प्राकृतिक प्रकोपबाट यस वर्ष २५० को मृत्यु

प्राकृतिक प्रकोपबाट यस वर्ष २५० को मृत्यु

काठमाडौं : वर्षायामसँगै देशका विभिन्न स्थानमा आएका बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट गएको साढे दुई महिनामा २ सय ५० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले अढाइ महिनामा २ सय ५० जनाको मृत्यु भएको जानकारी दिएको हो ।

गृहका अनुसार मंगलबारसम्म विभिन्न जिल्लामा बाढी पहिरोलगायत प्राकृतिक प्रकोपमा २ सय ५० जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् । यस अवधिमा बाढी पहिरो र विपद्का ९ सय ३९ घटना भएका छन् । सो अवधिमा बाढी पहिरोजस्ता घट्नामा २ हजार १ सय ६ जना घाइते भएका छन् भने २ हजार ४ सय ८० घरपरिवार प्रभावित भएका छन् । बाढी पहिरोबाट ६३ करोड ५१ लाख ३५ हजार ६ सय ८२ रुपैयाँ बराबरको भौतिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार देशका झापा, मोरङ, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पाल्पा, रूपन्देही र दाङ जिल्ला बाढी पहिरोको उच्च जोखिममा देखिएका छन् । रूपन्देही, कपिलवस्तु, बाँके, सिन्धुपाल्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, गोर्खा, बर्दिया, जाजरकोट, डोल्पा, बझाङ, कैलाली, कञ्चनपुर पनि बाढी पहिरोको उच्च जोखिममा देखिएको गृहले जनाएको छ ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहँदा पनि बाढी पहिरोजस्ता घट्नाबाट क्षति हुने क्रम बढ्न थालेको बताए । केही दिनअघि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी पहिरोको जोखिम न्यून गर्न सबैखाले उपाय र रणनीति लागू गर्ने निर्णय गरेको थियो । यस पटक प्रिमनसुन अवधिमा नै १ सय ७५ को मृत्यु भइसकेको थियो । नेपालमा यस पटक मनसुन गत २५ जेठमा सुरु भएको हो । मनसुन सुरु भएपछिका १८ दिनमा बाढी पहिरोलगायत प्राकृतिक प्रकोपबाट ७५ जनाको मृत्यु भएको गृहले जनाएको छ ।

गृहका अनुसार विपद्बाट औसतमा बर्सेनि ९ सय जनाको मृत्यु हुने गरेको छ ।

विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव न्यौपानेले विपद् पछिको व्यवस्थापन प्रभावकारी भए पनि विपद्पूर्व अपनाउनु पर्ने सावधानी र उपाय प्रभावकारी हुन नसक्दा विपद्बाट मानवीय र भौतिक क्षति हुने क्रम बढ्दै गएको जानकारी दिए । विपद् व्यवस्थापन शाखाका उपसचिव शंकरहरि आचार्यले विपद् जोखिम न्यूनीकरणमा सबैले पर्याप्त तयारी नगर्दा बर्सेनि मानवीय र भौतिक क्षति बढेको बताए ।

गृहले हालै विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीति कार्ययोजना २०१८-२०३० लागू गरे पनि प्रभावकारी हुन सकेको छैन । गृहले एक वर्षअघि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ जारी गरेको थियो तर विपद्को जोखिम घट्नुको साटो बढ्दै गएको छ ।

गृहको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत २०७४ सालमा बाढी पहिरोलगायत विपद्बाट ५ सय ९७ जनाको मृत्यु भएको थियो भने २०७३ सालमा ४ सय ८३ जनाको, २०७२ सालमा ९ हजार २ सय ७९ जनाको, २०७१ सालमा ५ सय ३९ जनाको, २०७० सालमा ४ सय १७ जनाको, २०६९ सालमा ३ सय ९९ जनाको र २०६८ सालमा ५ सय १९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.