कांग्रेस र तरुणहरूको दायित्व
नेपालका हरेक परिवर्तनमा तरुणको भूमिका अग्रणी र निर्णायक छ। हिजोको प्रतिबन्धित कालमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि लडेको तरुण दलको भूमिका अहिले फेरिएको छ। तरुण दल एकातिर प्राप्त लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि संघर्षरत हुनुपर्ने अवस्था त छँदैछ, अर्कोतिर ५२ प्रतिशतको जनमतको दम्भ देखाएर गठित सरकारले लिने हरेक जनविरोधी कदमको सशक्त प्रतिरोध गर्नुपर्ने अवस्था छ। तरुण युवा र विद्यार्थीको ऐतिहासिक दायित्व पनि यही हो। नेपाली कांग्रेसले लोकतन्त्र र शान्तिको बाटोमा जबर्जस्ती हिँडाएका राजनीतिक दल स्वयं लोकतन्त्रकै जरा काट्न तल्लीन र अग्रसर छन्।
आज, झट्ट हेर्दा लोकतन्त्र सहीसलामत देखिए पनि साम्यवादी सपना बाँड्न उद्यत् सरकारका कामकारबाही हेर्दा सरकार अधिनायकवादतर्फ उन्मुख देखिन्छ। सम्मानित न्यायालयसमेतलाई अपुरो राख्ने, सरकारको नीति कार्यक्रममै ‘प्रेसलाई मर्यादित बनाइने’ भन्ने जस्ता शब्द उल्लेख गर्ने, कर्मचारीको ट्रेड युनियनको विश्वव्यापी संगठित हुने अधिकार खण्डित गर्न खोज्ने, विभिन्न संगठनमा आबद्ध नागरिकलाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्दै राजनीतिक तवरमा विचलित गराउने उद्देश्यले नियन्त्रणमा लिनेजस्ता काम प्रारम्भ भइसकेका छन्। यसबाट स्पष्ट हुन्छ, नेपाल कम्युनिस्ट पार्टी ‘अन्डरलाइन’ को सरकारले कांग्रेसलाई प्रतिपक्षभन्दा पनि ‘दुस्मन’ ठान्न खोजेको देखिन्छ। त्यसैले लोकतन्त्रको भविष्य सुरक्षित गराउन पनि तरुण दलको भूमिका बढेको छ।
तरुण दल, अन्य दलबाट उत्पन्न हुने लोकतन्त्रमाथिको खतरासामु खबरदारी मात्र गरेर बसेको छैन, गुट निर्माण गरेर आफूभित्रबाट आफैंलाई कमजोर सावित गर्दै अघि बढिरहेको मातृ पार्टीका नेतालाई पनि खबरदारी गर्न चाहन्छ। यही नेतृत्व, यही सोच, यही कार्यक्रम र यही संगठनबाट सम्भावित अधिनायकवाद परास्त गर्न कठिन छ। तसर्थ नेतृत्व स्वयं आफैं गुट निर्माणमा उद्यत् बन्छ भने नेतृत्व स्वयं सच्चाउन तरुण दल एकपटक आफैंभित्रको गुटको ‘पोस्टमार्टम’ गर्न संगठित हुनुपर्ने आवश्यकता उत्तिकै छ। नेपालमा स्थापित विश्वकै कान्छो गणतन्त्रको स्थायित्वका विषयमा कांग्रेसलाई जति चिन्ता छ ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने महान् गणतन्त्रवादी बनेर सत्ता चलाइरहेकालाई त्यति चिन्ता भएको देखिँदैन। आफैंलाई विश्वास नभएको गणतन्त्रलाई कसरी सार्थक बनाउलान् बयलगाढाहरूले ?
