धर्मराजको मृत्यु  :  एउटा निर्मम कला

धर्मराजको मृत्यु  :  एउटा निर्मम कला

‘के साँच्चै मृत्यु पनि एउटा कला हो ? ’

मैले कतै ओशोको ‘मृत्यु कि कला’ पढेको थिएँ र मैले यस्तै निष्कर्ष निकालेको थिएँ।

आध्यात्मिक चिन्तनले पनि मानव देहको उद्देश्य ईश्वर प्राप्ति, आत्म–दर्शन र जीवन मुक्ति हो भन्छ। यी दुई विचारको कतै न कतै तादाम्यता भेटिएला। तर, जीवनबारे विशद् दार्शनिक व्याख्या गर्न नसके पनि मृत्युका घटनाले मन उद्वेलित र तरंगित पार्ने रहेछ। मलाई एकजना कवि, पत्रकार र स्वान्तसुखाय चिन्तन प्रणालीका मित्रको निधनले अलिकति हतप्रभ र मृत्यु पद्धतिका बारेमा सोचमग्न बनायो।

औसत तहको कवि र निर्धक्क विश्वासमा संघर्षरत एक पत्रकार धर्मराज अर्यालको निधनले मृत्यु चेतनाको पिँधसम्मै पुर्‍यायो। आधा शताब्दीको कालखण्ड साहित्य र पत्रकारिताको एउटै गोरेटोमा हिँडेको एक मित्रको अन्त्यले दुःखित त तुल्यायो नै तर यो दुःखभन्दा ज्यादा माया, सद्भाव र बेलाबखतका साना मसिना विद्वेषका स्मृतिहरूले घोच्न थाल्यो।

उसले जीवन जति जियो अत्यन्त कुशलतापूर्वक जियो। अति सामान्य आर्थिक मेसोको परिवारमा जन्मिएर बनारसदेखि आरआर क्याम्पससम्मको अध्ययनको कालखण्डको पीडाले उसको जीवन जति निखार्‍यो यसको दोब्बर मृत्युपूर्वका करिब दुई वर्षदेखि उसमा आएको मानसिक विचनले निखार्‍यो पनि। उसको मृत्युको भोलिपल्ट मित्र नरेन्द्रजंग पिटरले भने, ‘धर्मराजले आफूलाई जोडेर स्थापित गर्‍यो, तिमीले सकेर विस्थापित गर्‍यौ।’ विद्यावारिधि गरेर बेलायतमा रोजगार गरिरहेका दुई पुत्र, भरतपुरको मुटु हाकिमचोकमा आलिसान घर र चितवनको प्रमुख लोकप्रिय दैनिक पत्रिका आदि स्थापित परिस्थिति हुँदाहुँदै अल्पायुमा उसलाई किन मृत्युले बोलायो ? अनि यसलाई कला भन्ने कि मृत्यु ?

भद्र थियो। शालिन थियो। अड्कलेर बोल्थ्यो। मिठो चाहिन्नथ्यो। राम्रो चाहिन्नथ्यो। हेप्न पाइन्नथ्यो। उसको जीवनका यावत रसहरू निक्खर र स्वादिष्ट थिए। यति मात्र होइन ऊ एक प्रकारले सार्वजनिक महत्वाकांक्षा नभएको र आफ्नो व्यक्तिगत आकांक्षाका लागि जस्तोसुकै कष्ट पनि उठाउन सक्थ्यो। ऊभित्र अन्तरनिहित मिलनसारिता र सहयोगी भावनाले उसका पछिल्ला दिन अत्यन्त सुखद थिए। तर, अत्यन्त सुखद दिन आइरहेको सुनौलो कालखण्डमा मृत्युले आफ्नो कला देखाएरै छाड्यो।

