राजविराजबाट नियमित उडान सुरु

राजविराजबाट नियमित उडान सुरु

राजविराज : राजविराज विमानस्थलबाट आइतबारदेखि नियमित उडान सुरु भएको छ। ५० सिट क्षमताको श्री एयरलाइन्सको ९ एन–एएमए जहाजले काठमाडौं–राजविराज–काठमाडौंको नियमित उडान सुरु गरेको हो। यो विमानस्थल २२ वर्षदेखि बन्द थियो। दिउँसो २ः५२ बजे ४६ यात्रु लिएर राजविराज अवतरण गरेको जहाजले दुई शिशुसहित २२ जना यात्रु लिएर काठमाडौंका लागि उडान भरेको छ।

नियमित उडानले समृद्धिको बाटो खुलेको भन्दै हौसिएका यहाँका स्थानीय तहका पदाधिकारी, उद्योगी, व्यापारीसहित नागरिक समाजका सयौं मानिस विमानस्थलमा भेला भई पहिलो उडानमा आएकालाई स्वागत गरे।

स्वागतका लागि वडा अध्यक्षसहित पुगेका राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झाले गम्छा ओढाएर राजविराज आउनेलाई स्वागत तथा काठमाडौं जाने यात्रुलाई बिदाई गरे। यसैगरी सप्तरी उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ र हेभी इक्विपमेन्टले फूलको माला लगाएर तथा बिस्कुट र चिसो पेय दिएर स्वागत तथा बिदाई गरे।

यात्रुको स्वागतका लागि फूलमाला लिएर पुगेका जग्गादाता रुद्रनारायण सिंहका छोरा महामायाप्रसाद सिंहले नियमित उडानको सुरुवातसँगै लामो समयपछि जग्गाको सदुपयोग भएकामा खुसी व्यक्त गरे।

श्री एयरलाइन्सले गत जेठ ९ गते सफलतापूर्वक परीक्षण उडान गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जेठ १० गते विमानस्थलको उद्घाटन गरेका थिए।

पहिलो उडानबाट ओर्लिएका सप्तरी उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले विमानस्थल सञ्चालनले सप्तरीको विकासको ढोका खुलेको बताए। भरपर्दो विमान सेवालाई प्रभावकारी बनाउन प्रचारप्रसारको आवश्यकता औंल्याउँदै जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेलले विकासका लागि विमान सेवालाई नियमित गर्न जरुरी रहेको बताए।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ वैशाखदेखि बन्द थियो।

राजविराज नागरिक उड्डयन कार्यालयसँग भएको सम्झौताअनुसार शनिबार र मंगलबारबाहेक सप्ताहको पाँच दिन राजविराजमा नियमित व्यावसायिक उडान गरिने श्री एयरलाइन्सका इन्चार्ज सुरेश मल्लिकले जनाए। मल्लिकका अनुसार काठमाडांैबाट राजविराजका लागि १ः१५ र राजविराजबाट काठमाडौंका लागि २ः१० बजेको उडानको समय तालिका निर्धारण गरिएको जहाजको न्यूनतम भाँडा दर तीन हजार पाँच सय र अधिकतम ६ हजार दुई सय तोकिएको छ।

विमान सेवा सञ्चालनमा आएपछि सप्तरीका अतिरिक्त सिरहा, सुनसरी उदयपुर तथा सिमावर्ती भारतीय नागरिकले राजविराजबाट विमान सेवा प्रयोग गर्ने अवसर पाएका छन्। उडानसँगै कामविशेष र पशुपति दर्शनका लागि काठमाडौं जाने स्वदेशी तथा भारतीय तीर्थयात्रीलाई पनि सहज भएको स्थानीयले विश्वास व्यक्त गरे। क्याप्टेन राजेश श्रेष्ठले कर्मसियल उडानका लागि मैदान स्तरीय रहेको प्रतिक्रिया दिए। उनले विमानस्थलको धावनमार्गको लम्बाई अझै दुई सय मिटर बढाउन सकिने सुझाव दिए।

विमान चढ्दै गरेका राजपाका महासचिव केशव झाले विराटनगर र जनकपुर पुगेर मात्रै काठमाडौं जानुपर्ने वाध्यताले समय र पैसाको बर्बादी भइरहेकामा राजविराजबाटै विमान सञ्चालन भएपछि सहज भएको बताए।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ वैशाखदेखि बन्द थियो। कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५९ वर्षदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरी २०७५ वैशाखमा सम्पन्न भएको हो। एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भएपछि उडानको वातावरण बनेको हो।

राजविराज बजारबाट चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका ६ (साविक इटहरी विष्णुपुर गाविस) मा रहेको राजविराज विमानस्थलका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.