उपचार नपाएपछि साङ्लोमा बालक
जोगिथुम (पाल्पा) : रिब्दिकोट गाउँपालिका ख्याहा जोगिथुमका सात वर्षिय बालक शिव कुमालको हातमा फलामको साङलो छ । घरभित्र दलानको खाँबोमा बाँधिएका उनी साङलो जहाँसम्म पुग्छ, त्यही वरीपरीसम्म खेल्छन् । ढुँगा माटो खेलाउँछन् । खान्छन् पनि । देख्दा सामान्यजस्तै लाग्ने यी वालक बोल्न सक्दैनन् । अरुले बोलेको बुझ्दैनन् । चारवर्षको उमेरसम्म उनी स्वस्थ थिए । त्यसपछि एकाएक एकोहोरो हुने, टोलाउने, अरुको कुरा वेवास्ता गर्ने भए ।
आमा पार्वती कुमालले उपचारका लागि तानसेन र बुटवलका बिभिन्न अस्पताल पु¥याइन् । तर कति पनि ठिक भएन । देउ देउता भाक्ने, मन्दिरमा बलि दिनेदेखी धामीझाँक्री बकाउने काम पनि भए । तर शिवमा सुधार आएन । आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि राम्रो अस्पतालमा चाहेर पनि अभिभावकले लान सकेनन् । त्यसपछि कुकुर बाध्ने फलामे साङलो किनेर शिवलाई बाँध्न बाध्य भए । जे मन लाग्यो त्यही गर्ने भएपछि घरमै बाधेर राखेको आमा पार्वतीको भनाइ छ ।
अभिभावकको मन कटक्क भएको छ तर शिवलाई नियन्त्रण गर्न त्योभन्दा अरु विकल्प पनि भएन । पशुको जस्तै हालतमा शिवको तीन वर्ष बित्यो । उनको संसार भन्नु साङलो जहाँसम्म पुग्छ त्यतिमात्रै हो । खाना त्यहिँ दिन्छन । नदिए माटो नै खाइ दिन्छन् । गाई, भैसी, बाख्राको गोठ छेउमा उनले तीन वर्ष बिताए । आमा मजदुरीमा जाने भएकाले शिवलाई साङलोमा बाधिदिएका हुन् । ‘घरमा छाडेर गयो भने कहा भाग्छ थाहै हुदैन । आफ्नै दिसा खाइदिन्छ’, शिबकी हजुरआमा सविकलाले भनिन् ‘उसलाई नियन्त्रण गर्न पनि नबाधी सुखै भएन् ।’
नबुझिने गरी चिच्याउनु बाहेक शिव केही बोल्दैनन् । दिसापिसावको ज्ञान पनि उनलाई छैन । ‘पहिले यस्तो थिएन । ३ बर्षदेखी के भो के भो ? दिमागले काम नगरेजस्तो लाग्यो । छोरा बुहारीले पाल्पा बुटवलका अस्पतालमा देखाए तर ठिक भएन’, सविकलाले भनिन, ‘धामी देवी देवताका मन्दिरमा पनि धेरै पटक लगे ठिक भएन । आफै हुन्छ कि भनेर घरमै बाँधेर राखेका छौं ।’
हजुरआमा छेउमा आउँदा शिव काखमा जान्छन् । एकोहोरो चिच्याउँछन् । उनी घरका माइलो सन्तान हुन् । अन्य सन्तानमा यस्तो समस्या छैन् । डाक्टरले विस्तारै निको हुन्छ भनेकाले परिवार उनको स्वास्य सुधारको पखाईमा छन् । ‘माईलो छोरो शिवलाई यस्तो भयो । बस्तुलाई जसरी बाधेर राख्नु परेको छ । खै के भयो के ? डाक्टरले विस्तारै ठिक हुन्छ भन्यो तर ठिक भएन’, आमा पार्वतीले भनिन् । दुई वर्षअघि उनलाई विद्यालय पनि पठाइएको थियो । तर पढ्न सकेनन् ।