उसको मृत्युको समाचार सुन्नेबित्तिकै स्मृतिको तलाउमा एउटा बेस्वादिलो तरंग आयो।

पञ्चायतको अँध्यारो छायाँमा जिल्ला पञ्चायतको प्रजा विकास अधिकृतको पगरी लगाएर उज्यालो खोज्ने कविता लेख्थ्यो। आफ्नो विचारलाई बलात दबाएर जीवन जिउने कलाका लागि जागिर थामिरह्यो तर सकेन। त्यही समयावधिमा म र कवि अनिल सिग्देल ‘आरन’ साहित्यिक पत्रिका प्रकाशन गर्ने सन्दर्भमा गहिरो आत्मीय सम्बन्धमा जोडियौं। चितवनको सन्दर्भमा गहकिलै बनाएर ‘आरन’का केही अंकहरू प्रकाशित भए। २०३६ को जनमतसंग्रहमा बहुदलीय प्रथाप्रति आस्था राखेको र ‘आरन’मा ‘बडामहारानी’को ठाउँमा ‘बडामरारानी’ भएको अपजस समेत थोपरेर उसको जागिर गयो। हामी आरनेहरू माथि थुप्रै बज्रपात बर्सिए। ‘आरन’को विज्ञापनको भुक्तानी उठाउन खटाएको एउटा मानिस गजबको नटवरलाल रहेछ। चितवन र काठमाडौंका सम्पूर्ण विज्ञापनको रकम लिएर चम्पट कस्यो। हामी प्रेसवालाको बन्धकीमा पर्‍यौं। प्रेस मालिकले हामी दुईजनासँग तमसुक गराएर छोड्यो।

सीप जानेको रहेछ। त्यति बेला ‘टेलिप्रिन्टर’ प्रविधिबाट समाचार संकलन गर्ने राससमा प्राविधिक जागिरे भयो। र, पछि संवाददातामा सरुवा भयो। आफ्नो लगन र सीपलाई भरपूर उपयोग गर्दै तीन महिना पेरिसमा तालिमको अवसर पायो। अत्यन्त मितव्ययी र अनुशासित जीवनपद्धति अंगीकार गरेको धर्मराजले पेरिसमा बचाएको डलर साटेर भरतपुर हाकिमचोकमा घडेरी किन्यो। राससको जागिरबाट राजीनामा दिएर त्यहाँबाट आएको रकमले ‘चितवन पोस्ट’ प्रकाशनको थालनी गर्‍यो र एकतले घर बनायो। त्यही घरबाट ऊ संसारदेखि बिदा भयो।

ऊ संसारदेखि बिदा हुँदा मलाई बोलाएन। राससमा हुँदा भने मलाई काठमाडौं बोलायो। दुईजना सँगै गएर मेरा लागि बालमुकुन्ददेव पाण्डेसँग पत्रकारिताको जागिर माग्यौं। ऊ राससमा र म ‘संरक्षक’ मा पेसेवर पत्रकार भयौं। बागबजारको एउटा गल्लीमा जोडिएको घरमा डेरा लियौं। ऊ सपरिवार बस्यो। म चितवनको गृहस्थीका कारण एक्लै बसेँ। त्यति बेलै कवि श्यामल र धर्मराज गोत्रीय सम्बन्धले मामाभान्जा भए। म दुवैको मित्र। आफ्नो विचारको लक्ष्मणरेखा ननाघ्ने स्वभावको श्यामल र आफ्नो विचारको आँखामा सधैं पर्दा हालिरहने धर्मराजको सम्बन्ध लामो समयसम्म मीठो थियो तर पछिल्लो कालमा कस्तो भयो कुन्नि मैले मेसो पाइनँ।

धर्मराज अर्यालको पत्रकारिता र साहित्यिक कर्मयोग एक किसिमले मनमोहक शैलीमा बित्यो। तर, सम्बन्धका पिरामिडहरू सम्झौताहीन स्वभावजन्य बिन्दुबाट उकाली ओराली गरिरहे।

