विस्फोटक पदार्थ अभाव : भारतबाट कच्चा पदार्थ ल्याउने तयारी
![विस्फोटक पदार्थ अभाव : भारतबाट कच्चा पदार्थ ल्याउने तयारी](https://annapurnapost.prixacdn.net/media/albums/blat_20180625005229_zcgJenNCEy.jpg)
काठमाडौं : सरकारले भारतबाट विस्फोटक पदार्थका लागि कच्चा पदार्थ आयात गर्ने तयारी गरेको छ। विस्फोटक पदार्थको मुख्य कच्चा पदार्थ भारतबाट डेढ वर्षदेखि आयात नहुँदा विकास निर्माण प्रभावित भएपछि यस्तो तयारी गरिएको हो।
कच्चा पदार्थ आयातको सहजीकरणका लागि योजना आयोगको राष्ट्रिय विकास समस्या सामाधान समितिले परराष्ट्र मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पहल गर्न निर्देशन दिएको छ। समितिले नेपाली सेनाबाट विस्फोटक पदार्थको आयात गर्न लगाउने निर्णय गरेको छ।
विस्फोटक पदार्थका लागि आवश्यक कच्चा पदार्थ आयात प्रक्रिया असहज भएपछि जलविद्युत् तथा सडक आयोजनामा असर परेको नेपाल सेनाले जनाएको छ। विकास निर्माणकार्यमा अत्यावश्यक विस्फोटक पदार्थ आयात नगर्दा विभिन्न आयोजना प्रभावित भएको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए।
विस्फोटक पदार्थका लागि आवश्यक कच्चा पदार्थ आयात सहज गर्ने विषयमा भारतीय पक्षसँग पनि विभिन्न चरणमा छलफल भइसकेको छ। सेनाका प्रवक्ता भण्डारीका अनुसार विकास निर्माणका लागि वार्षिक ३६ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक छ।
‘सार्वजनिक खरिद प्रक्रियाअनुसार जानुपर्ने हुँदा कच्चा पदार्थ आयातमा ढिलाइ भइरहेको छ’, प्रवक्ता भन्डारीले भने, ‘सरकारी स्तरबाटै यसलाई सहजीकरण गर्न सके विकास निर्माणकार्य अघि बढाउन सकिन्थ्यो। माग हुने बेलामा आपूर्ति पनि ठ्याक्कै बन्द भयो भने विकास निर्माणमा समस्या हुन्छ।’
एक महिनाअघि नेपाली सेनाले विस्फोटक पदार्थ उत्पादनका लागि डबल बेस्ड प्लान्ट जडान गरेको छ। वार्षिक दुई हजार चार सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्ने यसको क्षमता छ। परीक्षणका लागि सेनाले २०÷२२ मेट्रिक टन कच्चा पदार्थ आयात गरिरहेको छ। ठूला परियोजनाका लागि यो परिमाण अपुग रहेको प्रवक्ता भन्डारीले बताए।
विस्फोटक पदार्थको मुख्य कच्चा पदार्थ भारतबाट डेढ वर्षदेखि आयात नहुँदा विकास निर्माण प्रभावित भएपछि आयातको तयारी गरिएको हो।
पछिल्लो तथ्यांकअनुसार काठमाडौं–निजगढ द्रुतमार्गसहित सेना ६ स्थानको सडक निर्माणमा खटिएको छ। ट्र्याक खोल्ने काम सकिएको एउटाबाहेक अधिकांश सडक निर्माणमा विस्फोटक पदार्थ आवश्यकपर्ने सेनाको भनाइ छ। हाल विस्तृत अध्ययन प्रतिवेदनको तयारी गरिरहेको सेनाले यसका लागि थुप्रो विस्फोटक पदार्थ लाग्ने बताएको छ। सैनिक प्रवक्ता भण्डारीले भूकम्प, कच्चापदार्थ अभाव तथा विदेशबाट हुने आपूर्तिको कमीले मागअनुसार विस्फोटक पदार्थ अपुग भएको बताए। ‘सरकारले राष्ट्रिय गौरवका आयोजनासहित विभिन्न सडक निर्माणको जिम्मा दिए पनि त्यसअनुसार विस्फोटक पदार्थ अपुग छ’, उनले भने। विस्फोटक पदार्थ खपतमा आन्तरिक उत्पादन बढाउने वा बाहिरबाट आयात गर्ने दुई विकल्प छन्। आन्तरिक उत्पादन बढाउने हो भने मागअनुसार कच्चापदार्थ आवश्यक छ, त्यो नहुँदा बाहिरबाट खरिद गर्नुको विकल्प छैन। आन्तरिक उत्पादन कमजोर हुँदा वर्षैपिच्छे विस्फोटक पदार्थका लागि करोडौं रुपैयाँ विदेशिने गरेको छ।
सेनालाई पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको ७६.२ किमि लम्बाइको काठमाडौं–तराई दु्रतमार्गमा यसअघि खोलिएको ट्र्याकको अवरोध हटाउने काम भइरहेको छ। जाजरकोट–डोल्पा–दुनै एक सय १८ किमि, कर्णाली करिडोर एक सय ९६ किमि, मैलुङ–स्याफ्रुबेसी १७ किमि, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ एक सय २० किमि र काठमाडौं–निजगढ दु्रतमार्ग ७६.२ किमि सडक निर्माणमा सेना खटिएको छ।
कर्णाली करिडोर एक सय ९६ किमि लम्बाईमध्ये ३५ किमिको ट्र्याक खोल्ने काम सकिएको छ। कालिगण्डकी करिडोरको ७६ किमि लम्बाइको ट्र्याक खोलेर अपग्रेडिङ र पुल निर्माण कार्य भइरहेको छ। यसैगरी जाजरकोट डोल्पा दुनै जोड्ने एक सय १८ किमिमध्ये एक सय १० किमिको ट्र्याक खोलेको सेनाले आठ किमिमा काम भइरहेको जनाएको छ। मैलुङ–स्याफ्रुबेसीको १७ किमि एक लेन बनाए पनि त्यसलाई दुई बनाउँदा विस्फोटक पदार्थ प्रयोग गरेर निर्माण कार्य अघि बढाउनुपर्नेछ। केही महिना अघिबाट निर्माण कार्य सुरु भएकामा बेनी–आरुघाट–लार्केभज्याङ एक सय २० किमि सडकको पूरै काम विस्फोटक पदार्थ प्रयोग गरेर ट्र्याक खोल्नुपर्ने अवस्था छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)