जिल्ला अस्पतालमा बिरामीलाई सास्ती

जिल्ला अस्पतालमा बिरामीलाई सास्ती

प्यूठान : दुर्गम गाउँबाट सेवा लिन आउने विरामीले जिल्ला अस्पताल विजुवारमा सास्ती व्यहोर्न बाध्य भएका छन् । छिटोछरितो सेवा पाउन नसकेको विरामीको गुनासो छ । अस्पताल प्रशासनको वेवास्था र चिकित्सक समयमै अस्पताल नपुग्दा विहानै अस्पताल पुगेका कतिपय विरामीले साँझसम्म पनि सेवा पाउन सकेका छैनन् । घण्टौँ समय पर्खिदा पनि पालो नपाएपछि बृद्धबृद्धा र बालवालिकालाई अझ सास्ती हुने गरेको छ । ‘सुत्केरी हुने समय भए पनि सुत्केरी नभएपछि जाँच गराउन आएकी हुँ’, झिमरुक गाउँपालिका-७ तुषाराकी २० वर्षिय संगीता सुनारले भनिन्, ‘लाइनमा बस्दाबस्दै टाउको दुखेर ढल्लाजस्तो भइसक्यो पालो आउँदैन ।’

दुर्गम क्षेत्रबाट उपचार गराउन आएका विरामीले दुइदिनसम्म कुरेर स्वास्थ्य जाँच गराउने गरेका छन् । विजुवार, बाग्दुला क्षेत्रबाट निश्चित समयमा यातायात संचालन नहुने भएकाले यतै बास बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । पेटपोल्ने, दुःख्ने समस्या भएपछि जचाउन आएकी मरन्ठानाकी कुुसुम केसीले डाक्टर नहुँदा सेवा पाउन नसकेको गुनासो गरिन् । ‘डाक्टरको अनुहार देख्न पनि पाएको छैन’, उनले भनिन्, ‘विहानै आएकी हुँ अझै पालै आएको छैन ।’

अस्पतालमा कार्यरत प्रवन्धक राजन घिमिरेले गुनासो सुनाउने सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने गरेको गुनासो छ । कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारले विरामीलाई थप पीडा दिने गरेको धेरैको गुनासो छ । ‘उपचार दोस्रो पाटो हो’, प्यूठान नगरपालिका मरन्ठानाबाट आएकी रेखा केसीले भनिन्, ‘कर्मचारीको व्यवहार पटक्कै राम्रो पाइएन् ।’

प्रभावकारी सेवा नदिएर ‘रिफर अस्पताल’को संज्ञा पाएको जिल्ला अस्पतालले विरामीको मन पनि जित्न सकेको छैन् ।

दुर्गम गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका विरामीले बढी सास्ती बेहोर्नु परेको छ । डाक्टर अभाव, कमजोर व्यवस्थापन र कर्मचारीको अभद्र व्यवहारले विरामीले पीडा पाउने गरेका हुन् । मौसम परिवर्तन र स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि विरामीको संख्या बढेको अस्पतालको भनाइ छ । चारजना डाक्टरको दरवन्दी भए पनि हाल निक्साइमनसहित तीनजना मात्र छन् । ‘नयाँ डाक्टर आउन मानेका छैनन्’, अस्पताल विकास समितिका अध्यक्ष मेघराज पुरीले भने, ‘करारमा भएका डाक्टर पनि नहुँदा अझै समस्या भइरहेको छ ।’

विरामीको चाप बढ्दै गएको र डाक्टर अभाव भएकाले प्रभावकारी सेवा दिन कठिन भइरहेको उनले बताए । भएका एकमात्र डाक्टर समिर लामा धेरैजसो शल्यक्रियासहितको सेवामा व्यस्त हुनु पर्ने अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले सेवा थप गरेकाले पनि विरामीको चाप बढ्दै गएको छ । अस्पतालले केही समय अघिदेखि दन्तसेवा समेत सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.