जीवनको रहस्य सम्बन्धहरूको उतारचढाव पनि रहेछ। धर्मराज अर्यालको पत्रकारिता र साहित्यिक कर्मयोग एक किसिमले मनमोहक शैलीमा बित्यो। तर, सम्बन्धका पिरामिडहरू सम्झौताहिन स्वभावजन्य बिन्दुबाट उकाली ओराली गरिरहे। मेरो जानकारीको सानो तथ्यांकमा उसका असल मित्रहरू धेरै थिएनन्। थोरै थिए। उसको मनोग्रन्थी राम्रैसँग बुझेका मात्र थिए। फर्म्याट पत्रकारिता र फर्म्याट मित्रताको आलिसान र सुन्दर जीवनशैली निर्वाह गरिरहेको एउटा कविको जीवन यसरी अचानक अस्ताउनुले ऊ निकट सबै स्तब्ध भए होलान्। आखिर जीवनको कलात्मक जगबाट उठेर कलात्मक वि श्राम विधि उसलाई प्राप्त भयो। क्यान्सरपीडित पत्नीको उपचारका लागि भक्तपुर गएको स्वस्थ कवि ट्युमरको घातक प्रहारबाट रन्थनिँदै चितवन फर्कियो र अस्वस्थ पत्नी छोडेर एक्लै गयो।

कतिपय स्मृतिहरूमा केन्द्रीय भाग मेरो पनि छ र उसको पनि छ। काठमाडौंबाट पोखरा, महेन्द्रनगर र बुटवल हुँदै पुनः काठमाडौं सरुवा भएपछि उसको र मेरो सम्बन्ध फेरि बाक्लो भयो। ‘म सीधै सामान बोकेर आउँछु, डेरा तयार गरिदेऊ’ उसले मलाई प्रेमपूर्वक आदेशात्मक अनुरोध गर्‍यो। संयोगले म बसेको घरमा एउटा कोठा खाली भएकाले ऊ सरासर आयो र बस्यो। म ‘अभिनन्दन’ नामको एउटा ट्याबलाइड साइजको दैनिक पत्रिकाको सम्पादक थिएँ। ऊ राससको अतिरिक्त समय उपयोगमा सम्बद्ध भयो। तर, पुगनपुग एक वर्षको अन्तरालमा पत्रिका पनि बन्द भयो र मेरो काठमाडौं बसाइको आयु सकियो। म नेपालगन्जतिर भास्सिएँ।

नेपालगन्ज बसाइको अवधिभर ऊ र म दुवैले दुवैलाई बिर्सियौं। म एकलव्यझैं उतै हराइरहेँ। ऊ कठोर निर्णय गरेर चितवन आयो। सात वर्षअघि म चितवन फर्किएपछि उसकै पत्रिकाको स्तम्भकार भएँ। उसका कवितै कविताका ६ थान कृति प्रकाशित भए तर म उसका कविताको ‘पावर’मा अचम्मसँग अल्मलिएँ। आफ्नै प्रेसमा छापेर आफ्नै प्रकाशनको कवितासंग्रह ससम्मान सित्तै पाउँथे र घरको दराजमा प्रेमपूर्वक राख्थेँ। अब म चितवन पोस्ट्को कार्यालयमा चुरोटको धुवाँ उडाइरहेको धर्मराजलाई पनि पाउने छैन र उसका कविताका किताब पनि। मेरो चितवन बसाइकालको बेलाबखत आइजाई गर्ने तथा साहित्य, पत्रकारिता र देशको राजनीतिबारे सानोतिनो संवाद गर्दै चुरोट उठाउने थलो भत्कियो। अब मेरो लागि चितवन बिरानो बिरानो हुँदै गयो। पुरानाहरू कति धर्मराजझैं सकिए कति अन्यत्रै भासिए। नयाँहरूको उचाइमा मेरो पहुँच पुग्दैन। यो विडम्बनाको कलात्मक सौन्दर्य र यसको डोबमा म यी शब्दहरू कोर्दैछु।

