभिएका बेला एउटा कांग्रेस भने दुई तीन ठाउँमा उभिएको जस्तो देखिएको देउवाको भनाई छ।
हार्ने मान्छेले आफ्नो कमजोरी नखोजेर पार्टी सभापतिलाई दोष लगाउनु ठूलो अन्याय भएको देउवाको टिप्पणी छ।