त्यसो त कांग्रेस पनि आफ्नो स्थापनाको सात दशक लामो इतिहासमै अत्यन्तै कठिन मोडमा उभिएको छ। निर्वाचनसम्म आइपुग्दा आन्तरिक लोकतन्त्र र पार्टीभित्रका कमजोरीका विषयमा व्यापक बहस भइरहेका छन्। कांग्रेसका सबै तहसम्म समीक्षाको विषयलाई छलफलमा लैजानुपर्ने आवश्यकता छ। गम्भीरतापूर्वक छलफल गर्नुपर्ने विषय भनेको सत्ता र शक्तिकेन्द्रित कांग्रेसलाई कसरी जनताका एजेन्डामा केन्द्रित बनाउने भन्ने नै हो। आज कांग्रेसका हातबाट सत्ता उम्किएको छ। त्यो ठूलो विषय होइन, ठूलो भनेको कांग्रेस जनताका विषयमा समयसापेक्ष विचारसहित बलियो गरी उभिन सक्छ या सक्दैन भन्ने हो। बीपी कोइरालाले भने झैं नेपाल तरुण दल पार्टीको भ्रातृ संस्था मात्र होइन, साथी संस्थाको रूपमा कांग्रेसलाई सही विचार र स्पस्ट दृष्टिकोणका साथ अघि बढाउन दबाबमूलक कार्यक्रमका साथ राष्ट्रव्यापी अभियानमा लगिरहेको छ र लागिरहनेछ।
जनताका विषयमा समयसापेक्ष विचारसहित बलियो गरी उभिन कांग्रेसले सक्छ या सक्दैन भन्ने मुख्य विषय बनेको छ।
हाम्रा नजिकका छिमेकी भारत र चीन विश्वशक्ति बन्ने प्रतिस्पर्धामा दिन दुगुना रात चौगुनाका हिसाबले आर्थिक फड्को मार्दै छन्। दशवर्षे माओवादी द्वन्द्वले थलिएको, विकासका संरचना ध्वस्त बनाइएको मुलुक नेपाललाई पुनः राजनीति वा अन्य कुनै बहानामा अल्मलिने समय छैन। आजका मितिमा वर्तमान सरकारले विकासका सन्दर्भमा स्थायी, स्थिर र बहुमतको, आदि/इत्यादी सरकार भएन जस्ता वहानावाजी गर्ने ठाउँ समेत छैन। नेपाल तरुण दल मूलतः विकासका सन्दर्भमा पनि सरकारद्वारा गर्ने/गरिने कुनै पनि वहानावाजीको पक्षमा कदापि रहन सक्दैन। आज अब जनतालाई स्थायी सरकार भए विकासमा सिंगापुर वा स्विट्जरल्यान्ड बनाउन सकिन्छ भन्ने नारा दिँदै रेल, पानीजहाज, हातहातमा वृद्धभत्ता, चुलोचुलोमा ग्यासपाइप जस्ता सपना साकार पार्नसमेत दबाबमूलक कार्यक्रम दिने तयारीमा छ, अन्यथा जनता निरास हुँदा भोलि कुनै पनि प्रकारको गणतान्त्रिक प्रणालीमाथि ‘कु’ हुँदा हाम्रो आह्वानलाई गणतन्त्रको जगेर्नाका निम्ति जनताले पत्याउने छैनन्।
आज अधिनायकवादको विषय समयअगावै उठ्दा सामान्य लाग्न सक्छ। तर यो विषय असामान्य ढंगले अगाडि आइरहेको छ। कांग्रेसभित्रका युवा नेताले समयमै नबुझ्ने हो र पार्टीका युवा विद्यार्थी र तरुणलाई वैचारिक रूपमा प्रशिक्षित गर्दै नलैजाने हो भने निश्चित छ, भोलिको ‘सम्भावित अधिनायकवाद’ ले गणतन्त्रका जरा काटेर कांग्रेसले देखेको लोकतन्त्रको सपनारूपी रूख ढाल्नेछ। त्यतिबेला निन्द्राबाट ब्युँझिएको यात्रीले सवारी साधन खोजे झैं लडाकु युवा र जनता खोजेर कोही ब्यारेकको सिपाही झैं निस्कने छैन, किनकि त्यतिबेलासम्म समयको रेल छुटिसकेको हुनेछ। सरकारको कामकारबाहीको विश्लेषण गर्दा सरकार लोकतन्त्रको राजमार्ग भत्काएर अधिनायकवादको सुरुङ निर्माणको तयारीमा छ।
निर्वाचन हारको समीक्षा गर्न र सरकारको कामकारबाहीको समीक्षा गर्न बसेको कांग्रेस आफैंभित्र आरोप/प्रत्यारोपमा उत्रिएर बैठक समापन भयो। हालै सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा भने शीर्षनेताले गल्ती स्वीकार गरेको सुन्नमा आएको छ। गल्ती स्विकारेर मात्र हुँदैन, चरित्र सुधार्नुपर्छ। पार्टी सुधार्न भन्दै दसबुँदे संकल्प गरिएको छ भेलाबाट। त्यो संकल्प व्यवहारबाटै कार्यान्वयन हुनुपर्छ। पार्टीभन्दा व्यक्ति ठूलो ठान्ने प्रवृत्ति छाडिएन भने ती संकल्पले सार्थक रूप लिन सक्ने छैन, किनकि कांग्रेसमा त्यस्तै प्रवृत्ति बेलाबेलामा देखिने गरेका छन्।
हामी तरुणहरूले अधिनायकवादउन्मुख सरकारका गतिविधि रोक्दै लोकतन्त्रको संरक्षणका लागि डटेर अघि बढ्ने कसम खानुपर्ने बेला आएको छ। हामीभित्र सत्ता वा अरू कुनै पनि प्रकारको लोभ, मोह छैन। हाम्रो अभीष्ट भनेकै जनतासामु संगठित कांग्रेस भएको सन्देश दिने हो, तरुण दल जनताको सुखदुःखमा घरदैलोमा पुगेको छ, पुगिरहनेछ। २००६ सालमा कांग्रेसको स्थापनापश्चात् २०१० सालमा बीपीले तरुणलाई संगठित पार्नुपर्छ भनेर तरुण दलको स्थापना गर्नुको उद्देश्यलाई हामीले सार्थक रूप दिनुपर्छ।
— चापागाई नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष हुन्।