यी शब्द कोर्ने क्रममा मैले फेरि उसका कवितासंग्रहहरू पल्टाएर पढेँ। ‘अन्तरमनका छालहरू’ नामको कवितासंग्रहमा मेरो भन्नुमा लेखेको रहेछ, ‘धर्तीमा मानिसको अवतरण आफैंमा एउटा महाकाव्यको अलिखित ग्रन्थ हो।’ उसले महाकाव्य त लेखेन तर उसको जीवनको एउटा रंग भने रसिलो काव्यजस्तै थियो। कविताभन्दा पत्रकारितालाई अत्यन्त महŒव दिएर आफ्नो पत्रिकाको स्थायित्वका लागि जुन प्रयत्न गर्‍यो, यस्तो विरासत मोफसलमा कमैले कायम गरेका होलान्। चितवनको सन्दर्भमा ‘चितवन पोस्ट्’लाई उसले एउटा अलिखित महाकाव्य नै बनायो र आफू भीष्मपितामह भएर ‘ब्रेनट्युमर’को शय्यामा सुत्यो।

‘म मरेँ भने एक दिन पनि पत्रिका बन्द नगर्नु’, उसले मृत्युबोध गरेझैं भनेको रहेछ। उसको देहावसानको भोलिपल्टको ‘चितवन पोस्ट्’मा मैले यी वाक्य पढेँ। र ‘चितवन पोस्ट्’ उसको मृत्युको शोकमा एक दिन पनि बन्द भएन। अलिकति मुडी, अलिकति लहडी, अलिकति भावुक र अलिकति स्वाभिमानी धर्मराज केही अर्थमा उदार पनि थियो। एक दाना तिल बराबर पनि पैतृक सम्पत्ति अंशबन्डामा नलिएर भाइहरूलाई छोडिदिएको कुरा मलाई उसले भाइलाई नै साक्षी राखेर धेरैपटक बकेको छ। र, उसको माइलो भाइ जीवराज मेरो आँखामा आँखा गाडेर फिस्स हाँसेको छ।

यी पंक्ति लेख्दालेख्दै मैले उसको भाइ जीवराजलाई फोन गरेँ। उसले रोदनकम्पित स्वरमा भन्यो, ‘दाइ भतिजाहरूभन्दा म दुःखी छु, म नरोएको दिन छैन।’ कसैको मृत्युमा उसको परिवारलाई पर्ने चोटजस्तै समाजमा पनि त्यस्तै चोटको अनुभव भयो भने त्यो मानिस अविनाशी मानिस भयो। यो दार्शनिक दृष्टिकोण सापेक्ष धर्मराज अर्याल चितवनको पत्रकारिताको ऐतहासिक दस्तावेजमा अविनाशी पात्रका रूपमा जीवित रहनेछ। ‘चितवन पोस्ट्’ उसको नेतृत्वको अभावमा जुनसुकै अवस्थामा जाला अथवा उसको सौर्य ऊर्जाले बाँचिरहला यो ठोकुवा गर्न सकिन्न तर उचाहिँ बाँची नै रहनेछ। पत्रकारिताको, कविताको र उसको पहिचानको स्तम्भ खडा नै रहनेछ।

मृत्यु त मृत्यु नै हो तर कतिपय मृत्युले कसैको नियतिमाथि व्यंग्य पनि गर्दो रहेछ। धर्मराजको मृत्युले पनि म र मेरो नियतिमाथि कठोर व्यंग्य गरिरहेको पाएँ। चालीस वर्षअगाडि म, अनिल सिग्देल र धर्मराज अर्यालको ओदाने जोडी थियो। अनिल सिग्देल करिब तीस वर्षदेखि मानसिक रूपमा विक्षिप्त भएर बन्द कोठामा सीमित भयो, धर्मराजले ओदानको एउटा खुट्टो भाँचेर गयो। म भने एक्लै बाँचेर पनि मरिरहेको छु। र, यही निर्मम कलाको सौन्दर्यबोध गरिरहेछु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.